ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असिनापानीले बाली नष्ट गरेपछि म्याग्दीका किसानको चिन्ता : अब के खाएर बाँच्ने ?

२०७७ बैशाख, ९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी ९, वैशाख । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेल सोमवार बेलुकी परेको असिनाका कारण रातभर सुत्न सकेनन् । पोख्रेलको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो । गत असोजमा पनि भित्र्याउने बेलाको धान असिनाले चुटेर सखाप बनाएपछि मर्कामा परेका ज्यामरुककोटका किसान अहिले खेतबारीमा पाक्नै लागेको गहुँ पनि असिनाले चुटेर ध्वस्त बनाइदिएपछि अब के खाएर बाँच्ने भन्ने चिन्तामा छन् ।

सोमवार दिउँसैदेखि म्याग्दीको ज्यामरुककोट, भकिम्लीको तोराखेतलगायत क्षेत्रमा परेको भीषण असिनापानीले त्यस क्षेत्रको गहुँ, तरकारी र फलफूल बाली पूर्णरूपले नष्ट गरेको छ । ज्यामरुककोटको फापरखेत, भकुण्डे, सानालेख, तमाने, गौश्वारा, भकिम्लीको तोराखेत, डाँडाखानी लगायत पश्चिम म्याग्दीका अधिकांश ठाउँमो असिना पानी परेर गहुँ, जौ, उवा लगायत खाद्यान्न र तरकारी तथा फलफूल बालीलाई ठूलो क्षति पु¥याएको कृषकहरूले बताएका छन् ।

बेनी नगरपालिका–२ सानालेखका कृषक हरिप्रसाद शर्माले असिनाका कारण खेतमा पाक्नै लागेको गहुँ र भर्खरै बतिला लागेको सुन्तलाखेती नष्ट भएको बताए । ‘कृषकहरू अब के खाएर बाँच्ने भनेर चिन्तित छन्,’ शर्माले भने ‘एकातिर कोरोना संक्रमणको महामारी छ, अर्कोतिर पाक्नै लागेको बाली असिनाले चुटेर भोकमरी ल्याउने भयो ।’ ज्यामरुककोट क्षेत्रमा गत दशैंमा १० वर्षयताकै ठूलो असिनापानी परेर पाक्नै लागेको धानबाली पूर्णरूपमा नष्ट गरेको थियो ।

सरकारले त्यहाँका २१६ असिना पीडित किसानलाई राहतस्वरूप ३८ लाख रुपैयाँ उपलब्ध गराएको र सो रकम सरकारी मापदण्ड अनुसार वितरण गर्ने तयारी गरिएकोमा लकडाउनका कारण किसानको हातमा पु¥याउन नसकिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

‘असिनाका कारण धानबाली नष्ट हुँदा समस्यामा परेका यहाँका किसान पुनः गहुँबाली पनि नष्ट भएपछि ठूलो समस्यामा परेका छन्,’ अध्यक्ष थापाले भने, ‘लकडाउन खुल्नेबित्तिकै सरकारबाट प्राप्त राहत रकम उपलब्ध गराउने प्रयास गर्नेछु ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)