वैशाख २२, धनगढी । कोभिड–१९ का कारण समस्यामा परेका परिवारलाई राहत वितरणका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई १६ करोड रुपैयाँ उपलब्ध गराएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसअघि कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष सञ्चालन तथा राहत वितरण सम्बन्धी मापदण्ड तयार पारेर प्रदेशका ८८ वटै स्थानीय तहमा राहत सामग्री पुग्नेगरी रकम उपलब्ध गराइसकिएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताए । अति विपन्न, असहाय र ज्यालादार मजदूरका परिवारलाई प्राथमिकतामा राखेर सो राहत वितरण गर्नुपर्ने मापदण्ड बनाइएको हो ।
सोही मापदण्ड अनुसार लक्षित घरपरिवारको लगत संकलनको काम भइरहेको गोदावरी नगरपालिका कैलालीका प्रवक्ता शर्मानन्द भट्टले बताए । १२ वडा रहेको गोदावरीका लागि झण्डै ४० लाख रुपैयाँ प्राप्त भएको बताइएको छ । प्रतिवडा तीन लाखभन्दा बढी रकम भागमा परेकाले सोही अनुरूप विपन्न र गरीब परिवारको लगत संकलनको काम भइरहेको वडा नं एकका वडा अध्यक्ष समेत रहेका भट्टले जानकारी दिए ।
प्रदेश सरकारले स्थापना गरेको ४० करोडको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषबाट स्थानीय तहलाई राहत वितरण लागि भन्दै १६ करोड निकासा गरिएको थियो । प्रदेश सरकारको स्थापना गरेको कोषमा यहाँ सञ्चालित बैंक तथा वित्तीय संस्थाबाट गरी झण्डै १ करोड ५० लाख प्राप्त भएको प्रदेश सरकारका मुख्यसचिव बालकृष्ण घिमिरेले जानकारी दिए ।