ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी थाल्नुपर्ने विज्ञको सुझाव

२०७७ बैशाख, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना प्रकोपले पर्यटन क्षेत्रमा परेको असर कम गर्न आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नीतिगत तयारी थाल्नुपर्ने विज्ञहरूले बताएका छन् । नेपालमा आन्तरिक पर्यटनको महत्त्व र सम्भावना पर्याप्त रहे पनि यो क्षेत्रलाई प्राथमिकता दिन नसकिएको भन्दै उनीहरूले यस्तो सुझाव दिएका हुन् । एक्सल ट्रिपले सोमवार आयोजना गरेको भिडियो संवादमा उनीहरूले नेपाल भ्रमण वर्षको रकम आन्तरिक पर्यटनको विकासमा खर्च गर्न पनि सरकारलाई सुझाएका छन् ।

पर्यटनविद् एवं होटल व्यवसायी कर्ण शाक्यले नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकाले कोरोनापछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए । नेपाल भ्रमण वर्षको रकम आन्तरिक पर्यटनको विकासका लागि खर्च गर्नुपर्नेमा उनले जोड दिए । ‘पर्यटन मन्त्रालयले तत्काल एउटा सेल गठन गर्न जरुरी छ, जसले नेपालको पर्यटनका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने तथ्य बाहिर ल्याउन सकोस्,’ उनले भने, ‘आन्तरिक पर्यटनको जगबाटै हामी क्षेत्रीय र त्यसपछि अन्तर्राष्ट्रिय पर्यटन बजारमा जान सक्छौं ।’

नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले कोरोनाबाट नेपालमा अहिलेसम्म कसैको पनि ज्यान नजानु नेपालको पर्यटनका लागि सुखद पक्ष रहेको बताए । नेपालीहरूको विदेशीले भन्दा बढी खर्च गर्ने संस्कार बढ्दै गएकाले संकटबाट माथि उठ्न आन्तरिक पर्यटनलाई जोड दिनुको विकल्प नभएको धारणा उनले राखे ।

होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनापछि नेपालीलाई विशेष प्याकेज ल्याउने तयारीमा होटलहरू रहेको जानकारी दिए । सरकारलाई स्वास्थ्य सुरक्षाको मापदण्ड बनाइदिए सोहीअनुसार अन्य विदेशीलाई विस्तारै ल्याउन सकिने उनले बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीले सातै प्रदेशमा ट्रेकिङको पूर्वाधारमा तीनै तहका सरकार लाग्नुपर्ने बताए । पूर्वाधार विकास गर्न सकिए अहिले पर्यटन मजदूरलाई रोजगारी दिन सकिने र पछि त्यो पूर्वाधारले समग्र पर्यटन विकासमा योगदान दिने उनको भनाइ छ ।

एक्सल ट्रिपका कन्ट्री म्यानेजर आदित्य बरालले कोरोनाको संक्रमणबाट बाहिर आउन पहिलो काम आन्तरिक पर्यटन प्रवर्द्धन भए पनि त्यसका लागि विमान कम्पनी, होटलहरू तयार रहनुपर्ने बताए । नेपालका तारे होटल तथा विमान कम्पनीले नेपालीका लागि छुट्टै प्याकेज ल्याउनुपर्ने भन्दै उनले संकटको समयमा डिजिटल प्ल्याटफर्म प्रयोग गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  

पर्यटनको पुनरुत्थानका लागि ठोस कार्यक्रम ल्याउन चेम्बरको माग
यसैबीच, नेपाल चेम्बर अफ कमर्शले पर्यटनको पुनरुत्थानका लागि विधागत पर्यटन प्रवद्र्धनका ठोस कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले सोमवार पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेर उक्त सुझाव दिएको हो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती तथा संगठित संस्थाका कर्मचारी र नागरिकलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणमा प्रेरित गर्नुपर्ने, कोरोनाबाट होटल तथा विमान कम्पनीलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनुपर्ने, ऋणलगायत सुविधा दिनुपर्ने, पर्यटनको प्रवद्र्धनका लागि ‘थिंक ट्यांक’को व्यवस्था गर्नुपर्ने लगायत सुझाव चेम्बरको छ । त्यस्तै मेडिकल टुरिजम, होम स्टे, एग्रो टुरिजम, कल्चरल टुरिजम लगायतको प्रवर्द्धनका लागि पनि ठोस कार्यक्रम ल्याउन चेम्बरले माग गरेको छ ।

पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनुपर्ने, नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीको व्यवस्था गरी नगद धरौटी फिर्ता गर्नुपर्ने माग समेत चेम्बरको छ । चेम्बरले चीनमा कोरोनाको प्रकोप कम हुँदै गएकाले आउँदो सेप्टेम्बर अक्टोबरमा पर्यटकीय सिजन भएकोले चीनका विभिन्न शहरबाट पर्यटक भिœयाउने सरकारी स्तरबाट पहल गर्नुपर्ने समेत बताएको छ ।

मन्त्री भट्टराईले चेम्बरको सुझाव बुझ्दै सरकारले पर्यटन क्षेत्रको विकासको सरकारले काम गरिरहेको बताए । कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै उनले आउने बजेट र नीति तथा कार्यक्रम पर्यटन सुधारको प्याकेज घोषणा हुने जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)