ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उधारो नउठ्दा खाद्य उद्योग समस्यामा

२०७७ बैशाख, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । लकडाउनको समयमा जसोतसो उत्पादन र ढुवानीको प्रबन्ध गरिरहेका खाद्यान्न उद्योगीलाई अहिले सञ्चालन पूँजीको अभाव हुन थालेको छ । उत्पादनजति उधारोमा जाँदा बजारबाट भुक्तानी उठाउन नसकिएपछि समस्या भएको उद्योगीले बताए ।

सरकारले उत्पादन र ढुवानीका लागि सहजीकरण गरे पनि बजारमा दिइएको उधारो उठाउन नपाउँदा उद्योग चलाउनै कठिन भएको वीरगञ्जको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले बताए । वीरगञ्जबाट काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायत शहरमा चामल आपूर्ति गर्दै आएका कलवारमात्र होइनन्, अहिले अधिकांश खाद्यान्न उद्योगीले यस्तो समस्या भोगिरहेका छन् ।

सरकारले खाद्यान्नलाई अत्यावश्यकीय उत्पादनको सूचीमा राखेको छ । लकडाउनको समयमा खाद्यान्न आपूर्ति सहज बनाउन सरकारले चामल, तेल, दाल, पिठो, मैदालगायत खाद्यान्न तथा औषधि र पशुपन्छीको दाना, दुग्धलगायत उद्योग सञ्चालनको अनुमति दिएको थियो । ‘सरकारले उत्पादन र ढुवानीलाई त खुला ग¥यो । तर, ठाउँठाउँमा रोकिएको भुक्तानी उठाउन सकिएको छैन । कम्तीमा मुख्य शहरमा खटिने उद्योगका बजार व्यवस्थापकलाई सवारी पास उपलब्ध भएमा केही हदसम्म समस्या समाधान हुने थियो,’ कलवारले आर्थिक अभियानसित भने ।

स्थानीय प्रशासनले उद्योगमा आवागमन र खाद्यान्न ढुवानीका लागि पास उपलब्ध गराएको छ । तर, बजारमा खटिने जनशक्तिका लागि त्यस्तो व्यवस्था नभएकाले भुक्तानी उठाउन नसकिएको उद्यमीले बताएका छन् ।

खाद्यान्न उद्योगीले चैतको अन्तिम साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समस्या समाधानको आग्रह गरेका थिए । मन्त्रालयले अहिलेसम्म सहजीकरण नगरिदिएको गुनासो उनीहरूको छ ।

भुक्तानीको समस्याले उद्योगको उत्पादन नै प्रभावित हुने अवस्था आएकाले सरोकारवाला निकायलाई सहजीकरणको आग्रह गरिएको नेपाल चामल, तेल, दाल संघका अध्यक्ष सुबोध गुप्ताले बताए । ‘बजारबाट भुक्तानी संकलन र बैंकमा आवतजावतका लागि कम्तीमा एकजना कर्मचारीलाई पासको व्यवस्था हुनुपर्छ,’ मोहित एग्रोका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताको भनाइ छ ।

बैंकहरू नियमित रूपमा सञ्चालन नभएकाले पनि भुक्तानी संकलन प्रभावित भएको उद्यमीले बताएका छन् । लकडाउनमा अधिकांश बैंकले आलोपालो गरी शाखा सञ्चालन गरेका छन् । यस्ता बैंकले अहिले दिनको २ घण्टामात्र सेवा दिएका छन् ।

लकडाउनअघि घर गएका कामदार तथा कर्मचारीलाई फिर्ता ल्याउन नसकिएको उद्योगी कलवारले बताए । कर्मचारीलाई ल्याउन सरकारले सहजीकरण गर्नुपर्ने माग उद्योगीहरूको छ ।

खाद्यान्न उद्योगका लागि आवश्यक पर्ने प्याकेजिङ उद्योग, विद्युतीय स्रोत, औद्योगिक पार्टपुर्जा, रसायनलगायत पसल पनि दैनिक रूपमा केही समयका लागि भए पनि खोल्नुपर्ने उद्यमीको भनाइ छ ।

अहिले उद्योगहरू मौज्दात कच्चा पदार्थको भरमा चलेको अध्यक्ष गुप्ताले बताए । मौज्दात सकिएपछि खाद्यान्नको अभाव हुनसक्ने भएकाले कच्चा पदार्थको आयातमा भारत सरकारसँग पहल गरिदिन उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालका खाद्यान्न उद्योगको अधिकांश कच्चा पदार्थ भारतबाट आउँछ । भारतमा जारी लकडाउनले यस्ता वस्तुको आयात ठप्प छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)