ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेची नाका खुलाउन कूटनीतिक पहल 

२०७७ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । काँकडभिट्टामा रहेको मेची भन्सार नाका खुलाउन भारतको दिल्लीस्थित नेपाली दूतावासले पहल थालेको छ । पश्चिम बंगाल सरकारले केन्द्र सरकारको निर्णयविपरीत कोरोना भाइरसको कारण देखाउँदै चैत २९ देखि मेचीपारि रहेको पानीटंकी नाका बन्द गरिदिएपछि मेची नाका ठप्प भएको थियो । 

दिल्लीस्थित नेपाली दूतावासकी काउन्सिलर नीता पोखरेलले नाका खुलाउने विषयमा भारतको विदेश मन्त्रालय सकारात्मक रहेको बताइन् । उनका अनुसार नाका खुलाउन विदेश मन्त्रालयमा नेपाली दूतावासका तर्फबाट लिखित र मौखिक दुवै पहल गरिएको छ । विदेश मन्त्रालयले पनि यसलाई सकारात्मक रूपमा लिएको उनले खुलाइन् । नाका कहिले खुल्छ त भन्ने जिज्ञासामा उनले भनिन्, ‘भारतीय विदेश मन्त्रालयले कोरोनाको प्रभाव कम हुनासाथ नाका खोल्ने आश्वासन दिएको छ ।’ 

अन्तरराष्ट्रिय नाका प्रान्तीय सरकारले बन्द गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि विशेष परिस्थिति भन्दै पश्चिम बंगाल सरकारको भन्सार विभागले नाका बन्द गरेको थियो, जसका कारण भुटान, बंगलादेशसहित तेस्रो मुलुकसँगको आयातनिर्यात ठप्प भएको छ । 

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले नेपालस्थित भारतीय दूतावास र भारतको दिल्लीस्थित नेपाली दूतावासलाई अन्तरराष्ट्रिय नाका बन्द गरिएकोबारे जानकारी गराएका थिए । 

नेपाल प्रवेश गर्ने पानीटंकी नाकामा अहिले कुनै पनि मालवाहक गाडी नेपाल प्रवेशका लागि आएका छैनन् । पानीटंकीस्थित भारतीय भन्सार कार्यालयले तेस्रो मुलुक र भारतबाट नेपाल आउने सामानलाई विराटनगर भन्सार कार्यालय हुँदै नेपाल प्रवेशका लागि रिरुट गरिदिने गरेको छ ।

मेची भन्सार कार्यालयले मासिक रू. १ अर्बभन्दा बढी राजस्व उठाउँदै आएको थियो । नेपाललाई जानकारी नै नदिई प्रान्तीय सरकारले पानीटंकी नाका र सुकिया पोखरी नाका बन्द गरेपछि बंगलादेश र भुटानसँगै तेस्रो मुलुकसँगको व्यापारसमेत प्रभावित भएको छ । 

भारतको केन्द्रीय सरकारले नेपालका अन्य नाका बन्द गर्दा पनि वनबासा, सुनौली, रक्सौल र काँकडभिट्टा नाकाबाट हुने मानिसको आउजाउमा समेत कुनै रोक नलगाइने घोषणा गरेको थियो । तर, केन्द्रीय सरकारको निर्णयविपरीत पश्चिम बंगाल सरकारको आदेशमा चैत २९ गतेबाट नाका पूर्णरूपमा बन्दा गरिएको छ । 

मेची भन्सार नाकाबाट तरकारी, फलफूल, ग्यास र हवाई इन्धन, कोइला, क्लिंकरलगायत वस्तु आयात हुँदै आएको छ । लकडाउनको अवधिमा मेची भन्सारबाट १ हजार ५६५ मेट्रिक टन तरकारी भित्रिएको थियो भने ११४ टन फलफूल, १ हजार ५५९ टन खाना पकाउने एलपी ग्यास र ४४ किलोलिटर हवाई इन्धन भित्रिएको थियो ।

पानीटंकी नाकाबाट नेपाल छिर्न लागेका मालवाहक सवारीलाई अन्यत्र रिरुटका लागि पठाइएपछि अहिले नेपाल प्रवेश गर्ने मालवाहक सवारी पानीटंकीमा छैनन् । नाका बन्द हुँदा दैनिक रू. ४ करोड राजस्व संकलन गर्दै आएको मेची भन्सार कार्यालयको राजस्व संकलनसमेत प्रभावित भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)