ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको असर : बीमा कम्पनीहरूको नाफा घट्दै

२०७७ बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको अनिश्चितता र लम्बिँदो लकडाउनका कारण नेपालको बीमाक्षेत्र प्रभावित हुने देखिएको छ । कम्पनीहरूको आम्दानी, नाफा, बीमाशुल्क संकलनतर्फ यसले नकारात्मक असर गर्न शुरू गरिसकेको छ ।

सामान्य अवस्थामा यो याम जीवन बीमा कम्पनीहरूका लागि व्यवसाय बढाउन अत्यन्त उपयुक्त मानिन्छ । असार मसान्त नजिकिँदै जाँदा विभिन्न स्कीम पाउन अभिकर्ताहरूले अन्य समयमा भन्दा बढी व्यवसाय ल्याएका हुन्छन् । साथै, अधिकांश बीमालेखको नवीकरण गर्ने समय पनि यही हो । फलस्वरूप यस समयमा बीमाशुल्क संकलन तुलनात्मक रूपमा बढी हुन्छ । तर, अहिले लकडाउनका कारण बीमा कम्पनीहरूले नगण्य रूपमा मात्रै नयाँ व्यवसाय पाएका छन् ।

बीमा कम्पनीहरूको मुख्य स्रोत नै बीमाशुल्क संकलन हो । बीमाशुल्कमार्फत उठेको पैसा परिचालन गरेर उनीहरूले आम्दानी गर्छन् । तर, अहिले बीमाशुल्क नै संकलन हुन नसक्दा बीमाक्षेत्र प्रभावित भएको बीमा कम्पनीका अधिकारीहरू बताउँछन् । बीमालेखको नवीकरण पनि त्यति उत्साहजनक हुन नसकेको कम्पनीहरूले बताएका छन् । त्यसमाथि सरकारले नै चैत र वैशाखमा नवीकरण गर्नुपर्ने बीमालेखको म्याद जेठ मसान्तसम्म पु¥याइदिएको छ । त्यही भएर जीवन बीमाशुल्क संकलन अत्यन्त न्यून मात्रामा भएको कम्पनीहरूको भनाइ छ ।

जीवन बीमा कम्पनीहरूको संगठन जीवन बीमा संघका अध्यक्ष शिवनाथ पाण्डे लकडाउनका कारण जीवन बीमाक्षेत्रले करीब १३ अर्ब रुपैयाँ गुमाउन सक्ने बताउँछन् । ‘गत आर्थिक वर्षको चैत, वैशाख र जेठको व्यवसायको आधारमा भन्ने हो भने यो अवधिमा १३ अर्ब बराबरको ह्रास आउन सक्छ,’ उनले भने, ‘अहिले सामान्य अवस्था भएको भए हामीले यति पैसा विभिन्न क्षेत्रमा लगानी गर्ने थियौं र आम्दानीको दायरा बढाउने थियौं । तर, त्यो अवस्था देखिएन ।’

जीवन बीमा कम्पनीहरूको भइरहेको पुरानो व्यवसाय पनि जोखिममा पर्ने देखिएको छ । आन्तरिक रूपमा रोजगारीमा आउने संकटले आम नेपालीको आम्दानी पनि घट्ने सम्भावना रहेको छ । यस अवस्थामा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय पाउने सम्भावना एकदमै कम छ । त्यसमाथि पुराना बीमालेखको कम नवीकरण हुने, बीमालेख सरेन्डर गर्ने बीमितको संख्या बढ्न नसक्ने कम्पनीहरूको आशंका छ ।

‘अब आम नेपालीको आम्दानी घट्दा बीमालाई प्राथमिकतामा नराख्न पनि सक्छन् । फलस्वरूप बीमालेख नवीकरण कम मात्रामा हुने र सरेन्डर गर्नेको संख्या बढ्दै जाने सम्भावना छ,’ पाण्डेले भने ।

जीवन बीमामा यो आवमा १ खर्ब बीमाशुल्क संकलन गर्ने लक्ष्य लिइएको थियो । तर, त्यो अब पूरा हुन कठिन देखिन्छ । यद्यपि, चालू आर्थिक वर्षमा बीमाशुल्क वृद्धिदरमा कमी भने नआउने देखिएको छ । गत आवमा रू. ७० अर्ब बराबरको जीवन बीमाशुल्क संकलन भएको थियो । चालू आवको चैतसम्म नै रू. ६३ अर्ब बराबरको जीवन बीमाशुल्क संकलन भएको छ । आगामी असारसम्म पुग्दा १० प्रतिशतदेखि २० प्रतिशतसम्मले बीमाशुल्क संकलन बढ्न सक्ने व्यवसायीको अनुमान छ । गत आवमा जीवन बीमाशुल्क संकलन ४५ प्रतिशतभन्दा बढीले बढेको थियो ।

बीमा व्यवसायमा यसरी आउने ह्रासले बीमा कम्पनीहरूको नाफासमेत प्रभावित हुने देखिएको छ । फलस्वरूप निकट भविष्यमा जीवन बीमा कम्पनीले बीमितलाई दिने बोनसदरमा समेत घट्न सक्छ ।, ‘पुराना कम्पनीहरूमा तत्काल केही असर देखिँदैन । तर, नयाँ कम्पनीहरूको बोनसदर प्रभावित हुन सक्छ,’ पाण्डेले भने ।

निर्जीवन बीमाक्षेत्र पनि केही मात्रामा प्रभावित भएको छ । निर्जीवन बीमा कम्पनीहरूको संस्था नेपाल बीमक संघका उपाध्यक्ष नुरप्रताप प्रधानले लकडाउनका कारण बीमालेख नवीकरण उत्साहजनक रूपमा हुन नसकेको बताए । ‘उद्योगहरूले आप्mना कर्मचारीलाई नै तलब दिन सकेका छैनन् । यो अवस्थामा उनीहरूले बीमाशुल्क दिन सक्ने कुरा आएन,’ उनले भने, ‘अहिले सामान्य अवस्थाकोे तुलनामा भन्दा ४५ प्रतिशत बराबरको व्यवसाय भएको छ । त्यो पनि अनलाइनमार्फत हो ।’

यद्यपि, कोरोना बीमालेखले निर्जीवन बीमाक्षेत्रलाई राहत दिएको उनको भनाइ छ । उनले भने, ‘अहिले भइरहेका व्यवसायमा अधिकांश अंश कोरोना बीमाको रहेको छ । अन्य बीमाको व्यवसाय लगभग ठप्प छ ।’ नवीकरण पनि ठप्प नै भएको उनी बताउँछन् । हाल ४० प्रतिशत मात्र बीमालेख नवीकरण भएको उनको भनाइ छ । तर, बीमाशुल्क संकलनमा कमी नआउने उनको भनाइ छ । चालू आवमा सामान्य रूपमा अर्थात् २/३ प्रतिशतले बीमाशुल्क संकलन बढ्न सक्ने अनुमान गरिएको उनले बताए । गत आवमा २४ अर्ब बराबरको निर्जीवन बीमाशुल्क संकलन भएको छ । चालू आवको चैतसम्ममा सवा १९ अर्ब बराबरको बीमाशुल्क संकलन भइसकेको छ । असारसम्म पुग्दा गत आवको भन्दा केही बढी बीमाशुल्क संकलन हुन सक्ने प्रधानको आकलन छ ।

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा बीमा कम्पनीहरू थप प्रभावित भएका छन् । बीमा कम्पनीहरूले आफूसँग भएको लगानीयोग्य पूँजीमध्ये अधिकांश बैंकको मुद्दती निक्षेपमा राखेका हुन्छन् । यसअनुसार बीमा कम्पनीको मुख्य आम्दानी स्रोत नै बैंकबाट प्राप्त हुने ब्याज रकम हो । तर, कोरोनाका कारण बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ७५ प्रतिशतबाट ७ प्रतिशतमा झारेका छन् । यसरी बैंकबाट प्राप्त हुने ब्याज आम्दानीमा कमी हुँदा बीमा कम्पनीको नाफा ह्रास हुने देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा रू. २ खर्ब ६३ अर्ब ३२ रकम निक्षेपमा राखेका छन् ।

बीमक संघका अध्यक्ष पाण्डेले चालू आर्थिक वर्षको वित्तीय विवरणमा यसको खासै असर नदेखिने बताए । उनले भने, ‘चालू आर्थिक वर्षको ८÷९ महीनासम्म राम्रै व्यवसाय भएको छ । त्यसले असारसम्म सहयोग पुग्छ । तर, आगामी आवदेखि भने यसको प्रभाव वित्तीय विवरणमा देखिनेछ ।’
 
बीमक संघका उपाध्यक्ष प्रधानले पनि ब्याजदर घट्दा निर्जीवन बीमा कम्पनीहरूको नाफा पनि प्रभावित हुन सक्ने बताए । कतिपय कम्पनी घाटामा समेत जाने सक्ने उनको भनाइ छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोनाले पारेको असर चालू आवभन्दा पनि आगामी आवको पहिलो ६ महीनामा देखिने बताए । ‘यो आवमा त्यति असर नेदखिएला तर आगामी आवको पहिलो ६ महीनामा चालू आवको ६ महीनाको जस्तो व्यवसाय हुँदैन,’ उनले भने, ‘यस अवस्थामा नियामक निकायको हैसियतले बीमाक्षेत्रको स्थायित्वका लागि बीमा समितिले आवश्यक कदम चाल्नेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)