ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु

२०७७ बैशाख, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । लकडाउनका कारण बन्द भएका म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु भएको छ । विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम सुचारु गरिएको हो ।

जिल्लाका ४० मेगावाटको राहुघाट, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको नीलगिरि खोला र ६२ मेगावाटको नीलगिरि खोला–२ जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ ।

रघुगंगा गाउँपालिकाले अनुमति दिएपछि राहुघाटको काम सुचारु गरेको आयोजना प्रमुख गणेश केसीले बताए । ‘५०० कामदार आयोजना स्थलमै थिए,’ उनले भने, ‘प्रशासनसँग समन्वय भएपछि बाह्य व्यक्तिको प्रवेश हुन नदिई स्टोर गरिएको निर्माण सामग्रीबाट काम अघि बढाएका छौं ।’ आयोजना स्थलमा भएका सबै कामदार परिचालन गरिएको उनले जानकारी दिए ।

आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको निर्माण एकसाथ शुरू गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले आयोजनाका ६ ओटा गाडीलाई विस्फोटक पदार्थ आपूर्तिका लागि पास उपलब्ध गराएको रघुुगंगा हाइड्रोपावर कम्पनीले बताएको छ ।

आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत् ६०० मिटर दूरीमा निर्माण हुने २२० केभी कालीगण्डकी कोरिडोरको टावरमा ट्यापिङ लाइन जोडेर प्रसारण गरिनेछ । यस्तै, निर्माण अन्तिम चरणमा पुगेको मिस्त्री खोलाको काम पनि भइरहेको सिभिल ठेकेदार हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन कम्पनीका कार्यकारी निर्देशक तारानाथ सापकोटाले बताए । ‘लकडाउनको २ साताजति काम रोकियो,’ उनले भने, अहिले साढे २०० कामदार आयोजना स्थलमा खटिएका छन् ।’ निर्माण सामग्रीको अभाव नभए पनि केही साना उपकरणको आपूर्तिमा डकडाउनले असर गरेको उनको भनाइ छ । यो आयोजनाको विद्युत् चालू आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

यसैगरी नीलगिरि खोला र नीलगिरि खोला–२ जलविद्युत्को निर्माण पनि ३ दिन अघिदेखि सुचारु भएको आयोजनाका आवासीय इन्जिनीयर रत्न बम्जनले बताए । उनका अनुसार नीलगिरि खोलामा पहुँच मार्ग निर्माण हुँदै छ भने नीलगिरि खोला–२ को आधारभूत संरचना निर्माण शुरू गरिएको छ । जिल्लाको घारखोला जलविद्युत् आयोजनाको अवरुद्ध काम पनि अघि बढेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)