ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शहरमा तरकारी हाहाकार : गाउँमा पशुको आहार 

२०७७ बैशाख, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

वैशाख १३, म्याग्दी । एक महीना लामो लकडाउनका कारण म्याग्दीको बेनी नगरपालिका २ खबराका व्यावसायिक कृषक तरकारी विक्री नभएपछि गाइभैंसीलाई खुवाउन बाध्य भएका छन् ।

म्याग्दीकै अगुवा कृषक चन्द्रबहादुर कार्की, तेजेन्द्रबहादुर कार्की, सोभित शर्मा लगायत कृषकले करीब ४५ रोपनी खेतमा लगाएको काउली, धनियाँ, बन्दा, सागलगायत तरकारी विक्रि नभएपछि पशुलाई खुवाउन थालेका हुन् ।

विक्री गर्ने बेलाका साग, धनियाँ काउली र बन्दा बजारमा लैजाने अवस्था नभएपछि घरमा पालेका गाई भैंसीलाई खुवाउन बाध्य हुनुपरेको अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।
खबराका अधिकाँश कृषकले व्यावसायिक रुपमा तरकारीखेती गरेका छन् ।

अधिकांशको घरमा एकदेखि चारवटासम्म पशु रहेका र सामान्य रुपमा भए पनि धेरैले तरकारीखेती गरेकाले गाउँमा समेत विक्री नहुँदा उनीहरू पशुलाई तरकारी खुवाउन बाध्य भएका हुन् ।

गतवर्ष रु. ८ लाख मूल्य बराबरको तरकारी विक्री गरेका कार्कीले यस वर्ष विक्री गर्ने बेलामा एक महीनासम्म लकडाउन भएपछि बेनी बजारका मानिसहरू गाउँ उक्लिएकाले विक्री गर्न नपाएको र खेतमा कुहेर खेर जानुभन्दा पशु चौपायालाई खुवाउने गरेको बताए । 

यस वर्ष २ रोपनी जग्गामा  धनियाँ मात्रै लगाएका कार्कीले दुई महीनासम्म दैनिक रू. २ हजारका दरले विक्री गर्ने लक्ष्य लिएकोमा लकडाउनका कारण सबै योजना भताभुङ्ग भएको बताए ।

म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलको नजिकै रहेको खेतमा व्यावसायिक तरकारीखेती गर्दै आएका कार्कीले लकडाउन भएपछि यहाँ फाट्टफुट्ट घुम्न आउने मानिसलाई निःशुल्क तरकारी दिएर पठाउने गरेको बताए ।

गाउँमा अधिकांशको घरमा आफ्नै तरकारी भएकाले गाउँमा विक्री नहुने बताउदै उनले लकडाउनका कारण सवारीसाधन नहुँदा र बजार पनि नखुलेकाले तरकारी बजार लैजान नपाएको गुनासो व्यक्त गरे ।

खबराकै अर्का कृषक शोभित शर्माले दैनिक रुपमा जिल्ला प्रहरी कार्यालयमा तरकारी निर्यात गर्ने भएकोले उत्पादन भएको तरकारी पशुलाई नै खुवाउनु पर्ने वाध्यता नभए पनि बाहिर विक्री गर्न नपाउँदा बचेको तरकारी बारीमा नै खेर गएको बताए ।

त्यसैगरी रोहोटेका कषक हरिलाल घिमिरेले बारीमा लहलहै झुलेका बोडी, सिमी, काँक्रो लगायत बेमौसमी तरकारीले बजार नपाएपछि आफ्नो श्रम र लगानी दुवै खेर गएको बताए ।

तरकारी मात्रै होइन, घरमा पालेको गाईको दूध समेत विक्री गर्न नपाएको उनको गुनासो छ । दुईओटा भैंसी पालेका घिमिरेले दैनिक ५ लिटर दुध विक्री गर्दै आएकोमा विगत एक महीनादेखि दूधसमेत विक्री नहुँदा दोहोरो नोक्सान भएको उनको भनाइ छ ।

जिल्लाका खबरा, बगरफाँट, रोहोटे,खान्दुला,अर्मन,रणबाङ,सिंगा लगाएतका किसान तरकारी र दूध विक्री गर्न नपाउँदा समस्यामा परेको बताउँछन् । सरकारले राहत कार्यक्रम ल्याए पनि गाउँका साना किसानसम्म नुपुग्ने हो कि भन्ने चिन्ताले पिरोलिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)