वैशाख २२, धनगढी । लकडाउन जारी रहेकै बेला सुदूरपश्चिममा तीन ठूला आयोजना निर्माणको काम अघि बढाएको छ । मोहनापुल अतरिया ६ लेन सडक, राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाइँ आयोजना तथा त्रिदेशीय सडक योजना महाकाली कोरिडोर निर्माणको काम १ महीना लामो बन्दपछि पुनः शुरू गरिएको हो ।
सडक, पुल र सिचाइँ आयोजनाको काम सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर निर्माण थालिएको योजना कार्यालयको भनाइ छ । आर्थिक वर्ष २०६५/ ६६ देखि निर्माण शुरू भएको कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला तिंकर ४२५ किलोमिटर त्रिदेशीय सडक विभिन्न ६ प्याकेजमा निर्माण गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला र निर्माण कम्पनीसँग समन्वय गरेर काम सुरु गरिएको महाकाली कोरिडोर योजना कार्यालय दार्चुलाका योजना प्रमुख अच्युतविलास पन्तले जानकारी गराए ।
‘कोभिड १९ का कारण प्रभावित भएको आयोजनाको काम पुनः शुरू भएको छ,’ उनले भने । १२५ किलोमिटर ट्र्याक खोलिसकिएको महाकाली कोरिडोर अन्तर्गत दार्चुलामा ११२, बैतडीमा १४४, डडेलधुरामा ५८ तथा कञ्चनपुरमा ११ किलोमिटर सडक खण्ड पर्छ ।
कुल रू.१५ अर्ब लागत अनुमान गरिएको कोरिडोर अन्तर्गत अहिले ३३ करोडमा दार्चुलामा ५२, बैतडीमा ६२ र डडेलधुरामा ११ किलोमिटर ट्र्याक खोलिएको योजना प्रमुख पन्तले बताए ।
अहिले केही प्याकेजको काम थाल्न निर्माण व्यवसायीलाई काममा खटाइएको छ । यो आयोजनालाई विसं २०८० मा सक्ने लक्ष्य छ ।त्यस्तै मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण पनि शुरू गरिएको छ ।
२४ महीनाभित्र निर्माण सम्पन्न गर्नेगरी धनगढीको मोहनापुलदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर निर्माण ठेक्का रू.६४ करोड २५ लाखमा शर्मा अमर नागार्जुन जेभी, बोराडाँडीदेखि मोहनपुरसम्म लुम्बिनी राजेन्द्र जेभीलाइ ५० करोड २० लाख र मोहनपुरदेखि अत्तरियासम्म लामा राजेन्द्रलाई रू.६४ करोड ५४ लाखमा ठेक्का सम्झौता गरिएकोमा निर्माण शुरू भएको ३ वर्षमा ५२ प्रतिशत मात्र प्रगति भएको छ ।
बाँकी ४८ प्रतिशत प्रगति आगामी माघसम्म गर्नेगरी सम्झौता अवधि थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताए । जिल्ला प्रशासन कार्यालय कैलाली र तीनओटै निर्माण कम्पनीसँग समन्वय गरेर अहिले निर्माणको काम अघि बढेको उनले जानकारी दिए । कुल साढे १४ किलोमिटर सडक खण्डभित्र तीनओटा पुल समेत निर्माण हुनेछ ।
त्यस्तै लकडाउनकै बीचमा राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाइँ आयोजना निर्माणको काम पनि अघि बढाइएको छ । विश्व बैंक, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानबाट विसं २०६६ देखि निर्माण शुरू गरिएको सो आयोजनाको हाल १८ स्थानमा नदी नियन्त्रणको काम हुँदै आएको छ ।
कैलालीमा झण्डै ३८ हजार हेक्टर जमीनमा सिचाइँ सुविधा पुर्याउने उद्देश्यले निर्माणाधीन आयोजनाको कुल लागत २७ अर्ब छ । सन् २०२३ को ३१ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्यअनुरूप काम भइरहेकोमा कोभिड -१९ का कारण १ महीना आयोजनाको काम रोकिन पुगेको आयोजना कार्यालय टीकापुरका सिनियर डिभिजन इन्जिनियर बद्रीबहादुर कार्कीले बताए ।