ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राहत प्याकेजका लागि पर्यटन उद्योगमा तथ्यांक अभाव

२०७७ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । पर्यटन उद्योगको एकीकृत तथ्यांकको अभावले राहत प्याकेजमा समस्या पर्ने देखिएको छ । कोभिड–१९ र जारी लकडाउनले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भए पनि यसमा आधिकारिक तथ्यांकको अभाव देखिएको नेपाल पर्यटन बोर्डले बताएको छ ।

कोरोनापछिको नेपाली पर्यटनका विषयमा नेपाल पर्यटन बोर्डले सोमवार गरेको सञ्चारकर्मीसँगको भिडियो संवादमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा आधिकारिक रूपमा रू. १ खर्ब ६० अर्ब लगानी र करीब ३ लाख रोजगारी सृजना गरेको बोर्डले गरेको अध्ययनमा देखिएको बताए ।

तर, विभिन्न संघसंस्थाको भनाइमा नेपालको पर्यटन क्षेत्रमा सो रकमभन्दा बढी लगानी भएको छ र ८ देखि १० लाख रोजगारी सृजना भएको छ । सरकारले यसअघि पनि यस उद्योगमा भएको कुल लगानी, रोजगारीका विषयमा तथ्यांक माग गरे पनि व्यवसायीले तथ्यांक दिन सकेका थिएनन् । तथ्यांक उपलब्ध नभएपछि कोरोनाबाट पर्यटन उद्योगलाई राहतको व्यवस्था गर्न समस्या हुने देखिएको छ ।

बोर्डले गरेको अध्ययनमा ८३७ ओटा फर्म सहभागी थिए । उनीहरूबाट प्राप्त तथ्यांक हेर्दा करीब रू. ६० अर्ब बैंकको ऋण तथा मासिक १ अब रुपैयाँजति किस्ता तथा ब्याज तिर्नुपर्ने देखिएको रेग्मीले बताए । ‘सरकारले बजेटमार्फत यो क्षेत्रलाई राहत प्याकेज ल्याउँदा आधिकारिक रूपमा दर्ता भएका तथा कर तिरेकोलाई सम्बोधन गर्ने गरी ल्याउने हो । त्यसैले दर्ता नभएका छुट्न सक्छन्,’ उनले भने । डा. रेग्मीले अनौपचारिक रूपमा गरिएको लगानी र अप्रत्यक्ष रोजगारी भने बढ्न सक्ने बताए ।

पर्यटन बोर्डले लकडाउनपछि होटेल, एअरलायन्स, ट्राभल टूर्स, माउन्टेनियरिङ,  र्‍याफ्टिङ र अन्य गरी पर्यटन उद्योगलाई सात श्रेणीमा विभाजन गरेको छ । यही आधारमा बोर्डले यस क्षेत्रमा भएको लगानी, बैंक ऋण तथा मासिक किस्ता र ब्याज तथा यो क्षेत्रले सृजना गरेको रोजगारीको अध्ययन गरेको थियो ।

छलफलमा डा. रेग्मीले नेपालको पर्यटनलाई पहिलो चरणमा बचाउने खालको रणनीति र त्यसपछि पूर्ववत् अवस्थामा फर्काउने दीर्घकालीन रणनीति आवश्यक भएको बताए । उनले आफूहरूले गरेको अध्ययन तथा विभिन्न संघसंस्थाका सुझावअनुसार राहत प्याकेजका लागि पर्यटन मन्त्रालयमा सुझाव पेश गरिसकेको जानकारी दिए । उनले नेपालको पर्यटन प्रर्वद्धनका लागि पहिले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने र सोका लागि सरकारले आउने बजेटमा त्यसको व्यवस्था गर्नुपर्ने बताए ।

तारे होटेलहरू ६ महीना बन्द गर्ने हानको निर्णय
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनपछि प्रत्यक्ष मार परेको भन्दै ठूला लगानीका तारे होटेलहरूले ६ महीनाका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतवार तारे होटेलका सञ्चालकहरूको भेलाले ठूला होटेलहरू ठप्प भएको भन्दै वैशाख १ गतेदेखि लागू हुने गरी ६ महीनाका लागि सबै तारे होटेल बन्द गर्ने निर्णय गरेको हो ।

लकडाउनपछि यसको प्रत्यक्ष मार पर्यटन उद्योगमा परेको र पर्यटनमा नकारात्मक असर दूरगामी पर्ने भन्दै आगामी १ वर्षसम्म कायम रहने निष्कर्षका आधारमा तारे होटेलहरू बन्द गर्नुपरेको होटल संघ नेपालले जानकारी दिएको छ ।

संघले श्रमिक तथा कामदारलाई वैशाख १ गतेबाट लागू हुने गरी ६ महीनासम्म प्रत्यक महीना आधारभूत तलबको १२ दशमलव ५ प्रतिशतका दरले हुने रकम तथा सेवाशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । १२ दशमलव ५ प्रतिशतका दरले पारिश्रमिक लिन श्रमिक युनियन सहमत नभएको अवस्थामा सो समयदेखि नै सबै सदस्य होटेलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्णरूपमा बिदा दिने निर्णय गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)