ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१२ हजार कन्टेनर बन्दरगाहमा रोकिए

२०७७ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालका लागि तेस्रो मुलुकबाट मालसामान बोकेर आएका १२ हजार कन्टेनर नेपाल र भारतका बन्दरगाहमा रोकिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनले ढुवानी अवरोध र प्रक्रियागत ढिलासुस्ती भएपछि कन्टेनर बन्दरगाहमै थन्किएका हुन् ।

भारतीय रेलमार्गसित जोडिएको वीरगञ्ज सुक्खा बन्दरगाहमा ३५ सयभन्दा बढी कन्टेनर अड्किएका छन् । भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाह हँुदै वीरगञ्जमा ल्याइएका कन्टेनर आयातकर्ताले छुटाएका छैनन् ।

वीरगञ्ज बन्दरगाहमै कन्टेनर रोकिएपछि कोलकाता र विशाखापत्तनम्बाट कन्टेनर ढुवानी प्रभावित भएको छ । ती बन्दरगाहबाट वीरगञ्जका लागि हिँडेका १९ ओटा रेल बाटोमै छन् । वीरगञ्जमा क्षमताभन्दा बढी कन्टेनर थुप्रिएकाले अब अनलोड गर्न नसकिने स्थितिमा पुगेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए । ‘एउटा रेलले ९० कन्टेनर बोक्छ । यस आधारमा १ हजार ७ सयभन्दा बढी कन्टेनर त बाटोमै छन् । अब ती कन्टेनरको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ,’ चौधरीले आर्थिक अभियानसित भने ।

नेपालका लागि कोलकाता बन्दरगाहमा आइपुगेका कन्टेनरको संख्या ४ हजार नाघिसकेको छ । रेलमार्गका लागि बेग्लै ५०० कन्टेनर छन् । आयातकर्ताले कन्टेनर नउठाएपछि सडकमार्गबाट आउने भनिएका कन्टेनर बन्दरगाहले नजीकका कन्टेनर पे्रmट स्टेशन (सीएफएस) मा पठाउने भएको छ । ‘२३ अप्रिलअघि बन्दरगाहमा अनलोड भएका करीब १ हजार ४ सय कन्टेनरलाई सीएफएसमा पुर्‍याइनेछ । हामीले यसबारेमा आयातकर्तालाई सूचित गरिसकेका छौं,’ कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने ।

आन्ध्र प्रदेशस्थित विशाखापत्तनम् बन्दरगाहमा २ हजार २ सय ५० कन्टेनर छन् । वीरगञ्ज बन्दरगाहमा कन्टेनरको जाम बढेपछि ती उतै रोकिएको चौधरीले बताए । लकडाउनका कारण सडकमार्गका कन्टेनर रेलतर्फ गएका थिए । बन्दरगाहमै कन्टेनर थुप्रिन थालेपछि रेलमार्गको ढुवानीसमेत सुस्त भएको छ ।

नेपालको कार्गो ढुवानीका लागि ४० ओटा डेडिकेटेड ¥याक छुट्याएको विशाखापत्तनम् बन्दरगाहले अप्रिल महीनामा ३२ र्‍याकमात्र ढुवानी गरेको छ । ‘त्यसअघिका २ महीनामा ५०/५० र्‍याक पठाएका थियौं । वीरगञ्जमा कन्टेनर रोकिएपछि यहाँबाट ढुवानी कम हुन थाल्यो,’ विशाखापत्तनम् बन्दरगाहका व्यापार विकास विभाग उपाध्यक्ष भी कल्याण चक्रवर्तीले बताए ।

वीरगञ्जमा किन थुप्रिए कन्टेनर ?
वीरगञ्ज सुक्खा बन्दरगाहको कन्टेनर भण्डारण क्षमता १ हजार ५ सय ४२ हो । अहिले बन्दरगाहमा रोकिएका कन्टेनरको संख्या क्षमताको दोब्बरभन्दा बढी छ । रेलमार्गका कन्टेनर जोड्दा ३ गुणा नाघ्छ ।

वीरगञ्ज बन्दरगाहमा उद्योगको कच्चा पदार्थ बढी आउँछ । लकडाउनले अधिकांश उद्योग कलकारखाना र बजार बन्द छन् । औद्योगिक र व्यापारिक प्रतिष्ठानले वित्तीय समस्या झेलिरहेका छन् । उत्पादन र विक्रीको सम्भावना नभएपछि आयातकर्ताले मालसामान छुटाउन चासो देखाएका छैनन् ।

सरकारले लकडाउनको समयमा बन्दरगाह र भन्सारबाट मालसामान ढुवानीमा ढिलाइ भएमा जरीवाना नलिन भनेको छ । भारतीय बन्दरगाह र सिपिङ कम्पनीले पनि यो अवधिको जरीवाना मिनाहा गरेका छन् । यस्तो अवस्थामा लकडाउनमा वित्तीय अभाव सामना गरिरहेका व्यवसायीले मालसामानको जाँचपास नगराउनु नै तुलनात्मक सहज देखेकाले बन्दरगाहमा कन्टेनरको थुप्रो लागेको हो ।

आयातकर्ताले बन्दरगाहबाट खाद्यान्न उद्योगका कच्चा पदार्थमात्र निकालिरहेको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । भटमास, दानाको कच्चा पदार्थ, तोरी, केराउ, भटमासको पिनालगायत मालसामान जाँचपास भएको भन्सारले बताएको छ ।

बन्दरगाह सञ्चालकले कन्टेनर लोडअनलोडका लागि स्केटरको प्रभावकारी व्यवस्थापन नगर्दा पनि ढिलाइ भइरहेको आयातकर्ता सुरेश रुङ्गटाको आरोप छ । ‘बन्दरगाहबाट सामान निकाल्न अहिले दोब्बर समय लागिरहेको छ । यसमा व्यवस्थापनको कमजोरी पनि कारण हो,’ ओसीबी फूडका सञ्चालकसमेत रहेका रुङ्गटाले भने ।

लकडाउनमा बैंकहरूले समयमै कागजात नदिँदा पनि आयात प्रभावित भएको व्यवसायी बताउँछन् । ‘अप्रिल ४ मा बन्दरगाहमा आइपुगेको कन्टेनर बैंकको कागजात रोकिँदा अहिलेसम्म छुटाउन सकिएको छैन,’ रुङ्गटाको दुःखेको छ ।

सामान्य अवस्थामा दिनहुँ २५० कन्टेनर र ५० को संख्यामा फलाम र बोराबन्द कार्गो बाहिरिने बन्दरगाहबाट अहिले यो १ सयको हाराहारीमा छ । लकडाउनलगत्तै ढुवानीका साधन र आयातकर्ता बन्दरगाहसम्म पुग्न नसक्दा १ हप्ताजति बन्दरगाहमा काम हुन सकेन । यसैबीचमा बन्दरगाहमा लोडअनलोडको स्केटर पनि बिग्रियो ।

अहिले बन्दरगाह सञ्चालकले उपकरण मर्मत गरेर तीनओटा स्टेकर र एउटा फर्क लिफ्टबाट लोडअनलोड गरेको छ । तर, कन्टेनरको चाङ लागेकाले एउटा कन्टेनर लोड गर्न ५/६ ओटा कन्टेनर पन्छाउनुपर्ने अवस्था भएको बन्दरगाह व्यवस्थापनले बताएको छ ।

कन्टेनरले भरिएको बन्दरगाहमा एकपटकमा ५० ओटाभन्दा बढी गाडी छिराउन नसकिएको चौधरीले बताए । कन्टेनर जति बन्दरगाहमै रोकिएपछि ८ ओटा रेल खाली फर्काउनु परेको पनि उनले बताए ।

कन्टेनर लिएर वीरगञ्ज आएका रेलले यताबाट खाली कन्टेनर लिएर जान्छन् । रित्तो र्‍याक फर्काउँदा ढुवानी लागत बढी पर्छ । लकडाउनअगावै बन्दरगाहमा आइपुगेको ४२ हजार मेट्रिकटन (मेट) फलाम र ५ हजार मेट बोराबन्द मालसामान पनि आयातकर्ताले लागेका छैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)