ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा सशर्त उद्योग खोल्न दिने निर्णय

जेठ ५ सम्म लकडाउन, जेठ १८ सम्म हवाई उडान बन्द

२०७७ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउँदै सरकारले शर्तसहित उद्योगहरू खोल्न दिने गरी केही खुकुलो बनाएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा शर्तसहित अत्यावश्यक र अन्य उद्योगहरू सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारको बुधबारको निर्णयसँगै लकडाउनपछि बन्द भएका अधिकांश उद्योगहरू सञ्चालनमा आउने भएका छन् । अब शर्तसहित औषधिजन्य वस्तुको उत्पादन तथा विक्रीवितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रीवितरण, निर्माणसम्बन्धी (ईंटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन तथा कृषिजन्य वस्तुको उत्पादन र विक्रीवितरण गर्न पाइने भएको छ ।

पानी प्रशोधन, साबुन उत्पादन र सोको प्याकेजिङ गर्ने उद्योग, ग्यास बोटलिङ उद्योग, साना तथा घरेलु उद्योग,  निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू, सिमेन्ट, डण्डीजस्ता निर्माणसम्बन्धी उद्योगहरू पनि सञ्चालन गर्न पाइने भएको छ ।

यसअघि मंगलवार बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप्न तथा मोडालिटी परिवर्तन गर्न सुझाव दिएको थियो । सोही सुझावका आधारमा बुधवारको मन्त्रिपरिषद् बैठकले उद्योग परिसरलाई अनिवार्य स्यानिटाइज गरी श्रमिकहरूको स्वास्थ्यसुरक्षा तथा सामाजिक दुरी कायम गरी अत्यावश्यक खाद्य उद्योग, विकास निर्माणसँग सम्बन्धित उद्योगहरू सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

‘उद्योग प्रतिष्ठानसँगै राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्ने, जलविद्युत्, खानेपानी, विमानस्थल, सडक तथा पुल निर्माणका आयोजनाको काम पनि सुचारु गर्न दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए ।

विकास आयोजनामा काम गर्ने श्रमिकहरूको दैनिक स्वास्थ्य परीक्षण गर्नुपर्ने तथा उनीहरूलाई एकै ठाउँमा वास बस्ने व्यवस्था मिलाउनुपर्ने सरकारले बताएको छ ।

खतिवडाका अनुसार खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य गर्न पाइनेछ भने पशुपक्षी पालन, माछापालन, कुखुरापालन र विक्रीवितरण, फलफूल तरकारी, दुग्ध र दुग्धजन्य पदार्थको उत्पादन, संकलन, भण्डारण र विक्रीवितरण गर्न पनि अनुमति दिइएको छ । सरकारले लकडाउनका अवधिमा ढुवानी सेवा थप सहज बनाएको छ ।

कृषि तथा पशुपक्षी र स्वास्थ्यसम्बन्धी क्षेत्रमा प्रयोग हुने, भन्सारबाट जाँचपास भइआएका तथा उद्योगबाट लोड भई मालसामान बोकेका र फर्केका, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोकेका, औद्योगिक कच्चा पदार्थ र तयारी माल बोकेका तथा विकास आयोजनामा प्रयोग हुने उपकरणहरू लाने ल्याउने कार्य र निर्माण सामग्री बोकेका ढुवानी साधनको आवागमन गर्न पाइने भएको छ । सामान बोकेका गाडी निःसंक्रमित गरेर चलाउनुपर्नेछ भने चालक र सहचालक दुवैको स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्नेछ । त्यस्तै, बढीमा १० जना मजदूरले काम गर्ने शहरी पूर्वाधारको काम पनि सुचारु गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा धितोपत्र बजारलाई बढीमा एक तिहाइ कर्मचारीमार्फत सेवा प्रदान गर्न सक्ने गरी सञ्चालनको अनुमति दिएको छ । लकडाउन भएयता बैंक तथा वित्तीय संस्थाका सीमित शाखाहरू मात्र सञ्चालनमा थिए ।

अत्यावश्यक ढुवानीका लागि हिँड्ने सवारीसाधनका श्रमिकहरूकोलागि राजमार्ग तथा सहायक मार्गमा ५० किलो मिटरको दुरीमा स्थानीय सरकारको अनुमति लिएर प्याकेटमा उपलब्ध गराउने गरी खाजा तथा खानाका लागि होटलहरू सञ्चालन गर्न पनि दिइने भएको छ । तर, शैक्षिक संस्था, गैर खाद्यवस्तु विक्री गर्ने व्यावसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुनलगायत मान्छेको बढी भीड हुने अन्य क्षेत्र भने अर्को  सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछन् ।

सरकारको निर्णयसँगै मध्य फागुनदेखि बन्द रहेका चुनढुंगा खानी उत्खनन र बन्द सिमेन्ट उद्योग खुलाउन सहज हुने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले बताए । ‘ढिलै भए पनि सरकारले सकारात्मक निर्णय गरेको छ,’ उनले बताए ।

उद्योग तथा कच्चा पदार्थका लागि खानी सञ्चालन गर्न सहयोग पुग्ने भन्दै थापाले अबको एक हप्ताभित्रमा सिमेन्ट उत्पादन र चुनढुंगा उत्खनन कार्यलाई अघि बढाउने बताए । उनले भने, ‘लकडाउनको अवधिमा कर्मचारी तथा श्रमिकहरू घरमा गएको हुँदा उनीहरूलाई ल्याउन, पेट्रोलियम पदार्थका साथै मेसिनहरू जोहो गर्न केही समय लागे पनि उद्योग खोल्न तयार छौं ।’

लकडाउनका कारण आपूर्ति व्यवस्थामा अवरोध आउँदा निर्माण सामग्रीका उद्योगले नयाँ उत्पादन गर्न पाएका छैनन् भने पुरानो उत्पादन उद्योगमै थन्क्याउन बाध्य भएका छन् ।  बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगीहरूका अनुसार माग भएका स्थानसम्म तयारी सामग्री पुर्‍याउन सकिएको छैन । बारा–पर्सा कोरिडोरमा सिमेन्ट र डन्डीका २ दर्जनभन्दा बढी उद्योग छन् । अधिकांश उद्योगमा तयारी उत्पादन भए पनि आयोजनास्थलसम्म पठाउन नसकिएको उद्यमीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)