ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशमा कति नेपाली ? तथ्यांक संकलन गर्दै सरकार

२०७७ बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आउँदै गर्दा सरकारसँग विदेशमा रहेका नेपालीहरूको यकिन तथ्यांक नरहेको पाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राहदानी जारी गर्ने निकाय परराष्ट्र मन्त्रालयले विदेशमा रहेका आफ्ना नागरिकको अभिलेख राख्नुपर्ने भए पनि उसले राखेको छैन । ‘अलपत्र नागरिकको उद्धार गर्न श्रमले परराष्ट्रसँग कुनकुन देशमा केकति नेपाली नागरिक छन्, विवरण पठाउन बारम्बार भनेको छ । तर, परराष्ट्रबाट विवरण खोज्नुपर्छ भन्ने जवाफ आयो,’ श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले भने ।

उनका अनुसार वैदेशिक रोजगारीमा गएका नागरिकको विवरण श्रम मन्त्रालय मातहतका विभागहरूले राखिरहे पनि अध्ययन तथा अन्य सिलसिलामा विदेशमा पुगेका नागरिकका बारे तथ्यांक भने श्रमसँग छैन ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू विदेशमा रहेका नेपालीका बारेमा तथ्यांक तत्काल दिनसक्ने गरी आफूहरूसँग नभएको बताउँदै गैरजिम्मेवारीपूर्ण जवाफ दिएर पन्छिने प्रयास गरेका छन् ।

अध्ययनका क्रममा गएकाहरूको अभिलेख शिक्षा मन्त्रालय, रोजगारमा गएकाहरूको श्रम मन्त्रालयमा तथा अन्य कामले विदेश पुगेकाहरूको तथ्यांक अध्यागमन विभागमा हुनसक्ने परराष्ट्रका एक अधिकारी बताउँछन् । ‘अहिले ठ्याक्कै कति नेपाली विदेशमा छन्, त्यो अभिलेख हामीसँग छैन । दूतावासमार्फत पत्ता लगाउन समय लाग्छ, विभागीय मन्त्रालयबाट पत्ता लगाउन सहज होला,’ परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीले बताए ।

वैदेशिक रोजगार विभागका अनुसार २०५२ देखियता करीब ५० लाख नेपाली वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका छन् । अहिले अनलाइन सिस्टममार्फत विदेशमा जानेको अभिलेख राख्ने गरे तापनि त्यो पूर्णरूपमा अपडेट नरहेको विभागका महानिर्देशक कुमार दाहाल बताउँछन् ।

उनका अनुसार अहिले रोजगारका सिलसिलामा विदेश पुगेका करीब सवा २ लाख नेपाली कोरोनाका कारण नेपाल फर्कन चाहन्छन् । ‘रोजगारी गुमेका, श्रम अवधि सकिएका, मनोवैज्ञानिक त्रासका कारण पनि वैदेशिक रोजगारमा रहेका नेपालीहरू तत्काल फर्कन चाहेको देखिन्छ, त्यसको व्यवस्थापन मुख्य चुनौतीपूर्ण छ,’ दाहालले भने ।

उनका अनुसार हालसम्म नेपालले फर्काउन चासो नदेखाए पनि आईएलओको नियमअनुसार सम्बद्ध देशमा रहेका नागरिकहरूलाई सोही देशले नै गन्तव्यमा पुर्‍याउन सक्ने भएकाले नेपाल त्यसबाट पन्छिन मिल्दैन । उनका अनुसार अहिले नै उनीहरूको सही व्यवस्थापन गर्न क्वारेन्टाइन बनाएर सुरक्षित घरसम्म पुर्‍याउनेबारे सोच्न जरुरी छ ।   

उद्धारबारे छलफल
विदेशमा रहेका नेपालीको यकिन तथ्यांक नभए पनि श्रम मन्त्रालयले अनुमानित तथ्यांकलाई आधार मान्दै अलपत्र नागरिकको उद्धारबारे गृहकार्य थालिसकेको छ ।

श्रमका सहसचिव सुमन घिमिरेले करीब २५ लाख नेपाली वैदेशिक रोजगारमा गएको प्रारम्भिक तथ्यांक श्रम मन्त्रालयसँग रहेको बताए । उनका अनुसार चरणबद्ध रूपमा अलपत्र नेपालीलाई फर्काउने गरी गृहकार्य थालिएको छ । ‘पहिलो चरणमा हालसालै श्रम सम्झौता सकिएका, दोस्रोमा रोजगारदाताले लामो समय बिदा दिएका कामदार र कम्पनीले नै नेपाल फर्कने टिकट दिएका कामदारलाई राखिएको छ । तेस्रो वर्गमा स्वेच्छाले फर्कन चाहने कामदारलाई राखिएको छ,’ उनले भने ।

विदेशमा अलपत्र श्रमिकको उद्धारबारे सरकारले छिट्टै निर्णय लिने उनको भनाइ छ । श्रम मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनबाट कोरोना भाइरसका कारण खासगरी कच्चा पदार्थ उत्पादन गर्ने कम्पनी बन्द भएकाले कतिपयले रोजगारी गुमाएका छन् । श्रम सम्झौताको अवधि सकिएका र गैरकानूनी रूपमा बसेकाहरू अझ बढी समस्यामा परेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केही दिनअघि विदेशमा गर्भवती महिला, कागजी प्रक्रिया नपुगेका, भिजिट भिसामा गएर रोकिएका र आममाफी पाएकालाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याउन सरकारलाई सुझाव दिएको थियो ।

कल्याणकारी कोषको रकम परिचालन गर्ने
समस्यामा परेका कामदारको उद्धारका लागि वैदेशिक रोजगार बोर्डमा रहेको ‘श्रमिक कल्याणकारी कोष’ को रकमसमेत परिचालन गर्ने सरकारले तयारी गरेको छ । अप्ठ्यारोमा परेका श्रमिकको उद्धारमा कल्याणकारी कोषको रकम परिचालन गर्नेबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । कल्याणकारी कोषमा सवा ५ अर्ब रुपैयाँ रहेको रोजगार बोर्डले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा गई समस्यामा परेका कामदारको उद्धार, क्षतिपूर्ति र शव ल्याउन कोष खडा गरिएकाले उक्त रकम परिचालन गर्नेबारे छलफल भएको मन्त्रालय स्रोत बताउँछ ।

अलपत्रलाई उद्धार गर्न ठूलो संयन्त्र आवश्यक रहेको वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ । ‘अहिले नेपालमा भएकाहरूकै व्यवस्थापन गर्न सकस भइरहेको छ, एउटा ठूलो ‘मेकानिजम’ बनाई उद्धारमा लागौैं,’ संघका महासचिव सुजित श्रेष्ठ भने । उनका अनुसार करीब ६० हजारले लकडाउनका कारण विभिन्न अप्ठ्यारोमा परेको भन्दै म्यानपावर कम्पनीमा सम्पर्क गरेका छन् । ‘स्वेच्छादेखि कम्पनी टाट परेर फर्कन सक्नेहरूको विवरण ५ लाखसम्म पुग्न सक्छ र सोहीअनुरूप सरकारले तयारी गर्नुपर्छ,’ उनले भने ।

विदेशमा ठूलो संख्यामा नेपालीहरू अवैधानिक रूपमा रहेकाले तिनको व्यवस्थापनका बारेमा पनि सोच्न जरुरी रहेको श्रेष्ठको भनाइ छ । व्यवसायीका अनुसार सेवा र निर्माण क्षेत्रमा काम गर्ने प्रायः श्रमिक मारमा परेका छन् । विदेशमा रोजगारी गुमाएका कतिपयलाई त्यहँका हस्पिटलहरूमा समेत काम दिने प्रयास भइरहेको महासचिव श्रेष्ठको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)