ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन खाता खोल्न बैंकहरूको जोड

‘कागजरहित बैंकिङ शुरूआत गर्ने अवसर’

२०७७ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । मुलुक लकडाउनमा रहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबीच अनलाइन कारोबार गर्न तथा अनलाइनबाट नै नयाँ बचत तथा मुद्दती खाता खोल्ने सुविधा दिन प्रतिस्पर्धा चलेको छ ।

अधिकांश बैंकले लकडाउनअघि नै अनलाइन खाता खोल्ने सुविधा दिए पनि अहिले लकडाउनका बेलामा भने बैंक आउन तथा सेवा दिन असहज भएकाले अनलाइनबाट नै खाता खोल्न जोड दिएका छन् र अनलाइन खातालाई लक्षित गरी थप प्रचारप्रसार गरेका छन् ।

नेपालमा अनलाइनबाट खाता खोल्ने सुविधा नबिल बैंकले ८ वर्षअघि पहिलोपटक शुरू गरेको थियो । तर, अहिले लकडाउनमा भने अनलाइन खातालाई नै सबै बैंकले बढी प्राथमिकता दिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । हाल नबिल बैंक, एनआईसी एशिया, सिटिजन्स बैंक, एनएमबी बैंकलगायतले अनलाइनबाट खोल्ने खातालाई प्रभावकारी गर्न थप प्रचारमा जुटेका हुन् ।

केही बैंकले दिँदै आएको यस्तो सुविधा विगतमा विदेशमा भएका नेपालीले बढी उपयोग गरेका थिए । नेपालभित्रका ग्राहकहरू भने बैंकमै गएर खाता खोल्ने प्रचलन बढी थियो । तर, लकडाउनका कारण ग्राहकहरू बैंकसम्म आइपुग्न नसक्ने भएकाले धेरै बैंकले अनलाइनबाट खाता खोल्ने दिने व्यवस्था मिलाएका छन् ।

सानिमा बैंकले करीब ६ वर्षअघिदेखि यस्तो खाता सञ्चालनमा ल्याएको थियो र त्यो खासै उपयोग भएन । यति बेला भने अनलाइनबाट खाता खोल्न बढी जोड दिएको बैंकका अध्यक्षसमेत रहेका अध्यक्ष दाहालले बताए । उनका अनुसार यसअघि अनलाइनबाट विदेशमा भएका नेपालीबाहेक नेपालभित्र फाट्टफुट्टले मात्र खाता खोल्ने गर्थे ।

अहिले भने घरबाटै अनलाइन खाता खोल्ने कार्य प्रभावकारी भएको दाहालको भनाइ छ । यसरी खोलेको खातामा दोहोरो कारोबार गर्न भने एकपटक बैंकमा उपस्थित हुनैपर्ने उनी बताउँछन् । ‘खाता खोलेपछि खातामा रकम जम्मा गर्न पाइन्छ तर झिक्न तथा भुक्तानी गर्न भने एकपटक बैंकमा उपस्थित भएर ग्राहक पहिचान फारम बुझाई खातावाला व्यक्ति हो वा होइन भनेर प्रमाणित गर्नुपर्छ,’ उनले भने, ‘अब बंैकहरूले क्रमशः कागजरहित कारोबारमा फड्को मार्नुपर्छ । सबै कारोबार डिजिटलाइजेशन गरेर कागजरहित बैंकिङको थालनी गर्ने यो अवसर हो ।’

सिटिजन्स बैंक इन्टरनेशनलले पनि १ सातादेखि ग्राहकले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकको वेबसाइटमा गएर अनलाइन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बताउँछन् । १ वर्षअघि अनलाइनबाट विदेशमा भएका नेपालीले मासिक करीब १ सय जनाले खाता खोल्ने गरेको पोखरेलको भनाइ छ ।

अनलाइनबाट खोलिने खाता सुरक्षित तथा भरपर्दो भएको बैंकरहरूको दाबी छ । ग्राहकले खाता खोलेपछि पासवर्डलगायत महत्त्वपूर्ण सूचना सुरक्षित राखे अनलाइन खाताको कारोबार सुरक्षित हुने सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बताउँछन् । उनका अनुसार अनलाइन खाता खोल्नु सुरक्षित, छिटो, छरितो, चुस्त छ ।

एनआईसी एशिया बैंकले पनि घरैबाट निःशुल्क अनलाइन खात खोल्ने सुविधा दिएको छ । विगतदेखि नै अनलाइन सुविधा दिँदै आएको यस बैंकले लकडाउनलाई केन्द्रित गरेर थप जोड दिएको बैंकका चिफ एक्सपेरियन्स ट्रान्सफरमिशन अफिसर विशाल सिग्देलले बताए । उनका अनुसार खाता खोल्न बैंकको शाखासम्म पुग्ने समयको बचत पनि भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधिमा लगानी गरी सुरक्षित डिजिटल कारोबार गर्नतर्फ नेपाल राष्ट्र बैंकले पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । बैंकहरूले अनलाइन खाता खोल्नु र सञ्चालन गर्नु सुरक्षित भएको औंल्याउँदै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी यस्तो माध्यम प्रभावकारी हुने बताउँछन् ।

‘पछिल्लो पुस्ता प्रविधिसँग परिचित हुने भएकाले यसको प्रयोग बढाउँदै जानुपर्छ,’ शिवाकोटीले अभियानसँग भने, ‘ग्राहकलाई अनलाइन कारोबारमा बानी पार्न बैंंकहरूले सहजीकरण गर्नुपर्छ । तर, अनलाइनलाई अनिवार्य गरेर अहिल्यै कागजरहित बैंकिङ बनाइहाल्न सकिँदैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)