ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मरिच आयातमा लागेको बन्देज खुकुलो पारिने तयारी

२०७७ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । आयुर्वेदिक औषधि तथा मसलाजन्य वस्तुको उत्पादन गर्ने उद्योगमा प्रयोग हुने मरिच आयातमा लगाइएको प्रतिबन्धले त्यस्ता उद्योगमा कच्चा पदार्थको अभाव देखिएपछि सरकारले प्रतिबन्धलाई खुकुलो पार्नेतयारी गरेको छ ।

अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयबाट चालू आर्थिक वर्षमा उद्योगहरूलाई आवश्यक पर्ने मरिचको परिमाण यकिन गरी पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिएको अर्थको उच्च स्रोतले बतायो ।

मरिचलाई मुख्य कच्चा पदार्थका रूपमा प्रयोग/खपत गरी खाद्य, आयुर्वेदिक औषधिलगायत वस्तुको उत्पादन गर्ने उद्योगहरूका लागि चालू आवमा आवश्यक पर्ने मरिचको परिमाण यकिन गरी सिफारिशसहित पठाउन अर्थ मन्त्रालयले पत्र पठाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले आर्थिक अभियानलाई बताए । 

वाणिज्य मन्त्रालयले परिमाणको विवरण पठाएपछि मात्र हाल लगाइएको बन्देजलाई केही खुकुलो पार्ने सरकारको तयारी छ । ‘बहुराष्ट्रिय कम्पनीहरूले मरिचको अभावमा आफ्ना प्रमुख उत्पादन नै बन्द हुने अवस्थामा पुगेको बताएपछि बन्देज खुकुलो बनाइ आयातमा कोटा लगाउने गरी तयारी भएको हो,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

यसअघि चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले निकासी पैठारी नियन्त्रण ऐनअनुसार तेस्रो मुलुकबाट आउने मरिच, केराउ, छोकडामा प्रतिबन्ध लगाएको थियो । सरकारले निर्णय गर्नुभन्दा पहिले एलसी खोलिएका वा सिपमेन्ट भएका मरिच, केराउ, सुपारी र छोकडाको पैठारीमा रोक भने लगाइएको थिएन ।

तेस्रो मुलुकबाट आयात हुने यस्ता वस्तु नेपाल भित्र्याएर अनधिकृत तरीकाले भारततर्फ निकासी हुने गरेको छ । कोरोनाका कारण विदेशी मुद्रा सञ्चितिमा चाप पर्न सक्ने ठहर गर्दै सरकारले यिनको आयातमा रोक लगाएको थियो । नेपालमा आउने मरिच अधिकांश भियतनामबाट आउने गर्छ ।

नधुल्याएको मरिचको पैठारीमा अर्को सूचना नभएसम्मका लागि पूर्ण बन्देज लगाइएपछि उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ मरिचको अभाव हुन गई उद्योगको मुख्य उत्पादन नै बन्द हुने अवस्था आएको भन्दै हटाउन डाबर नेपाललगायत उद्योगहरूले सरकारलाई आग्रह गरेका थिए । 

डाबर नेपालले अर्थ मन्त्रालयलाई चैतको तेस्रो साता पत्र पठाई वन्डेड वेयर हाउसअन्तर्गत निकासीका लागि प्रयोग हुने औद्योगिक कच्चा पदार्थ मरिचको पैठारी पूर्ण बन्देज उपयुक्त नहुने भन्दै मरिच पैठारीको अनुमति मागेको थियो ।

अर्थलाई पठाएको पत्रमा डाबर नेपालले आफ्नो उद्योगका लागि वर्षभरिमा मरिचको खपत १ हजार ५ मेट्रिक टन भएको र त्यसमध्ये करीब ९ सय ४० मेट्रिक टन मरिच निकासीमूलक वस्तुका लागि खपत हुने बताएको छ । सरकारले मरिच पैठारीमा लगाएको पूर्ण प्रतिबन्धले आफ्नो मुख्य उत्पादन नै बन्द हुनसक्ने अवस्था सृजना भएको डाबर नेपालको भनाइ छ । 

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ९ महीनामा ८७ करोड रुपैयाँ बराबरको नधुल्याएको मरिच नेपाल आयात भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको मरिच आयात भएको विभागको तथ्यांकले देखाउँछ । मरिचमा ५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)