वैशाख १५, काठमाडौं । नेपालमा अबदेखि निजी प्रयोगशालाले पनि कोभिड –१९ परीक्षण गर्न पाउने भएका छन् ।
मापदण्ड पूरा गरेका निजी प्रयोगशालाले कोभिड–१९ परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तर सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति भने लिनुपर्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
सोमवार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा देवकोटाले अब निजी प्रयोगशालाले पनि कोभिड –१९ को परीक्षणका लागि बाटो खुला भएको बताए । कोभिड–१९ परीक्षणका लागि मन्त्रालयले प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरि सकेको छ ।
यसैबीच सोमवारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमा १६ जना निको भइसकेका छन् । सोमवारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमूना र पीसीआर विधिबाट १० हजार ४७१ परीक्षणहरु भएको छ ।
दुवै विधिबाट हालसम्म ५३ हजार ५३४ ओटा परीक्षणहरु भइसकेको प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौंमा ८ जना र काठमाडौं बाहिर ९८ जना गरी हालसम्म देशभरी १०६ जना आईसोलेशनमा रहेका छन् । यस्तै २० हजार १९५ जना क्वारेन्टाइनमा रहेका छन् ।