ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सञ्चारप्रविधि क्षेत्रमा अप्रत्यक्ष काम गर्ने डेढ लाखको रोजगारी गुम्यो

२०७७ बैशाख, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । चैतको पहिलो हप्ताबाट शुरू भएको लकडाउनले सञ्चारप्रविधिका क्षेत्रमा अप्रत्यक्ष रूपमा काम गर्ने डेढ लाखको रोजगारी गुमेको छ । सञ्चारप्रविधि तथा सूचना मन्त्रालयले लकडाउनका कारण सञ्चारप्रविधिको क्षेत्रमा कार्यरत श्रमिकका बारेमा गरेको एक अध्ययनमा अप्टिकल फाइबरको काम गर्ने, मोबाइल, इन्टरनेट ममर्तजस्ता काममा संलग्न १ लाख ५० हजारको रोजगारी गुमेको देखाएको हो ।

सञ्चारप्रविधिका क्षेत्रमा अप्रत्यक्ष काम गर्ने ईकमर्श, ई–एग्रिकल्चर, बैंकिङ क्षेत्रमा काम गर्ने प्राविधिक, मोबाइल मर्मत गर्नेहरू लकडाउनको मारमा परेको अध्ययनमा देखिएको छ । अध्ययनका अनुसार टेलिभिजन सेवाप्रदायक प्रभु टिभी, डिस होम, मेरो टिभीलगायतले घरमै पुगेर सेवा दिन सकिरहेका छैनन् । इन्टरनेट प्रदायक कम्पनीहरूले पनि पहिलेकै जसरी कामदार खटाएर सेवा दिन नसकिरहेको अध्ययनमा उल्लेख छ ।

‘प्रायः टेलिभिजन, इन्टरनेट प्रदायकहरूले सीमित कर्मचारीलाई घरबाटै सम्भव भएसम्म सेवा दिन भनेको पाइयो, फिल्डमै खटिएर काम गराउने न्यून देखिन्छ,’ अध्ययनको निष्कर्ष छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लकडाउनका कारण कुनकुन क्षेत्रमा कति श्रमिक प्रभावित भएका छन् भन्नेबारे अध्ययन गर्न सरोकारवाला मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सञ्चार मन्त्रालयले श्रम मन्त्रालयको अनुरोधमा गरेको अध्ययनबाट सञ्चारप्रविधिको क्षेत्रमा अप्रत्यक्ष काम गर्नेहरूको असरबारे अध्ययन गरी डेढ लाखले रोजगारी गुमाएको निष्कर्ष निकालेको श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

लकडाउनका कारण रोजगारी गुमाएकाहरूका बारेमा कृषि, उद्योग, पर्यटनलगायत मन्त्रालयलाई पनि श्रमले विवरण संकलन गरी पठाउन भनिसकेको छ । श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले लकडाउनका कारण पर्यटन, उद्योग, सञ्चारक्षेत्रमा कार्यरत श्रमिकहरूको रोजीरोटी संकटमा परे पनि सबै तथ्यांक संकलन नभइसकेकाले यकिन भने हुन सकेको छैन । उनका अनुसार कोरोनाका कारण रोजगारी गुमेकाहरूका लागि के गर्ने भन्नेबारेमा सरकारले अझै योजना बनाइसकेको छैन । तथ्यांक संकलनपछि रोजगारीका अवसरबारे योजना बनाउने श्रम मन्त्रालयको तयारी छ ।

‘सबै क्षेत्रको तथ्यांक आएपछि रोजगारी गुमाएकाहरूका लागि सरकारले प्याकेज ल्याउनेछ,’ श्रम मन्त्रालयका उपसचिव लोकनाथ भुसालले भने । उनका अनुसार आगामी बजेटमार्फत सरकारले लकडाउनका कारण रोजीरोटी गुमाएका श्रमिक र प्रतिष्ठानहरूलाई विशेष व्यवस्था गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगारजस्ता कार्यक्रमबाट शीपमूलक तालीम दिई बेरोजगारलाई आत्मनिर्भर बनाउने, उद्यमशीलताका लागि अनुदानको व्यवस्था बजेटमार्फत गर्न गृहकार्य भइरहेको श्रमका अधिकारीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)