वैशाख १२, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
चौतर्फी विवाद भएपछि शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन तथा संवैधानिक परिषदसम्वन्धि अध्यादेश फिर्ता लिँदै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई आग्रह गरेको थियो ।
सोही अनुरुप राष्ट्रपति विद्या देवि भण्डारीले शुक्रवार नै अध्यादेश खारेज गर्नु भएको छ । सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई ओटा अध्यादेश ल्याएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र राप्रपाले अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका थिए ।