ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमाप्रति बढ्दो आकर्षण

२०७७ बैशाख, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आइतवारदेखि विक्री शुरू गरिएको कोभिड–१९ बीमालेखप्रति आम मानिसको आकर्षण बढ्दो छ । नेपाल बीमक संघबाट प्राप्त तथ्यांकअनुसार शुक्रवारसम्म ९ हजार ४७१ जनाले यस्तो बीमा गरेका छन् ।

पारिवारिक र व्यक्तिगत गरी ५५५ बीमालेखमार्फत उनीहरू कोरोना बीमाको दायरामा आएका हुन् । बीमालेख विक्रीबाट रू. ४९ लाख ६९ हजार बीमाशुल्क संकलन भएको बीमक संघको तथ्यांकमा उल्लेख छ ।

नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बीमा समितिले बीमक संघसँगको सहकार्यमा अघिल्लो हप्ता यो बीमालेख जारी गरेको थियो । लघुबीमाअन्तर्गत यो पोलिसी ल्याएकाले निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यसको कारोबार गर्दै आएका छन् । त्यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स रहेको छ ।

तथ्यांकअनुसार अजोड इन्स्योरेन्सले यस बीमाको सबैभन्दा धेरै कारोबार गरेको छ । अजोडले १ हजार ६६७ जनाको बीमा गरेर रू. ९ लाख ९७ हजार बीमाशुल्क संकलन गरेको छ । प्रुडेन्सियल इस्योरेन्सले २ हजार १५८ जनाको बीमा गरेर रू. ९ लाख १४ हजार बीमाशुल्क उठाएको छ ।

तेस्रो स्थानमा रहेको आईएमई इस्योरेन्सले भने १ हजार ३५५ जनाको बीमा गरेर रू. ८ लाखभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले १ हजार ७३ बीमालेख विक्री गरेर ६ लाख २५ हजार बीमाशुल्क उठाएको छ ।

अन्य कम्पनीले भने १ हजारभन्दा कम संख्यामा बीमालेख विक्री गरेका छन् । जनरल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म यसको कारोबार गर्न सकेका छैनन् ।

पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीहरूलाई बाँडफाँट गरिनेछ । संघका अनुसार २० पुनर्बीमामार्पmत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ ।

बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिने बताइएको छ ।

हाल निर्जीवन बीमा कम्पनीहरूले अधिकांश मात्रामा अनलाइनमार्पmत नै यस बीमालेखको विक्री गरिरहेका छन् । लकडाउनका कारण फिल्डमै गएर यसको कारोबार गर्न चुनौती देखिएको कम्पनीहरूको भनाइ छ । फिल्डमा नै गएर विक्री गर्न पाए बीमितको संख्या बढ्ने संघका महासचिव चंकी क्षत्री बताउँछन् ।

‘लकडाउनका कारण यसको व्यवसाय गर्न केही चुनौती देखिएको छ,’ उनले भने, ‘अहिले बीमा कम्पनीहरूका अधिकांश कार्यालय बन्द छन् । कर्मचारीहरूले अनलाइनबाट घरबाट नै यसको व्यवसाय गरिरहेका छन् । फिल्डमा नै जान पाएको भए अझ राम्रो हुने थियो,’ उनी बताउँछन् ।

बीमा कम्पनीहरूले अनलाइनमार्फत यो बीमालेख खरीद÷विक्री गर्न मिल्ने व्यवस्था गरेका छन् । आईएमई पेमार्पmत यसको बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ । साथै, कुनै व्यक्तिले आफ्नो नाम, ठेगानासहित सम्बद्ध बैंक खातामा पैसा जम्मा गर्नेबित्तिकै निजको स्वतः बीमा हुने व्यवस्था पनि गरिएको छ ।

बीमालेखअनुसार आम मानिसले रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू. १ लाख बीमांकमा बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांकमा बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमाशुल्क लाग्नेछ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ ।

बीमालेखअनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि, त्यसमा दाबी १५ दिनको प्रतीक्षा अवधि भने लागू हुनेछ ।

तथ्यांकमा कोभिड–१९ बीमालेख व्यवसाय

  • विक्री बीमालेख : ५५५
  • बीमित संख्या : ९४७१
  • बीमाशुल्क : ४९,६८,९००

स्रोत : नेपाल बीमक संघ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)