ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकको ब्याज आम्दानी गुम्दै

२०७७ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारी तथा लकडाउनको प्रत्यक्ष असर नेपाल राष्ट्र बैंकले अन्तरराष्ट्रिय बजारबाट प्राप्त गर्ने ब्याज आम्दानीमा पर्ने भएको छ ।

अर्थतन्त्रलाई जोगाउन अधिकांश मुलुकले ब्याजदर ह्वात्तै घटाएपछि नेपाल राष्ट्र बैंकले विदेशी बैंकमा गर्ने गरेको निक्षेप लगानीबाट प्राप्त हुने अर्बौं ब्याज आम्दानी गुम्ने भएको हो । चालू आवमा उक्त ब्याज आम्दानी रू. ७ अर्बले घटेर करीब २८ अर्ब रुपैयाँमात्र हुने केन्द्रीय बैंकको अनुमान छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा विदेशी मुद्रा तथा सेक्युरिटी लगानीबाट रू.३५ अर्ब ७७ करोड ब्याज आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा ३२ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी भएको थियो ।

तर, चालू आवमा भने यस्तो ब्याज आम्दानी झन्डै रू. ७ अर्ब गुम्ने अवस्था आएको राष्ट्र बैंकको भनाइ छ । कोरोनाका कारण विश्व अर्थतन्त्र प्रभावित भएसँगै प्रत्येक देशले निक्षेपको ब्याजदर घटाएका छन् भने कतिपय देशमा त शून्य ब्याजदर कायम भएको छ ।

नेपालले विशेष गरेर अमेरिकी डलर अमेिरका, सिंगापुरलगायत मुलुकमा र भारू भारतमा निक्षेपका रूपमा लगानी गरेको छ । ती देशमा ब्याजदर घटेकाले राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेपबाट प्राप्त गर्ने ब्याज गुमाउने देखिएको हो ।

हाल अमेरिकाले निक्षेपको ब्याजदर ह्वात्तै घटाएर शून्यदेखि शून्य दशमलव २५ प्रतिशत मात्र कायम गरेको छ । यसअघि राष्ट्र बैंकले विदेशी विनिमय रिजर्भलाई अमेरिकाको केन्द्रीय बैंकमा २ देखि २ दशमलव २५ प्रतिशत ब्याजदरमा निक्षेपमा लगानी गरेको प्रवक्ता डा गुणाकर भट्टले बताए ।

विश्व बजारमा ब्याजदर ओरालो लाग्दा राष्ट्र बैंक र सरकार दुवैले केही घाटा बेहोर्नुपर्ने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् । उनका अनुसार कोरोनाको असर सबै देशमा परेकाले केन्द्रीय बैंकले गरेको लगानीबाट हुने ब्याज आम्दानी चालू आवको अन्त्यसम्ममा स्वात्तै घट्ने अनुमान ग्रिएको छ ।

‘ब्याज आम्दानीको ठूलो अंश स्वदेशमा गरेको ट्रेजरी विल्स, बोन्डलगायत सेक्युरिटीको लगानीबाट भन्दा अन्तरराष्ट्रिय वित्तीय संस्थामा विदेशी विनिमय सञ्चितिमा रहेको विदेशी मुद्रा तथा सेक्युरिटीबाट बढी प्राप्त हुन्छ,’ डेपुटी गभर्नर शिवाकोटीले अभियानसँग भने, ‘ब्याज आम्दानी घटेपछि अब नेपाल राष्ट्र बैंकको वार्षिक नाफासमेत प्रभावित हुन्छ र नेपाल सरकारलाई दिने रकम पनि घट्न सक्छ ।’

उनका अनुसार यस वर्ष राष्ट्र बैंकको ब्याज आम्दानी रू.२८ अर्ब देखि रू.२९ अर्बमा सीमित हुने भएको छ । अर्थात्, करीब ७ अर्ब रुपैयाँ गुम्ने अनुमान छ । गत वर्ष ब्याज आम्दानीबाट नाफा राम्रो भएको तर अब यसपटक नाफामा कमी आउने बताउँदै उनले भने, ‘प्रत्येक वर्ष भएको नाफा राष्ट्र बैंकको विभिन्न कोषमा राखेर बाँकी सरकारको खातामा राखिन्छ ।’

राष्ट्र बैंकले प्राप्त गरेको नाफाबाट गतवर्ष रू. १२ अर्ब रुपैयाँ र अघिल्लो वर्ष रू. ९ अर्ब रुपैयाँ सरकारलाई दिन सकिएको उनले जानकारी दिए । यस्तो अवस्थाले यो वर्ष र आगामी वर्षसम्म पनि ब्याज आम्दानी धेरै गुम्न सक्ने उनको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता डा भट्ट कोरोनाको विश्वव्यापी असरले सबै केन्द्रीय बैंकले ब्याजदर घटाएकाले अब नेपालकोे विदेशी विनिमय सञ्चितिको लगानीबाट प्राप्त हुने प्रतिफलमा संकुचन आउने बताए । नेपालको अधिकांश विदेशी विनिमय सञ्चिति डलरमा छ ।

यो प्रायः अमेरिकाको फेडेरल रिजर्भमा राखिने बताउँदै उनले भने, ‘अमेरिकाले फेडेरल फन्ड दर घटाएको छ । अमेरिकाले निक्षेपको ब्याजदर शून्य प्रतिशतदेखि शून्य दशमलव २५ प्रतिशत मात्र कायम गरेको छ । यस्तै हाम्रो लगानी भारतमा पनि छ । भारतको रिजर्व बैंक (आरबीआई) ले ब्याजदर घटाएको छ ।’

अर्थतन्त्रलाई पुनरुत्थान गर्न सबैजसो मुलुकले विभिन्न राहत प्याकेज ल्याउँदा ब्याजदर घटाएको भट्टको भनाइ छ । नेपालमा समेत बैंकदर ६ प्रतिशतबाट ५ प्रतिशतमा झारेको उदाहरण दिँदै उनले विश्व भर बैंकदर घटेकाले निक्षेपको ब्याजदर कम भएको बताए । विश्व अर्थतन्त्रमा परेको यो धक्का लामो समयसम्म रहने उनको भनाइ थियो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेल नेपालले गत माघसम्म राम्रै ब्याज आम्दानी गरेको तर अब आम्दानी घट्ने बताउँछन् । ‘विदेशी विनिमय सञ्चिति १० महीनाको वस्तु आयात र ८ दशमलव ८ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । हामीसँग रिजर्भ घटेको छैन । तर, यसबाट पाउने प्रतिफल भने घट्ने भएको छ,’ उनले भने ।

२०७६ फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति रू.११ खर्ब ३६ अर्ब ५१ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ६० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति फागुन मसान्तमा रू.९ खर्ब ८३ अर्ब ५५ करोड पुगेको छ । २०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ३ प्रतिशत रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)