ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाले अर्थतन्त्रमा पारेको असर अध्ययन गर्दै प्रमुख प्रतिपक्ष

२०७७ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस र लकडाउनबाट मुलुकको अर्थतन्त्रमा परेको असर र आगामी आर्थिक वर्षको बजेटले लिनुपर्ने प्राथमिकताबारे अध्ययन थालेको छ । अध्ययनबाट प्राप्त निष्कर्षसहित सरकारलाई सुझाव दिने तथा संसद्मा त्यसैअनुसार मुद्दा उठाउने जानकारी नेपाली कांग्रेसले दिएको छ ।

कोरोना र लकडाउनबाट परेको असरको विश्लेषण तथा आवश्यक दृष्टिकोण निर्माण गर्ने उद्देश्यसहित कांग्रेसले बुधवार पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको हो ।

समितिले कोरोना भाइरस र लकडाउनले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गर्नेछ । सोही अध्ययनमार्फत कांगे्रसले अबको अर्थतन्त्र कस्तो बनाउने, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउने भन्ने विषयमा आफ्नो धारण बनाउने र सरकारलाई सुझाव दिनेछ । समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव दिने, अल्पकालीन रूपमा आगामी बजेटले लिनुपर्ने प्राथमिकता तय गर्ने र कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिष्कृत एवम् थप प्रभावकारी बनाउने कांग्रेसले बताएको छ । कांग्रेसले कोरोनाले विभिन्न क्षेत्रमा पारेको असरलाई अध्ययन गर्न विभिन्न समिति बनाउने निर्णय वैशाख १७ गते गरेको थियो । सोही निर्णय अनसार बुधवार समिति गठन गरिएको हो ।

कांग्रेसले विगतमा अर्थ मन्त्रालयमा मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, योजना आयोगमा उपाध्यक्ष भएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका व्यक्तित्वहरूलाई समेटेर समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वअर्थमन्त्री महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, उदयशमशेर राणा र भरत शाह रहेका छन् । डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले पनि समितिको सदस्य रहेका छन् ।

समितिका संयोजक डा. महतले अबको केही दिनमै समितिको बैठक बसेर काम शुरू गरिने बताए । समितिले अर्थतन्त्र सुधारका लागि आवश्यक उपायहरू पहिचान गर्ने उनको
भनाइ छ ।

‘अबको मुलुकको अर्थतन्त्र सुधार गर्न अल्पकालीन र दीर्घकालीन रूपमा केकस्ता कदम चाल्नुपर्छ, त्यस विषयमा अध्ययन गर्छाैं,’ उनले आर्थिक अभियानसँग भने, ‘विशेषगरी कोरोना भाइरसका कारण अर्थतन्त्र खुम्चिएको अवस्थामा अबको नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउने भन्ने विषयमा अध्ययन गरेर सरकारलाई सुझाव दिन्छौं ।’

समितिका सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले संकटमा प्रतिपक्ष दलको भूमिका पनि सरकारकै बराबर हुने भएकाले यस्तो कदम उठाएको बताए । ‘अहिले नेपालमा यतिका ठूलो संकट आएको छ । यो संकटबाट मुक्ति पाउन प्रतिपक्ष दलको पनि उत्तिकै भूमिका हुन्छ,’ उनले भने, ‘यो बेला सरकारलाई सकारात्मक आलोचना, सही निर्देशन र सुझाव दिन आवश्यक छ ।’

विशेषगरी कोरोनाले खुम्च्याएको अर्थतन्त्र उकास्ने विषयमा केन्द्रित रहेर अध्ययन गरिने उनले बताए । ‘अबको बजेटले कुनकुन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ, त्यस विषयमा अध्ययन गरेर सुझाव दिन्छौं,’ उनले भने, ‘कोरोनाका कारण बेरोजगारीको समस्या आउने, खाद्यान्न अभाव हुने र अर्थतन्त्र खुम्चिने सम्भावना रहेको छ । यस अवस्थामा आम युवा तथा नेपाली नागरिकमा निराशा नआउने नीति ल्याउन सरकारलाई आवश्यक उपायसहित सुझाव दिन्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)