ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घटेन उपभोग्य वस्तुको मूल्य

२०७७ बैशाख, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बजारमा तरकारी, मसला, दाल/गेडागुडी र माछामासुको मूल्यवृद्धि उच्च रहँदा महँगी उच्च रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि आर्थिक वर्ष २०७६/७७ को शुरूदेखि फागुनसम्म आइपुग्दा पनि दबाबमै रहँदा समग्र मुद्रास्फीति ६ दशमलव ७० प्रतिशतमा पुगेको छ ।

राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत फागुन महीनामा खाद्य तथा पेय पदार्थको मूल्य सबैभन्दा धेरै बढेको छ । यस अवधिमा यो समूहको मूल्य ९ दशमलव ३३ प्रतिशत बढेको छ । फागुनसम्म गैरखाद्य तथा सेवासमूहको मूल्यवृद्धि ४ दशमलव ६९ प्रतिशत रहेको छ ।

छिमेकी मुलुक भारतमा उपभोग्य वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव नेपालको बजारमा परेको र यसबाट सरकारले राखेको मूल्य वृद्धिको लक्ष्य पूरा नभएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । उनका अनुसार भारतले पनि चालू आवमा औसत मूल्य वृद्धि ४ प्रतिशत राख्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य नाघेर औसत ५ प्रतिशत पुगेको छ । ‘भारतको मूल्य वृद्धि ८ प्रतिशतसमेत पुगेको थियो । तर, अहिले झरेर करीब ५ प्रतिशत छ । नेपालले अधिकांश खाद्यवस्तु भारतबाट आयात गर्नुपर्ने भएकाले गतवर्षभन्दा यसवर्ष मुद्रास्फीतिमा दबाब परेको हो,’ उनले भने ।

तरकारीको मूल्य केही नियन्त्रणमा आउन थालेकाले अब समग्र मूल्य वृद्धिमा त्यति दबाब नपर्ने भट्टको विश्लेषण छ । तर, मुलुक लकडाउनमा रहँदा आपूर्ति प्रणालीमा आएको अवरोधले आउने महीनाहरूमा मूल्य वृद्धि बढ्न सक्छ ।  

मूल्य वृद्धिलाई क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको छ । गत ८ महीनामा काठमाडौं उपत्यकामा ७ दशमलव ६१ प्रतिशत, तराईमा ६ दशमलव ८४ प्रतिशत, पहाडमा ५ दशमलव ५३ प्रतिशत र हिमालमा ५ दशमलव ४२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

भट्ट आगामी दिनमा अर्थतन्त्रले कस्तो मोड लिन्छ भनेर आकलन गर्न नसकिए पनि फागुनसम्ममा भने बाह्य क्षेत्रमा सुधार, शोधनान्तर बचतलगायत आर्थिक परिसूचकहरू सकारात्मक रहेको र समग्रमा आर्थिक सन्तुलन कायम भएको बताउँछन् । अघिल्लो वर्ष घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको फागुन मसान्तसम्म रू.३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू.५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो । यस्तै, समीक्षा अवधिमा चालू खाता घाटा रू. १२४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रू.१९१ अर्ब ४९ करोड रहेको थियो ।

भ्रमण खर्च घट्यो
समीक्षा अवधिमा खुद सेवा आय घाटा पनि घटेको छ । चालू आवको समीक्षा अवधिमा रू. ५ अर्ब १२ करोडले घाटामा रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा रू. ११ अर्ब १ करोड थियो । सेवा खाताअन्तर्गत भ्रमण आय ११ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. ५४ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षमा यस्तो आय रू.४८ अर्ब ३६ करोड रहेको थियो । भ्रमण व्यय भने २० दशमलव ८ प्रतिशतले घटी रू.४८ अर्ब ९६ करोड कायम भएको छ जुन गतवर्षरू. ६१ अर्ब ८२ करोड रहेको थियो । यसमध्ये शिक्षातर्फको व्यय रू.२३ अर्ब ९८ करोड रहेको छ जुन गतवर्ष रू.३२ अर्ब १७ करोड रहेको थियो ।

बढ्यो विप्रेषण आप्रवाह
पछिल्लो समय विश्वमा फैलिएको कोरोना महामारीले गर्दा नेपालमा विप्रेषण धेरै घट्ने अनुमान गरिरहँदा गत फागुनमा भने न्यून वृद्धि भएको छ । गत फागुनसम्ममा विप्रेषण आप्रवाह १ दशमलव ८ प्रतिशतले वृद्धि भई रू.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दमलव ४ प्रतिशतले बढेको थियो ।

विदेशी विनिमय सञ्चितिले ८.८ महीनाको आयात धान्ने
कुल विदेशी विनिमय सञ्चिति २०७६ फागुन मसान्तसम्ममा रू. ११३६ अर्ब ५१ करोड बराबर पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को ८ महीनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महीनाको वस्तु आयात र ८ दशमलव ८ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

मुख्य झलक

  • उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत
  • विप्रेषण १.८ प्रतिशतले वृद्धि
  • शोधनान्तर स्थिति रू.३७ अर्ब ८४ करोडले बचतमा
  • कुल विदेशी विनिमय सञ्चिति रू.११३६ अर्ब ५१ करोड
  • सञ्चिति ८.८ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ प्रतिशतले वृद्धि
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)