वैशाख १२, पर्वत । पर्वतको डिमुवा नाकाबाट पर्वत लगायत बागलुङ, म्याग्दी मुस्ताङ जिल्ला भित्रिने बढेका छन् । सरकारले लकडाउन लागु गरेको भएपनि धौलागिरीको मुख्य नाका डिमुवाबाट बस र पैदल गर्दै मानिसहरू जिल्ला भित्रिरहेका छन् ।
जनप्रतिनिधिहरुको पहलमा यात्रुहरु काठमाडौं, चितवन, नवलपरासी, पोखरा लगायतका स्थानबाट जिल्ला भित्रिन थालेका हुन् । लकडाउनका कारण समस्यामा परेकाहरुलाई जिल्ला भित्र्याउन थालिएसँगै लकडाउनको प्रभावकारिता कमजोर हुँदै गएको छ ।
विगत ५ दिनको अवधिमा डिमुवा नाकाबाट ५७२ जना भित्रिएका छन् । धमाधम बस आउन थालेकाले अझ केही दिन जिल्ला भित्रिनेको संख्या बढ्ने अनुमान गरिएको छ । मोदी गाउँपालिकाले स्थापना गरेको हेल्थ डेस्कले दिएको जानकारी अनुसार बिहीवार मात्रै १ सय २ जना भित्रिएका छन । जिल्ला भित्रिनेमा २४ जना पुरुष छ भने ७८ जना महिला छन् । बुधवार ९३ जना महिला र २९ जना पुरुष भित्रिएका छन । वैशाख ७ गते १ सय १५ जना महिला र २७ जना पुरुष प्रवेश गरेका थिए । विभिन्न ठाउँमा मजदूरी गर्दै आएका महिलाहरू बढी घर फर्केको देखिन्छ । यो अवधिमा ४ सय ५२ जना महिला आएका छन् भने १ सय २० जना मात्रै पुरुष आएका छन् ।
डिमुवामा रहेको हेल्थडेस्कमा जिल्ला भित्रिनेहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच गरेर मात्र पठाइएको मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिए । लकडाउन शुरु भएपछि पनि डिमुवामा हेल्थडेस्क निरन्तर सञ्चालनमा आएको छ । हेल्थडेस्कको तथ्यांक अनुसार लकडाउनयता ५ हजार ९ सय ३० जना प्रवेश गरेका छन । यसरी प्रवेश गर्नेहरूमा सवारीसाधन, अत्यावश्यक खाद्यान्न सामग्री, निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनका चालक र सहयोगीहरू पनि रहने गरेका छन् ।
राजमार्ग छल्दै भित्री सडकबाट लुकेर आउनेको तथ्यांक कुनै निकायसँग छैन । पर्वत, बागलुङ्ग र म्याग्दी गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको बैठकले आवतजावतमा कडाइ गर्ने निर्णय गरेका छन् । तर, प्रशासनको निर्णय भने बेकामे देखिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार मात्रै सूचना जारी गरेर अन्तरपालिका आवतजावत समेत बन्द गर्ने र नयाँ मानिस वडामा आएमा अभिलेख राखेर सबैलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार पर्वतमा अहिले १६ जना मात्रै क्वारेण्टाइनमा रहेका छन् ।
लामो समयसम्म लकडाउनले बजारमा थुनिएर बसेकाहरु जिल्ला फर्किन पाउँदा राहतको महसुस गरिरहेका छन् । तर, गाउँमै बस्दै आएकाहरू भने आगन्तुकहरुले रोग लिएर आउने सम्भावना रहेकोेले त्रसित हुन थालेका छन् ।