पर्वत । पर्वतमा सडक, जलविद्युत्, खानेपानी र सिँचाइका योजना शुरू भएका छन् । कोरोना त्राससँगै लकडाउनले रोकिएका विकास निर्माणका काम शुरू भएका हुन् । राष्ट्रिय गौरवको मध्यपहाडी र कालीगण्डकी लोकमार्ग, कालीगण्डकी कोरिडोर प्रसारण लाइन, नयाँ मोदी–लेखनाथ प्रसारण लाइन, मध्यमोदी र तल्लोमोदी जलविद्युत् आयोजनाको बाँकी काम शुरू भएको सम्बन्धित आयोजनाले जानकारी दिएका छन् ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डको २४ किलोमीटर खण्डमा कालोपत्रको संरचना तयार पार्न थालिएको छ । लोकमार्ग आयोजना कार्यालय प्रमुख आशिष थापा मगरले अहिले ७० जना कामदार काममा खटिएको बताए । ‘कोरिव डेढ सय कामदार घर फर्किएका छन्,’ उनले भने, ‘कामदार नहुँदा सानातिना काम मात्रै गर्दै छौँ ।’ आगामी असार सम्म काम सक्नुपर्ने दायित्व रहे पनि निर्माण सामग्रीको अभावमा आयोजनाको काम अगाडि बढाउन समस्या भएको उनको भनाइ छ ।
कालीगण्डकी कोरिडोरको ५५ किलोमीटर पर्वत खण्डमा पुल निर्माण, नाली निर्माण र १२ किलोमीटरमा ट्र्याक खोल्ने काम शुरू भएको छ । आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुबेदीले भने,‘ रोकिएको काम शुरू भए पनि फुलफेजमा काम गर्न सकिएको छैन । काम शुरू गरिए पनि एकातिर कामदार छैनन भने अर्कोतिर निर्माण सामग्री पनि स्टक छैन ।’
कालीगण्डकी कोरिडोर प्रसारण लाइनको खुर्कोट सबस्टेशन भित्रको कामदारहरूले मेकानिकल काम शुरू गरेका आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । आयोजना स्थलमै कामदारलाई राखेर काममा खटाएको घोषले बताए । सबस्टेशनमा ३४ जना कामदार खटिएको र पोखरेबगर र खुर्कोटमा तार तान्ने काममा १७ जना कामदार खटिएको उनले जानकारी दिए । कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा भने निर्माण सामग्री र कामदार अभाव नरहेको उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालयमार्फत १४ ओटा ग्रामीण सडकको कालोपत्र र स्तरोन्नतिको काम बिचमै रोकिएको थियो । कार्यालय प्रमुख दयाराम अधिकारीका अनुसार उपलब्ध कामदार र निर्माण सामग्रीको अभावका बीचमा काम शुरू गरिएको छ । तर, कामदारको अभावले पूर्ण रूपमा काम सुचारु हुन नसकेको उनले बताए । ‘सडकमा काम गर्ने मजदूर सबै बाहिरी जिल्लाका हुन् । सबै घर फर्किएका छन् । उनीहरूलाई ल्याउन सम्भव छैन,’ उनले भने ।
पूर्वाधार विकास कार्यालयले चैत अन्तिम साता र वैशाख पहिलो साता आह्वान गरेको टेन्डरको म्याद थप्ने तयारी गरेको अधिकारीले जानकारी दिए । जिल्लामा दुई ओटा गौरवका सडकसहित आधा दर्जन प्राथमिकता प्राप्त आयोजना छन् । मध्यमोदी र तल्लोमोदी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।