ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवनबीमा शुल्क तिर्ने म्याद जेठ मसान्तसम्म  थप 

अभिकर्ता र सर्भेयरले असारसम्म इजाजतपत्र नविकरण गर्न सक्ने

२०७७ बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

वैशाख २१, काठमाडौं  । देशमा जारी लकडाउनका कारण उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगतगर्दै बीमा समितिले जीवनबीमाको बीमाशुल्कको किस्ता तिर्ने म्याद पुन : थप गरेर जेठ मसान्तसम्म पुर्‍याएको छ ।

समितिले आइतवार परिपत्र गर्दै लकडाउनअवधिमा नविकरण गर्नुपर्ने बीमालेखको हकमा मात्र यस्तो व्यवस्था गरेको हो । जसअनुसार गत चैत ११ गते यतादेखि नविकरण गर्नुपर्ने बीमालेख जेठ मसान्तसम्ममा नविकरण गर्न सकिने बीमा समितिले बताएको छ ।

नयाँ निर्देशनअनुसार बीमितले जेठ मसान्तसम्ममा बिनाव्याज बीमाशुल्क भुक्तानी गर्न पाउनेछन् । साथै, बीमालेख पनि व्यतित (ल्याप्स) नहुने बताइएको छ ।

समितिले गत चैतमा पनि परिपत्र गर्दै लकडाउनअवधिमा म्याद सकिने जीवन बीमालेख वैशाखमसान्तसम्म नविकरण गर्न सकिने व्यवस्था गरेको थियो । तर अहिले लकडाउनको अवधि बढ्दै गएको र सरकारले पनि निर्देशन दिएपछि म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

जीवनबीमा गर्ने व्यक्तिले त्रैमासिक, अर्धबार्षिक वा वार्षिक रुपमा बीमाशुल्कको किस्ता तिर्नुपर्ने हुन्छ । बीमितले तोकिएको समयमा बीमाशुल्क तिरेनन् भने निजको बीमालेख ल्याप्स हुन्छ । तर बीमितले पछि व्याजसहित बीमाशुल्क तिरेमा भने उक्त बीमालेख पुन : सुचारू गर्न सकिने छ ।

हाललाई भने उक्त व्यवस्था लागू नहुने र यस अवधिमा बीमालेखको अवधि सकिए पनि ल्याप्स नहुने कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

यस्तै समितिले निर्जीवन बीमातर्फ लकडाउन अवधिमा म्याद सकिने बीमालेखको स्वत : म्याद थप गर्न मिल्ने व्यवस्था पनि गेको छ । यद्यपि त्यसका लागि बीमितले लिखित रुपमा निवेदन भने दिनुपर्ने छ ।

बीमितले दिएको निवेदनका आधारमा कम्पनीले लकडाउन सकिएको १५ दिनभित्र बीमालेख नविकरण गर्न मिल्ने व्यवस्था गर्नुपर्ने समितिको निर्देशन छ । साथै त्यो अवधिसम्म पहिलेकै बीमालेखले नै काम गर्ने समितिको भनाइ छ । बीमितले अनलाइनका माध्यमबाट पनि लिखित अनुरोध गरेमा पनि त्यसलाई मान्यता दिनुपर्ने बताइएको छ ।

यस्तै, समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नविकरण गर्ने म्याद पनि पुन : थप गरेर असार मसान्तसम्म पुर्‍याएको छ । यसअघि समितिले यस्ता इजाजतपत्रको नविकरण गर्ने म्याद वैशाखमसान्तसम्म पु¥याएको थियो । अहिले लकडाउन बढेपछि त्यसको म्याद थप गरिएको समितको भनाइ छ । 

अभिकर्ता र सर्भेयरले हरेक बर्ष चैत मसान्तभित्र इजाजतपत्रको नविकरण गर्नुपर्ने हुन्छ । यदि त्यो म्यादमा नविकरण गर्न नसकिएमा जरिवाना तिरेर असोज मसान्तसम्म इजाजतपत्रको नविकरण गर्न सकिन्छ । तर हाललाई असारसम्म जरिवाना बिनानै इजाजतपत्र नविकरण गर्न सकिने बताइएको छ । 

यस्तै निर्जीवन बीमा कम्पनीले अहिले नै दावी भुक्तानीका लागि निवेदन आएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाएर आवश्यक पक्रिया अगाडि बढाउनुपर्ने बताइएको छ । त्यसपछि क्षति यकिन गरि दावी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने समितिको निर्देशन छ । 

कार्यकारी निर्देशक पौडेलले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगतगर्दै बीमा शुल्क भुक्तानी र अभिकर्ता तथा सर्भेयरको इजाजपत्र नविकरण गर्ने म्याद पुन ः थप गरिएको बताए ।

‘कोरोना भाइरसको नियन्त्रणगर्न नेपालभर लकडाउन लगाइएको छ । फलस्वरुप मानिसहरू बाहिर निस्कन पाएका छैनन्,’ उनले भने, ‘यस्तो परिस्थितिलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरेका हौं, यदि यो परिस्थिति लम्बियो भने पनि यस बिषयमा उपयुक्त निर्णय लिन पनि सकिन्छ ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)