ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल आउने विप्रेषण १४ प्रतिशतले घट्ने

चालू आवमा नेपालमा विप्रेषण १२३ अर्बले घट्न सक्ने

२०७७ बैशाख, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । यो वर्ष (सन् २०२०) मा नेपाल आउने विप्रेषण १४ प्रतिशतले घट्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । कोरोना महामारीका कारण विश्वभरको आर्थिक गतिविधिमा आउने सुस्ती तथा तेलको मूल्यमा आएको गिरावटका कारण दक्षिण एशियामा विप्रेषण आप्रवाहमा कमी आउने विश्व बैंकले बताएको हो ।

विश्व बैंकको प्रक्षेपणलाई आधार मान्दा चालू आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण १२३ अर्ब घट्नेछ । गत आवमा नेपालमा ८७९ अर्ब बराबरको विप्रेषण भित्रिएको थियो ।
बैंकले बिहीवार ‘कोभिड–१९ क्राइसिस थ्रु अ माइग्रेशन लेन्स’ नामक प्रतिवेदन सार्वजनिक गर्दै नेपालसहित सम्पूर्ण दक्षिण एशियामा विप्रेषण आप्रवाहमा सन् २०२० मा २२ प्रतिशतले कमी आउने बताएको छ ।

विश्व बैंकको आकलनअनुसार सन् २०२० मा भारत तथा पाकिस्तान भित्रने विप्रेषण २३ प्रतिशतले घट्नेछ भने बंगलादेश र श्रीलंका आउने विप्रेषण क्रमशः २२ र १९ प्रतिशतले घट्नेछ । प्रतिवेदनअनुसार आर्थिक मन्दीले अमेरिका, बेलायत तथा यूरोपेली मुलुकबाट दक्षिण एशिया आउने विप्रेषण प्रभावित हुनेछ । त्यस्तै, तेलको मूल्यमा आएको निरन्तरको गिरावटले खाडी मुलुक तथा मलेशियाबाट प्राप्त हुने विप्रेषणलाई असर गर्नेछ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुुसार आव ०७६/७७ को पहिलो ८ महीना (फागुनसम्म) ५९२ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ । तर, नेपालका प्रमुख रेमिट कम्पनीहरूका अनुसार चैतमा यो निकै घट्नेछ ।

त्यसो त कोराना भाइरस नियन्त्रण गर्न नेपाली कामदार जाने प्रमुख श्रम गन्तव्य मुलुकहरूमा लगाइएको लकडाउनका कारण नेपाल आउने विप्रेषणमा ह्रास आउन थालिसकेको छ । पछिल्लो समय विप्रेषण आप्रवाह दैनिक ५० प्रतिशतभन्दा बढीले घटेकोे रेमिट कम्पनीहरू बताउँछन् ।

नेपालमा सबैभन्दा बढी विप्रेषण भित्र्याउने आईएमई रेमिटका सीईओ सुमन पोखरेलका अनुसार लकडाउन शुरू भएयता विप्रेषण आप्रवाहमा दैनिक ५० प्रतिशतभन्दा बढीले कमी आएको छ । अहिले खाडी मुलुक, मलेशिया, अमेरिका, भारत, यूरोपलगायत मुलुकबाट आउने विप्रेषणमा ह्वात्तै कमी आएको उनले बताए । यो वर्ष समग्रमा विप्रेषण आप्रवाह १०–१५ प्रतिशतले घट्न सक्ने पोखरेलको आकलन छ । ‘यद्यपि, लकडाउन कति लम्बिन्छ, त्यसले पनि धेरै असर गर्छ । लकडाउन खुलेपछि विप्रेषण आउने क्रम बढे पनि समग्रमा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतसम्मले कमी आउन सक्छ,’ उनले भने ।

नेपालमा विप्रेषण मुख्य स्रोत वैदेशिक रोजगारीमा गएका नेपाली कामदार नै हुन् । तर, कोरोना संक्रमण नियन्त्रणका कारण मलेशिया, कतार, यूएई, साउदी अरबलगायत प्रमुख श्रम गन्तव्यहरूमा लगाइएको लकडाउनका कारण नेपाल पैसा पठाउने कामदारहरू रेमिट कम्पनीसम्म पुग्न सकेका छैनन् ।

पछिल्लो समय तेलको भाउमा आएको तीव्र कमीले खाडी मुलुकको अर्थतन्त्रमा नराम्रो असर पार्ने र त्यही कारण त्यहाँ रोजगारीको अवसरहरू गुम्न सक्ने आकलन गरिँदै छ । खाडी मुलुकको अर्थतन्त्रमा मन्दीले त्यहाँ रहेका नेपालीसहित आप्रवासी कामदारहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्नेछ । अर्थविद् केशव आचार्य विप्रेषण आप्रवाह घट्दा नेपालमा बहुआयामिक असर पार्ने बताउँछन् । नेपालका अधिकांश घरपरिवारको जीवनयापनको आधार नै विप्रेषण रहेको जनाउँदै उनले भने, ‘विप्रेषण घट्दा उनीहरूको दैनिक जीवन नै प्रभावित हुन्छ । गरीबी निवारण पनि चुनौतीपूर्ण हुन्छ ।’

विप्रेषण कमीको अर्को असर बैंकिङ क्षेत्रमा देखिने आचार्यको भनाइ छ । ‘बैंकहरूमा तरलताको मुख्य स्रोत नै विप्रेषण भएकाले यसमा आउने उतारचढावले तरलताको संकट ल्याउन सक्छ,’ उनले भने, ‘साथै, मुलुकको भुक्तानी सन्तुलनमा पनि ठूलो धक्का पुर्‍याउन सक्छ ।’

विप्रेषण अल्पविकसित मुलुकहरूको आम्दानीको महŒवपूर्ण स्रोत हो । नेपालमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करीब २८ प्रतिशत बराबर विप्रेषण भित्रने गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ५ वर्षयता विप्रेषण आप्रवाहमा निरन्तर वृद्धि भइरहेको थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले विप्रेषणमा आउने कमीका कारण वैदेशिक व्यापारसँगै सामाजिक क्षेत्रलाई माथि उकास्न पनि चुनौती हुनसक्ने बताउँछन् । विप्रेषणले शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा पनि सहयोग पुर्‍याएको बताउँदै अब त्यसमा चाप पर्ने उनको भनाइ छ । ‘अब आयातमा छनोट गर्नुपर्ने बाध्यता आउन सक्छ । साथै, वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न पनि चुनौती हुने देखिन्छ ।’

आम नागरिकको क्रयशक्ति पनि घट्न सक्ने भट्टको भनाइ छ । ‘आन्तरिक उपभोग घट्दा स्वतः कुल गार्हस्थ्य उत्पादन प्रभावित हुने देखिन्छ, जसले मुलुकको आर्थिक वृद्धिलाई प्रभावित तुल्याउनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)