ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खोरिया फाँडेर केराखेती : वर्षौं बाँझिएको जमीन हरियाली

२०७७ बैशाख, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २०, म्याग्दी । कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका म्याग्दीका युवाले वर्षौंदेखि बाँझोे जमीनमा हरियाली बनाउन शुरू गरेका छन् ।

अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरू अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमीन र खोरिया खर्कहरूमा परिश्रम गरिरहेका भेटिन्छन् ।

म्याग्दीको बेनी नगरपालिका, मालिका, मंगला, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन् ।

कतिपय ठाउँहरुमा वर्षौंदेखि बाँझिएर रहेका खोतीयोग्य जमीनमामा अहिले मकैका बिरुवा हरिया भएका छन् । काठमाडौंको  बागवजारस्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाइली लकडाउनको कारण गाउँमा फर्किएर वर्षौंदेखि बाँझिएको बारीमा खनजोत गर्न व्यस्त छन् ।

काठमाडौंको गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका २ का गणेश थापा गाउँमा फर्किएको १ महिना भन्दा बढि भयो । यो एक महिनाको अवधिमा उहाँले १४ रोपनी पाखो बारीमा २ सय बढि केराको विरुवा लगाएर भ्याइसकेका छन् ।

त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्की विद्यालय बन्द भएको अबसरलाई सदुपयोग गरी २० रोपनी भन्दा बढि क्षेत्रफलको खोरिया फाँडेर ५ सय भन्दा बढि केराका बिरुवा लगाएका छन् ।

बेनी बजारमा इलोक्ट्रोनिक पसल संचालन गरेका बगरफाँटका विष्णु शर्मा (सापकोटा) लकडाउनका कारण पसल बन्द गरेर १२ रोपनी खेत र पाखोमा केराका नयाँ विरुवा लगाउन र पुरानाको गोडमेल गर्न व्यस्त छन् ।

कृषिकर्ममा लागेका अधिकांश युवाहरुले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलर लगाएतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन् ।

बेनी नगरपालिका ४ सिंगाको फाँटमा गोरुद्धारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्धारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए । म्याग्दीका अधिकाँश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषि कर्म गरेको देखिन्छ ।

यसरी कृषि कर्ममा लागेका युवाहरुले अवसरलाई चिन्न सकेमा अहिले भइरहेको हाम्रो खाध्यान्नमाथिको परनिर्भरतालाई न्युनीकरण गर्न लकडाउन (बन्दाबन्दी) यो अवधि कोशेढुङ्गा सावित हुने बताउँछन् ।

‘हिजो हाम्रा पुर्वजको माटो सुहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका वीउविजन संचितीकरण गर्ने ज्ञान र प्रविधिलाई व्युँत्याउन आवश्यक छ।‘ म्याग्दीको बिम स्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमिष्टरमा अध्ययनरत बिनिता शर्माले भनिन्, ‘हरित क्रान्ति विकास र समृद्धि होइन हाम्रो परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अर्गानीक वा प्रांगारिक कृषि प्रणालीलाई पुनः ब्युँत्याउनुपर्छ ।

धान फल्ने खेतमा पनि केराखेती

 धान लगाएतका खाद्यान्न बालीबाट भन्दा केराखेतीबाट बढि आम्दानी हुनेभएकाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले  खेतका गह्रा गह्रामा व्यावसायीक रुपमा केरा खेती गरेर आय आर्जन गर्ने माध्यम बनाएका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढि हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमवहादुर कार्कीले बताए  । कार्कीले  खेतका गह्रामा २५० ओटा केराका विरुवा लगाएका छन् ।


त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने १४ रोपनी खेतमा केराका विरुवा लगाएका छन् । ‘खेती गर्न झन्झटिलो हुने,कम उत्पादन हुने,खर्च बढि हुने र  काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतै भरी केरा लगाएको हुँ, थापाले भने । 

यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब ९  हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । कार्कीले भने ‘अबको दुई वर्ष पछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ ।
करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् ।

दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । विष्णु शर्मा, अम्बिका शर्मा,सरिता शर्मा,चन्द्रवहादुर घिमिेरे,कृष्णप्रसाद रिजाल,भीमबहादुर कार्की,खिमबहादुर कार्की,दुर्गाबहादुर थापा लगाएतका कृषकले धानफल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी विष्णुप्रसाद शर्माले बताए  । यहाँका कृषकले करिब २ हजार केराका विरुवा लगाएका छन् । पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन् ।

बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन् ।

बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हिराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु पाँच लाख विनियोजन भएको छ ।

पहिलेको खबरा अहिले बन्यो केरा गाउँ 

बेनी नगरपालिका–२ को खबरा गाउँ पहिले खोरिया गाउँ भनेर चिनिन्थ्यो । तर यहाँका वासिन्दाहरुको अथक मिहिनेत र कृषि मोहका कारण अहिले यो गाउँ कृषि गाउँ अझ केरा गाउँको रुपमा चिनिन थालेको छ । यहाँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ ।

धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेर केरा लगाएको डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् ।अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकहरुले बताएका छन् ।

यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्राउने गरेका छ ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए ।

‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । सापकोटाले भने ‘खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो । 
कृषि ज्ञान केन्द्र म्याग्दीले पनि किसानहरुलाई फलफूल  र तरकारी खेतीमा प्रोत्साहित गरिरहेको छ ।

तर,स्थानीय निकायले कृषकहरुलाई दिने अनुदानमा भने विभेद गर्ने गरेका गुनासाहरु सुनिएका छन् । स्थानीय सरकारले  किसानको आर्थिक वृद्धिसँगै आत्मसम्मानलाई उँचो बनाउन कृषक पेन्सन र कृषिलाई पहिलो पेसामा बिकास गर्न दीर्घकालीन योजना बनाउन आवश्यक देखिएको कृषि प्राविधिक शिक्षालय बिमका संयोजक करन कडेलले बताए ।

म्याग्दीका वास्तविक कृषकले नामधारी कृषक, पाटीगत कृषक र गुटगत कृषकलाई होइन सही कृषकलाई कृषिअनुदान र सहयोग गर्न, अपारदर्शी कर्मचारीतन्त्र र त्यसभित्रको भष्टाचारलाई निर्मुल गर्नु आवश्यक रहेको बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 3, 2020 04:16am]

आँट गर्नेलाई आम्दानीको श्रोत आफ्नै गाउँ ठाउँमा प्रशस्तै छ भन्ने कुराको प्रमाण हो । कोरोनाले वाध्य पारेर मात्रै होईन, सरकारले उपयूक्त निती तर्जुमा गरेर देशको युवा जनशाक्तिलाई यसतर्फ आकर्षित गर्नपर्छ ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)