ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमाशुल्क तिर्ने म्याद थपियो

अभिकर्ता र सर्भेयरले असारसम्म इजाजतपत्र नवीकरण गर्न सक्ने

२०७७ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस र लकडाउनका कारण उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै बीमा समितिले जीवन बीमाको बीमाशुल्कको किस्ता तिर्ने म्याद पुनः थप गरेर जेठ मसान्तसम्म पुर्‍याएको छ । समितिले आइतवार एक परिपत्र जारी गर्दै लकडाउन अवधिमा नवीकरण गर्नुपर्ने बीमालेखको हकमा मात्र यस्तो व्यवस्था गरेको हो । गत चैत ११ गते यतादेखि नवीकरण गर्नुपर्ने बीमालेख जेठ मसान्तसम्ममा नवीकरण गर्न सकिने समितिको भनाइ छ ।

नयाँ निर्देशनअनुसार बीमितले जेठ मसान्तसम्ममा विनाब्याज बीमाशुल्क भुक्तानी गर्न पाउनेछन् । साथै, बीमालेख पनि व्यतीत (ल्याप्स) नहुने बताइएको छ ।

समितिले गत चैतमा एक परिपत्र जारी गर्दै लकडाउन अवधिमा म्याद सकिने जीवन बीमालेख वैशाख मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको थियो । तर, अहिले लकडाउन बढ्दै गएको र सरकारले पनि निर्देशन दिएपछि म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

जीवन बीमा गर्ने व्यक्तिले त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमाशुल्कको किस्ता तिर्नुपर्ने हुन्छ । बीमितले तोकिएको समयमा बीमाशुल्क तिरेनन् भने निजको बीमालेख ल्याप्स हुन्छ । तर, बीमितले पछि ब्याजसहित बीमाशुल्क तिरेर उक्त बीमालेख पुनः सुचारु गर्न सक्नेछन् । हाललाई भने उक्त व्यवस्था लागू नहुने र यस अवधिमा बीमालेखको अवधि सकिए पनि ल्याप्स नहुने कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

समितिले निर्जीवन बीमातर्फ लकडाउन अवधिमा म्याद सकिने बीमालेखको म्याद स्वतः थप गर्न मिल्ने व्यवस्था पनि गरेको छ । यद्यपि, त्यसका लागि बीमितले लिखित निवेदन दिनुपर्ने छ । बीमितले दिएको निवेदनका आधारमा कम्पनीले लकडाउन सकिएको १५ दिनभित्र बीमालेख नवीकरण गर्न मिल्ने व्यवस्था गर्नुपर्ने समितिको निर्देशन छ । साथै, त्यस अवधिसम्म पहिलेकै बीमालेखले नै काम गर्ने समितिको भनाइ छ । बीमितले अनलाइनबाट लिखित अनुरोध गरेमा पनि त्यसलाई मान्यता दिनुपर्ने बताइएको छ ।

समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्ने म्याद पनि पुनः थप गरेर असार मसान्तसम्म पुर्‍याएको छ । यसअघि समितिले यस्तो इजाजतपत्रको नवीकरण गर्ने म्याद वैशाख मसान्तसम्म पुर्‍याएको थियो । अहिले लकडाउन बढेपछि त्यसको म्याद थप गरिएको समितिको भनाइ छ ।

अभिकर्ता र सर्भेयरले हरेक वर्ष चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने हुन्छ । यदि, त्यो म्यादमा नवीकरण गर्न नसकिएमा जरीवाना तिरेर असोज मसान्तसम्म इजाजतपत्रको नवीकरण गर्न सकिन्छ । तर, हाललाई असारसम्म जरीवानाविना नै इजाजतपत्र नवीकरण गर्न सकिने बताइएको छ ।

निर्जीवन बीमा कम्पनीले अहिले नै दाबी भुक्तानीका लागि निवेदन आएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने बताइएको छ । क्षति यकिन गरी दाबी भुक्तान गर्ने समितिको निर्देशन छ ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेलले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै बीमाशुल्क भुक्तानी र अभिकर्ता तथा सर्भेयरको इजाजपत्र नवीकरण गर्ने म्याद पुनः थप गरिएको बताए । ‘कोरोना नियन्त्रण गर्न नेपालभर लकडाउन लगाइएको छ । फलस्वरूप मानिसहरू बाहिर निस्कन पाएका छैनन्,’ उनले भने, ‘त्यसैले म्याद थपको निर्णय गरेका हौं । लकडाउन लम्बियो भने उपयुक्त निर्णय लिन पनि सकिन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)