ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाका कारण आर्थिक वृद्धिदरमा असर

चालू आवको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने प्रक्षेपण

२०७७ बैशाख, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारीका कारण चालू आर्थिक वर्ष २०७६/७७ मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा सीमित हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यस वर्षको आर्थिक वृद्धि सरकारी लक्ष्यभन्दा निकै कम हुने देखाएको हो ।

अघिल्ला ३ वर्षमा ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि प्राप्त गरेको नेपालको आर्थिक वृद्धि गतवर्षको भन्दा ४ दशमलव ४८ प्रतिशत विन्दुले कम हुने अनुमान विभागको छ । गत आवमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ७५ प्रतिशत थियो । आव २०७२/७३ मा भूकम्प र नाकाबन्दीका कारण आर्थिक वृद्धि शून्य दशमलव २ प्रतिशतमा झरेको थियो ।

विभागले गरेको आर्थिक वृद्धिको अनुमान यसअघि अन्तरराष्ट्रिय दातृ निकायहरूले गरेको प्रक्षेपणकै हाराहारीमा छ । विश्व बैंक र अन्तरराष्ट्रिय मुद्राकोषले नेपालको आर्थिक वृद्धि साढे २ प्रतिशतको वरपर रहने अनुमान गरेका थिए ।

कोरोना महामारीले उब्जाएको विषम परिस्थितिका कारण आर्थिक क्रियाकलाप सुस्त हुँदा अर्थतन्त्रका विभिन्न क्षेत्रको वृद्धि नकारात्मक हुने निष्कर्ष विभागको छ । विश्वव्यापी कोरोना महामारी तथा यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले मुलुकको अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएको विभागको अनुमान छ ।

अर्थतन्त्रका प्रमुख तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रको वृद्धिदर २ दशमलव ५४ प्रतिशत रहने, द्वितीय क्षेत्रको वृद्धिदर ३ दशमलव ३६ प्रतिशत र सेवाक्षेत्रको वृद्धिदर १ दशमलव ९९ प्रतिशत मात्र रहने विभागको प्रक्षेपण छ । धानको उत्पादनमा कमी तथा कोरोनाको असरलाई न्यून गर्न अवलम्बन गरिएको प्रयासबाट आपूर्ति प्रणालीमा आएको रोकावटले गर्दा कृषिलगायतको प्राथमिक क्षेत्रको उत्पादनमा गतवर्षको भन्दा न्यून वृद्धि देखिएको विभागको भनाइ छ ।

चालू आवमा खानी तथा उत्खनन, उद्योग, निर्माण, होटल तथा रेस्टुराँ र यातायात क्षेत्रको वृद्धिदर ऋणात्मक हुने विभागको प्रक्षेपण छ ।

यस वर्ष सबैभन्दा धेरै होटल तथा रेस्टुराँ क्षेत्रको वृद्धिदर ६ दशमलव ३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ । कोरोनाका कारण पर्यटन ठप्प हँुदा होटल, वायुसेवा, ट्राभलटूरलगायत व्यवसाय अहिले संकटमा छन् ।

यातायात, सञ्चार र भण्डारण क्षेत्रको वृद्धि पनि नकारात्मक हुने अनुमान गरिएको छ । चालू आवमा यो क्षेत्रको वृद्धिदर २ दशमलव ४५ प्रतिशतले खुम्चनेछ ।

होटेल तथा हवाई यातायातमा कोरोनाले प्रत्यक्ष असर पारेको बताउँदै विभागले ती क्षेत्र कहिले सुचारु हुन्छन् भन्ने अनुमान गर्न नसकिए पनि अन्य क्षेत्र भने जेठबाट क्रमशः सञ्चालन हुने अनुमानसहित यो प्रक्षेपण गरिएको विभागको भनाइ छ ।  

अर्थतन्त्रमा ७ दशमलव २३ प्रतिशत योगदान दिएको निर्माण क्षेत्र शून्य दशमलव ३१ प्रतिशतले ऋणात्मक रहनेछ । कोरोना र लकडाउनका कारण अहिले सडक, पुल, जलविद्युत्लगायत अधिकांश पूर्वाधार आयोजनाहरू बन्द छन् । गतवर्ष निर्माण क्षेत्र ८ दशमलव ९४ प्रतिशतले विस्तार भएको थियो ।

चालू आवमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । तथ्यांक विभागका अनुसार नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत १ हजार ८५ अमेरिकी डलर (१ लाख २६ हजार १८ रुपैयाँ) पुगेको छ । गत आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ४७ डलर रहेको थियो ।

आधारभूत मूल्यमा कुल उत्पादन ५० खर्ब ९२ अर्ब रुपैयाँ बराबरको हुने अनुमान विभागको छ । त्यस्तै, अन्तिम उपभोग खर्च ३० खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ जुन जीडीपीको ८१ दशमलव ९० प्रतिशत हो ।

अर्थशास्त्री विश्वम्भर प्याकुरेल कोरोना महामारीका कारण अर्थतन्त्रको उत्पादन, वितरण र सेवाक्षेत्रमा समेत प्रभाव परेकाले सरकारले ढिला नगरी सम्बोधन गर्नुपर्ने बताउँछन् । ‘क्षतिको आकलन सही रूपमा गरी दूरगामी योजनाको खँचो छ,’ उनले भने ।

अर्थशास्त्री केशव आचार्यका अनुसार कृषि, उत्पादन र निर्माण क्षेत्रलाई प्राथमिकतामा राखी सरकार अब अघि बढ्नुपर्छ । उनका अनुसार कोरोनाले खुम्चिएको अर्थतन्त्रलाई सम्हाल्न साधारण खर्चमा व्यापक कटौती गरी सरकारले आगामी बजेटलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न जरुरी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)