वैशाख ७, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा बैंक तथा वित्तीय संस्थाका क्षेत्रीय एवं शाखा कार्यालयहरूले १ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । कोषमा यहाँ सञ्चालित बैंक तथा वित्तीय संस्थाबाट १ करोड १० लाख सहयोग प्राप्त भएको प्रदेश सरकारका मुख्यसचिव बालकृष्ण घिमिरेले जानकारी दिएका हुन् । प्रदेश सरकार आफैले सो कोषमा ४० करोड राखेको छ ।
कोषमा रहेको रकम वितरणका लागि प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष सञ्चालन तथा राहत वितरण मापदण्ड तयार पारेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकबाट कोषको रकम वितरणका लागि मापदण्ड तयार पारेको हो ।
मन्त्रिपरिषद् निर्णयबाट पारित भएको सो मापदण्ड अनुसार विपन्न, असहाय र ज्यालादारी मजदूरका परिवारलाई ३ हजार रुपैयाँका दरले १६ करोड रुपैयाँ ८८ ओटै स्थानीय तहका खातामा जम्मा गरिसकिएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए । निर्धारित मापदण्डभित्र रहेर स्थानीय तहले सो रकम उपलब्ध गराउनुपर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका शाहले बताए ।
प्रदेशभित्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई १५ लाखको बीमा थप गर्ने, सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता, प्रदेशमा रहेका सञ्चारकर्मीको १५ लाखको बीमा, सबै जिल्ला प्रशासन कार्यालयका लागि ५ लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरीलाई १५ लाखका दरले व्यवस्थापनका लागि रकम उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद् बैठकले यसअघि नै निर्णय गरिसकेको मन्त्री शाहले बताए । त्यस्तै प्रदेशमा फागुन मसान्तसम्म बुझाउनुपर्ने कर, शुल्क र दस्तुर बुझाउने समयसीमा वैशाख मसान्तसम्म थप गरिएको उनले जानकारी दिए ।