वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लगाइएको लकडाउनमा विपन्न परिवारलाई राहत दिन चामल, दाल, तेलजस्ता खाद्यवस्तुको माग बढेसँगै मूल्य आकाशिएको छ । राहतका लागि बढी माग भएको सोना मन्सुली (अर्वा) चामलको मूल्य किलोमै ७ रुपैयाँसम्म बढेको छ ।
लकडाउनअघि ३५ रुपैयाँ किलोमा विक्री भइरहेको सोना मन्सुली चामलको भाउ अहिले ४२ रुपैयाँ पुगेको वीरगञ्जको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले बताए । मुसुरोको दालको मूल्य किलोको ९५ बाट १२० रुपैयाँ पुगेको छ । तोरीको तेल प्रतिलिटर १० रुपैयाँ सम्म भाउ बढेको व्यवसायीले बताएका छन् ।
सरकारले दैनिक ज्यालादारीमा जीवनयापन गर्ने श्रमिक र असहायलाई राहत ल्याएको थियो । सरकारी राहतमा ३० किलो चामल, तेल, दाल, नुन, साबुनलगायत सामग्री राखिएको छ । स्थानीय सरकारमार्फत वितरण भइरहेको राहतमा सबैभन्दा बढी परिमाण चामलकै छ ।
राहतमा सोना मन्सुली चामलको माग बढी आएपछि उद्योगीले मूल्य बढाएका हुन् । यो चामल अन्यभन्दा सस्तो भएकाले राहतमा बढी प्रयोग भइरहेको छ । सामान्य अवस्थामा पनि यही चामलको माग अधिक हुने नेपाल चामल तेल दाल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
अधिकांश उद्योगले सोना मन्सुली चामल उत्पादन गर्छन् । १० प्रतिशत उद्योगले मात्र स्टीम प्लान्ट राखेका छन् । अर्वा चामलको माग बढेपछि सोना मन्सुली धानको मूल्य पनि बढेको छ । लकडाउनअघि क्वीन्टलको २५ सय पर्ने धान अहिले ३ हजार रुपैयाँमा किनबेच भइरहेको कलवारले बताए । ‘राहतका लागि यो चामलको माग आएपछि भाउ बढ्यो । त्यसको प्रभाव धानको मूल्यमा पनि देखियो । अहिले सोना मन्सुली धानको मोल पनि पनि ह्वात्तै बढेको छ,’ कलवारले आर्थिक अभियानसित भने ।
कतिपय उद्योगीले चामलका कनिकासमेत मिसाएर बेचेको भेटिएको छ । कनिका ३२ रुपैयाँ किलोमा पाइन्छ । वीरगञ्जमा बाँडिएको राहतमा चामल भनेर कनिका दिइएको भेटिएपछि स्थानीयले विरोध गरेका थिए । विरोधपछि उद्योगीले गुणस्तरहीन त्यस्तो चामल फिर्ता लिएका थिए ।
सामान्य अवस्थामा किलोमा २ रुपैयाँसम्म वृद्धि हुनेमा लकडाउनका बेला माग अधिक भएपछि ७ रुपैयाँसम्म वृद्धि भएको अध्यक्ष गुप्ताको भनाइ छ । यो अवधिमा स्टीम जीरा बासमती चामलको मूल्य प्रतिकिलो २ रुपैयाँ बढेको छ । यो चामल किलोको ५८ रुपैयाँमा विक्री भइरहेको उद्योगीले बताए । ‘लकडाउनले यो चामलको माग बढेको छैन बरु घटेको छ,’ उनले भने ।
लकडाउनका कारण उद्योगहरू क्षमताको करीब २५ प्रतिशतमा सञ्चालन भइरहेकाले उत्पादनको लागतसमेत बढी परेको दाबी मोहित एग्रोका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताले गरे । राहतमा बाँडिएको चामल, मुसुरो दाल र तोरीको तेलको मूल्य बढेकाले राहतमा वैकल्पिक खाद्यान्न समावेश गरिनुपर्ने सुझाव जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जयकुमार साहको छ ।
संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर चामलको सट्टा पिठो, तोरीको ठाउँमा सूर्यमुखी, सोयाबिन र प्रशोधित पाम आयल, केराउ र चना उपलब्ध गराउन माग गरेको छ ।
‘राहतमा यी वैकल्पिक खाद्यान्न दिने हो भने मूल्य वृद्धि नियन्त्रणमा आउँछ,’ अध्यक्ष साहले भने, ‘यो उपाय लकडाउनको मारमा परेका यस्ता उद्यम र व्यवसायका लागि राहत सावित हुन सक्छ ।’ राहतमा मुसुरोको दालको सट्टा केराउ र चना उपयोग गर्दा मितव्ययी हुने सुझाव अध्यक्ष गुप्ताको पनि छ । अहिले आयातित केराउ र चना पर्याप्त मौज्दात भएकाले मुसुरोको विकल्पमा केराउ र चना प्रयोग गर्न सकिने उनले बताए । आयातित सेतो केराउ किलोको ६० रुपैयाँमा पाइन्छ । दाल बनाउँदा ७० रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् ।