ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्द उद्योगलाई तीन समूहमा राखी सुचारू गरौं : निजीक्षेत्र

२०७७ बैशाख, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । लकडाउनका कारण बन्द उद्योग तथा कलकारखानाहरूलाई तीन समूहमा राखी सञ्चालनमा ल्याउने योजना निजीक्षेत्रका छाता संगठनहरूले अघि सारेका छन् ।
उद्योगी व्यवसायीका तीनओटै छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले बन्द उद्योेगहरू खोल्न कोरोना संक्रमणको जोखिम शून्य भएको क्षेत्र (ग्रीन जोन), कम जोखिम भएको (एल्लो जोन) र उच्च जोखिम भएको (रेड जोन)को सीमा निर्धारण गरी उद्योग खुलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमक्ष सोमवार प्रस्ताव पेश गरेका हुन् । कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको लकडाउनको झन्डै १ महीना हुन लाग्दा उनीहरूले उद्योग सञ्चालनको यस्तो खाका तयार पारेका हुन् ।

नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले उद्योग सुचारू गर्न केही सीमा तय गरिएको र केन्द्रदेखि स्थानीय सरकारले सहजीकरण गरे यही आधारमा उद्योगहरू सञ्चालन गर्न सकिने बताए । अहिले केही खाद्य तथा औषधिजन्य सामग्री स्टक रहेकै अवस्थामा सञ्चालन गर्न सकिए भविष्यमा आउने संकट समाधान गर्न पनि सहज हुने भएकाले यस्तो प्रस्ताव ल्याइएको उनको भनाइ छ ।

‘सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड नै पालना गरेर जोखिम शून्य भएका क्षेत्रलाई ग्रीन जोन मानी त्यस्ता उद्योग क्षेत्रमा काम गर्न सकिन्छ । कम जोखिम भएकोमा भौतिक दूरी कायम राख्दै सुरक्षित रूपमा काम गर्न सकिन्छ भने रेड जोनमा पर्ने उद्योग तथा कलकारखाना बन्द गर्र्नुपर्छ,’ मल्लले भने । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले अहिले अत्यावश्यक उद्योगहरूबाहेक ९५ प्रतिशत उद्योग प्रतिष्ठानहरू बन्द रहेकाले कोरोनाको जोखिम नभएका र कम जोखिम भएका उद्योग प्रतिष्ठान पहिचान गरी सञ्चालन गर्न सरकारले समेत सहजीकरण गर्नुपर्ने बताए ।

उद्योगीहरूले सरकारले तोकेको सुरक्षा मापदण्ड कार्यान्वयन गर्न आफूहरू तयार रहेको भन्दै कच्चा पदार्थको आपूर्ति, श्रमिकहरूको आगमन र पासको व्यवस्था मिलाउन केन्द्रदेखि स्थानीय सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले उद्योग खोल्न भने पनि स्थानीय तहबाट भन्सारमा आएका कच्चा पदार्थ आपूर्तिमा समेत सहजीकरण नभएको निजीक्षेत्रको गुनासो छ ।

लकडाउनको अवधिमा अत्यावश्यक खाद्य उद्योगका साथै औषधिसम्बन्धी उद्योगहरू सञ्चालनमा आएका छन् भने इँटा उद्योगहरू पनि आंशिक रूपमा सञ्चालन भइरहेका छन् । तर, ठूलो अंशमा उद्योग प्रतिष्ठानहरू भने ठप्पप्रायः छन् ।

लकडाउन अवधिभर ५० प्रतिशत पारिश्रमिक दिन सहमति
काठमाडौं (अस) लकडाउनका कारण बन्द उद्योग प्रतिष्ठानका कर्मचारी तथा श्रमिकको पारिश्रमिकका विषयमा निजीक्षेत्रका छाता संगठनहरूको सहमति जुटेको छ । विगत १० दिनदेखि निरन्तर छलफलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले लकडाउन अवधिभर उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा श्रमिकलाई ५० प्रतिशत पारिश्रमिक दिन सोमवार सहमति जुटाएका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भने बढी तलबमान भएका कर्मचारी तथा श्रमिकलाई ५० प्रतिशतको सीमा लागू हुने तर कम पारिश्रमिक भएकाको हकमा भने यो व्यवस्था लागू नहुने बताए । परिसंघका उपाध्यक्ष राजेश अग्रवालका अनुसार रोजगारदाताहरूका तर्पmबाट पारिश्रमिकका विषयमा भएको निर्णयबारे सोमवार नै श्रम र उद्योगमन्त्रीलाई प्रस्ताव बुझाइएको छ ।

उनले अहिले रोजगारदाताको पक्षबाट मात्रै सहमति भएर यो प्रस्ताव पेश गरिएको र अब मजदूर संगठनहरूसँग पनि छलफल हुने जानकारी आर्थिक अभियानलाई दिए । लकडाउनको अवधिभर श्रमिक तथा कर्मचारीलाई यो पारिश्रमिक पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)