ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले छुर्पी उद्योग संकटमा

वार्षिक १ अर्ब निकासी हुने छुर्पी निर्यात ठप्प

२०७७ बैशाख, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । पूर्वी पहाडी जिल्लाबाट यूरोप, अमेरिका र क्यानडालगायत देशमा वार्षिक १ अर्बबराबरको दूधको छुर्पी निर्यात गर्दै आएका छुर्पी उद्योगहरू लकडाउनका कारण अहिले संकटमा परेका छन् । नेपालमा लकडाउन हुँदा निर्यात लगभग ठप्प भएको छ । छुर्पीका मुख्य बजार अमेरिका, यूरोप, क्यानडा, जापानलगायत देश पनि कोरोनाकै कारण प्रभावित भएकाले त्यहाँबाट नयाँ माग पनि आएको छैन ।

प्रदेश १ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको खाजा (डग च्यु) का रूपमा अमेरिका, क्यानडा, यूरोप, जापान, कोरियालगायत देशमा निर्यात हुँदैं आएको थियो ।

फिक्कल डेरी उद्योगका सञ्चालक दिनेश महतले गतवर्ष २६ हजार किलो छुर्पी राजधानीको मनराम हिमालय हेन्डीक्राफ्टमार्फत अमेरिका, जापान र कोरिया पठाएका थिए । गतवर्ष उनको कारोबार २ करोड ३४ लाख रुपैयाँ बराबरको थियो । तर, यो वर्ष कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भई छुर्पीको अर्डर नआएपछि महतले आफ्नो उद्योग नै बन्द गरेका छन् ।

यूरोप, अमेरिका, क्यानडा, जापानलगायत देशमा कुकुर पाल्ने शौखिनहरूले कुकुरलाई हड्डी वा अन्य वस्तुको सट्टामा फ्याटविनाको छुर्पी दिने गर्छन् । हड्डी टोक्दा कुकुरलाई मुखमा घाउ हुने र विभिन्न समस्या हुने भएकाले दाँतको कसरतका लागि छुर्पी दिने गरेका हुन् । चपाउन मिल्ने साथै कुकुरले खाजाका रूपमा पनि खाने भएकाले नेपालको छुर्पी डग च्यूका रूपमा पछिल्ला वर्षहरूमा क्रमशः माग बढेको थियो ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५ करोड रुपैयाँ बराबरको डग च्यु निर्यात भएको थियो । नेपालमा उत्पादित डग च्युको सबैभन्दा ठूलो बजार अमेरिका हो । यस आर्थिक वर्षको चैत मसान्तसम्ममा ७६ करोड बराबरको डग च्यु अमेरिका निर्यात भएको छ ।

एक दशकदेखि नेपाली छुर्पी अमेरिका, यूरोपलगायत मुलुकमा पठाउँदै आएका काठमाडौंको मनराम हिमालयन ह्यान्डीक्राफ्टका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ लकडाउनका कारण भण्डारण गरिएको छुर्पी सुकाउन र प्रोशेसिङ गर्न समस्या भइरहेको बताउँछन् । लकडाउनका कारण अहिले अन्तरराष्ट्रिय बजारमा छुर्पी पठाउन ठप्प भएको छ । वार्षिक २ लाख ५० हजार केजी छुर्पी अमेरिका पठाउँदै आएका उनले अमेरिकाबाट अन्य मुलुकमा समेत नेपाली उत्पादन छुर्पी पुर्‍याउँदै आएका थिए । किसानको मूल्यका आधारमा उनले वार्षिक २२ करोड ५० लाख मूल्यको छुर्पी अमेरिका पठाउँदै आएका छन् ।

कृषि उपजमा सरकारले कुनै शुल्क नलाग्ने बताए पनि इलामदेखि काठमाडौंसम्म नै निकासी शुल्क तिर्नुपर्ने र अन्तरराष्ट्रिय बजारमा पठाउँदासमेत भन्सारलगायत शुल्क तिर्नु परिरहेको उनले गुनासो गरे ।

इलामको पूर्वी सन्दकपुर गाउँपालिकाका दूध किसान खेम भट्टराईले गतवर्ष २४ हजार किलो छुर्पी अमेरिकालगायत मुलुक पठाए । उनले राजधानीका हिमालयन डक च्यूबाट ९०० रुपैयाँ किलोका दरले १ वर्षमा २ करोड १६ लाखको छुर्पी विक्री गरे । उनी आफू पनि छुर्पी बनाउँछन् भने ३५ ओटा अन्य साना उद्योगबाट समेत छुर्पी किनेर राजधानी पठाउँदै आएका छन् ।

लकडाउनका कारण सबै छुर्पी उद्योग बन्द भएकाले अहिले किसानहरूमा हातमुख जोर्ने नै समस्या पर्ला कि भन्ने चिन्ता थपिएको उनले सुनाए । उनले भने, ‘अहिलेसम्म त जेनतेन धानिँदै छ, लकडाउन अझै लम्बियो भनेचाहिँ किसानले पनि राहतका लागि सरकारसँग गुहार माग्नुपर्ने अवस्था सृजना हुन्छ ।’

इलाम नगरपालिका– ८ मा रहेको सेतो पहाड डेरी उद्योगले भने आफ्नो उत्पादनलाई कटौती गरेर भए पनि छुर्पीको उत्पादन गरिरहेको छ । डेरी सञ्चालक मिलन खत्रीका अनुसार दूधमा आश्रित किसानहरूलाई लकडाउनका कारण गाईलाई खुवाउने दानाको समस्या भएको छ । गतवर्ष ६० हजार किलो छुर्पी यूरोपलगायत मुलुकमा पठाएको खत्रीले बताए । जुन ५ करोड ४० लाख बराबरको थियो ।

लकडाउनका कारण अबको बजार कस्तो हुने भन्ने चिन्ता रहे पनि छुर्पी उत्पादन गरेर भण्डारण गरिरहेको उनको भनाइ छ । उनले इलाम र बिर्तामोडमा रहेको कोल्डस्टोरमा उत्पादित घीउ र छुर्पी भण्डारण गर्ने गरेका छन् ।

कसरी बनाइन्छ डग च्यु ?
डग च्यु एक प्रकारको छुर्पी नै हो । जुन तपाईं हामीले खाने छुर्पीभन्दा अलिक फरक हुन्छ । डग च्युमा चिल्लोको मात्रा शून्य हुनुपर्छ । कुकुरले घ्यू नपचाउने भएकाले छुर्पी बनाउन दूधबाट घ्यूको मात्रा पूर्णरूपमा अलग गरिन्छ ।

कुकुरको आहारका रूपमा अमेरिकालगायत यूरोपेली मुलुकमा निकासी हुने छुर्पी बनाउँदा दूधलाई फटाएर विभिन्न प्रक्रिया पूरा गर्दै बनाउनुपर्ने इलाम सन्दकपुरका खेम भट्टराईले बताए ।

उनका अनुसार ‘दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौं वस्तुले किचेर राख्नुपर्छ । त्यसपछि शुरूमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउँमा राख्नुपर्छ र क्रमशः तातोमा सार्दै लैजानुपर्छ ।’

त्यसपछि त्यसलाई सुकाउन धूवाँ लगाउनुपर्छ । धूवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टा“डमाथि छुर्पी राखेर सुकाइन्छ । यसरी १ महीना लगाएर छुर्पी सुकाइन्छ । छुर्पी सुकेपछि संकलनकर्तामार्फत राजधानीका फर्महरूलाई विक्री गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)