वैशाख १३, पर्वत । भूकम्प गएको ५ वर्ष बितेको छ । तर, पर्वतमा निजी आवास पुननिर्माणमा ५१ प्रतिशत मात्रै प्रगति भएको छ । जिल्लाभर कुल ५ हजार ५१२ ओटा घर पूर्णरुपमा प्रभावित हुने गरी भत्किएको सरकारी तथ्यांक छ । निजी घरसंगै जिल्लामा १७५ विद्यालयका ३६१ ओटा कक्षा कोठाहरु समेत भत्किएका थिए । जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका अति प्रभावित क्षेत्र हो ।
भूकम्पले अरु पालिकाहरुमा निजी घर पनि भत्काएको थियो । हालसम्म ५ हजार १० वटा घर पुननिर्माणका लागि पहिलो किस्ता भुक्तान भएको जिल्ला स्थित पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख कृष्ण गौतमले जानकारी दिए । ३ हजार ८७३ परिवारले दोस्रो किस्ता लगेका छन् । भुकम्प पुर्निनर्माणको ३ लाख रुपैयाँ अनुदान प्राप्त गरी घर निर्माण गर्नेको संख्या पर्वतमा २ हजार ८४१ रहेको छ । कार्यालयका प्रमुख गौतमका अनुसार पर्वतमा २ हजार ८४१ ओटा घर पुर्निनर्माण भएका छन् ।
जिल्लामा आंशिक क्षतितर्फ कुल ६४१ वटा घरको तथ्यांक कार्यालयसंग छ । तीमध्ये २६७ वटा घर परिवारले पहिलो किस्ता लगेका छन् । ती परिवारले दोस्रो र तेस्रो किस्ता भने लगेका छैनन् । आंशिक क्षति भएकाहरुले १ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन । भुकम्प प्राधिकरण गठन भएर प्राविधिक आउनु पूर्व नै निर्माण भएका ५१६ घरमध्ये ३२६ घरले पहिलो किस्ता लगेका छन । पर्वत जिल्लामा झण्डै ५१ प्रतिशत भूकम्प पुनर्निर्र्माणको काम सकिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय ढिलो गरी स्थापना हुनु र क्षति संकलन ढिलो हुनाले घर निर्माणको काम सुस्त भएको सम्बन्धित निकायले बताउने गरेका छन् ।