वैशाख १५, धनगढी । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको प्रयास सुदूरपश्चिम प्रदेशमा भने सुस्ताउँदै गएको छ । लकडाउनको शुरुआती चरणमै यहाँका पाँचजनामा कोरोना पोजेटिभ देखिएपछि सरकारले यो प्रदेशमा कोरोनाको नमूना परीक्षणका लागि प्राथमिकता दिएको थियो ।
तर संक्रमितमध्ये चारजनालाई उपचारपछि घर पठाइएपछि भारतलगायत तेस्रो मुलुकबाट ठूलो संख्यामा आएकाहरूको स्वाबको नमूना परीक्षणमा संघीय एवं प्रदेश सरकार चुक्दै गएको सरोकारवालाहरूले बताएका छन् । परीक्षण फितलो बनेकाले यो प्रकोपले जुनसुकै बेला भयावह रूप लिन सक्ने चेतावनी सम्बद्ध विज्ञ चिकित्सकहरूले दिएका छन् ।
चैत मसान्तसम्म भारत तथा तेस्रो मुलुकबाट आएका करीब डेढ लाख व्यक्तिको नमूना संकलन गर्ने योजनासहित संघीय सरकारले पहिलो चरणमा ६ सदस्यीय स्वास्थ्य चिकित्सकको टोली परिचालन गरेको थियो । सो टोलीले कैलाली र कञ्चनपुरमा ४ दिन काम गरेर करीब ३ सयको नमूना संकलन गरेर फर्किएको थियो । संक्रमणको जोखिम बढ्दै गएपछि फेरि केही दिनअघि ३३ सदस्यीय स्वास्थ्यकर्मीको आवासीय टोली काठमाडौंबाट पठाइए पनि आरडीटी र पीसीआर गरी अहिलेसम्म १३ हजारको संख्यामा मात्र नमूना संकलन गरिएको छ । जबकि कोरोना संक्रमण विश्वसनीय परीक्षण प्रविधि मानिने पीसीआरबाट २ हजार ७०० को मात्र परीक्षण गरिएको छ । बाँकी व्यक्तिको आरडीटी परीक्षणपछि नमूना संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।
स्थानीय र स्वयम्सेवक परिचालन गरी डेढ लाखको नमूना संकलन गरिने यसअघि बताइए पनि अहिले जनशक्ति अभावको कारण देखाउँदै सो लक्ष्यमा पुग्न नसकिएको प्रदेश र संघीय सरकारले बताएका छन् । सेती प्रादेशिक अस्पतालमा दुईओटा मात्र पीसीआर मेशिन भएकाले परीक्षणमा ढिलाइ भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।
संघीय सरकारसँग १ लाख किट माग गरिएकोमा अहिलेसम्म उपलब्ध नभएको उनको गुनासो छ । अहिले प्रदेशका ९ओटै जिल्लामा गरी ४८ जना स्वास्थ्यकर्मी मात्र परिचालन हुँदा परीक्षणको गति सुस्त देखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए ।
जनशक्ति, उपकरण लगायत अभावले लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएकाहरूको पनि परीक्षणमा ढिलाइ भएको स्वास्थ्यकर्मीको भनाइ छ । अहिले सुदूरपश्चिमका विभिन्न स्थानमा गरी १ हजारभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा बस्दै आएका छन् ।
५ हजारभन्दा बढी क्वारेन्टाइन तथा साढे ७ सय वार्डको आइसोलेसन निर्माण गरिए पनि परीक्षण सुस्त भएको र बाहिरबाट आएकाहरू क्वारेन्टाइनमा बस्न नमान्ने प्रवृत्तिले संक्रमणको जोखिम बढ्दै गएको विज्ञ चिकित्सकहरूले बताएका छन् ।
विदेशबाट आएका व्यक्तिको वडास्तरबाट लगत संकलन गर्ने काम पनि अलपत्र परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म २ हजार ४०० व्यक्तिको लगत संकलन भए पनि अधिकांशको अझै परीक्षण गरिएको छैन ।
यस्तै नेपाल–भारत सीमामा रोकिएका करीब १ हजार नेपालीलाई नेपाल प्रवेश गराएर थप परीक्षण गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले संघीय सरकारलाई अनुरोध गरे पनि ठोस जवाफ नआएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।