ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षभित्र झोला र किताबरहित विद्यालय बनाउने योजना कोरोनाले छिटो हुने :  मन्त्री घिमिरे

प्रदेश नं १ मा ९०० ओटा  विद्यालयमा ई–लर्निङ ल्याब

२०७७ बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ममता थापा

वैशाख २१, काठमाडौं । प्रदेश नं १ सरकारले ९०० ओटा विद्यालयमा ई–लर्निङ ल्याब स्थापना गरेको बताएको छ । 

यससँगै उक्त प्रदेशले कोरोना संक्रमण र लकडाउन लम्बिंदै गए आर्थिक वर्ष ०७७/ ०७८ को बजेटअघि बाटै विद्युतीय माध्यममार्फत् ‘ई–लर्निङ’ विधिबाट पठनपाठन गराउने तयारी थालेको छ । त्यसका लागि सरोकारवालासँग परामर्श भइरहेको र छिट्टै निर्णयमा पुगिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए  । 

शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र प्रदेश नं १ ले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक विकासमन्त्री घिमिरेसँग आइतवार आयोजित भर्चुअल प्रेस मिटमा बोल्दै उनले ई–शिक्षण सिकाईमा जोड दिएको बताए । 

ई–लर्निङका लागि प्रदेश सरकारले आउँदो बजेटमा विद्यालयलाई प्रविधिमैत्री बनाउने, ईन्टरनेट पहुँच विस्तार गर्ने, डिजिटल साक्षरता र शिक्षकलाई डिजिटल पाठ्यक्रमको तालिम दिने तयारी गरिएको मन्त्री घिमिरेले बताए  ।

 आफू मन्त्री भएपछि पहिलो निर्णयबाट नै विद्यालयबाट झोला र किताब बिस्थापित गरेको स्मरण गर्दै मन्त्री घिमिरेले १० वर्षभित्र पूरा गर्ने भनिएको सो लक्ष्य कोरोना संक्रमणका कारण छिट्टै पूरा हुने दाबी गरे । 

‘१० वर्षभित्र झोला र किताबरहित विद्यालय बनाउने भनिएको थियो, कोरोनाका कारण छिटो हुने स्थिति देखियो’, उनले भने । 

उनका अनुसार प्रदेश सरकारले ई–लर्निङका लागि डिजिटल पाठ्यक्रम तयार गर्नुका साथै छुट्टै निर्देशिका बनाइएको छ । त्यस्तै प्रदेशस्तरमा सामाजिक मन्त्रीको अध्यक्षतामा निर्देशक समिति र प्रदेश शिक्षा विकास निर्देशकको संयोजकत्वमा कार्यान्वयन समिति रहेको छ । 

यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयकी पूर्व उपकूलपति विजु थपलियाको नेतृत्वमा विज्ञ समूह बनाएरै ई–लर्निङका लागि काम भइरहेको मन्त्री घिमिरेले जानकारी दिए । 

प्रदेश नं १ मा अहिले ई लर्निङका लागि १०० ओटा सामुदायिक विद्यालय छनौट गरी त्यहाँ कार्यरत ३ हजार शिक्षकलाई डिजिटल पाठ्यक्रमको तालिम दिईदैछ । 

प्रदेश सरकारले लकडाउनका बेला पनि झण्डै ६०० जना शिक्षकलाई भर्चुअल माध्यमबाट प्रशिक्षण दिइरहेको छ । पहिलो चरणमा १०० जना शिक्षकले उक्त तालिम लिइसकेको उल्लेख गर्दै उनले भने, ‘लकडाउनका कारण अहिले तालिम स्थगित छ, हाम्रो उद्देश्य डिजिटल साक्षरता रहेकाले यो कामलाई आउँदो वर्ष प्राथमिकतामा राख्छौ ।’

उनकाअनुसार आफ्ना बालबालिकालाई विद्यालय छाड्न जाने, खाजा लैजाने र लिन जाने आमाहरुका लागि डिजिटल साक्षरताका कक्षा संचालन थालिएको  छ । ईन्टरनेट, टेलिभिजन र रेडियोको पहुँच पुगेका क्षेत्रमा तत्कालै भर्चुअल कक्षा शुरु गर्ने र पहुँच नपुगेका क्षेत्रमा सेवा बिस्तार गर्ने योजना बनाइएको उनले बताए ।

आउँदो आर्थिक वर्षको बजेट भाषण अगावै अध्ययन रिपोर्ट आइसक्ने र सोही अनुसार बजेट छुट्याइने पनि मन्त्री घिमिरेको भनाइ छ । अहिले प्रदेश सरकारले एसईई दिने  परिक्षार्थीलाई लक्षित गरी इटहरीबाट टेलिभिजनमार्फत् पठनपाठन गराइरहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)