ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको कारण २५६४ औं बुद्ध जयन्ति औपचारिक कार्यक्रम विना मनाइदैं

साँझ ७ बजे घर– घरमा दीप प्रज्वलन गर्न आग्रह

२०७७ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २५, काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको कारण औपचारिक कार्यक्रम विना नै बिहीवार २५६४ औं बुद्ध जयन्ती मनाइदैं छ । कोरोनाकै कारण पर्यटन वर्षलाई मध्यनजर गर्दै गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्ने भनिएको तेश्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन पनि स्थगति भएको छ ।

 ‘लुम्बिनी : भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्वशान्तिको मुहान’ भन्ने  नाराका साथ वैशाख २२  र २३ गते तेश्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा बैशाख २५ गते वैशाख शूक्ल पूर्णिमा दिन मनाइने बुद्धजयन्ती समारोह आयोजना गर्ने कार्यक्रम थियो ।

यसैबीच सरकारले बुद्ध जयन्तिको अवसरमा कोरोना महामारी विरुद्धको लडाईंमा अग्रभागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मान एवं कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै बिहीवार साँझ ७ बजे घर– घरमा दीप प्रज्वलन गर्न  सवैलाई आग्रह गरेको छ । 

बुद्ध जयन्तिका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवाले शुभकामना सन्देश दिंदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गर्न आग्रह गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताउनु भएको छ ।

बुद्ध जयन्तिले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमंग र प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ । 

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको उहाँको भनाइ छ । 

प्रधानमन्त्रिले सन्देशमा सिंगो विश्व कोरोना भाइरसको संक्रमण र महामारीबाट प्रभावित भएकोले बुद्ध जयन्ति तथा  अन्तरराष्ट्रिय बुद्ध सम्मेलन स्थगित भएको उल्लेख गर्दै यो महामारी विरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यवद्धता प्रदर्शन गर्न हामीलाई यस दिनले थप प्रेरित गर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दैे शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्न तथा अशान्ति, हत्या र हिंसाको विरोध गर्ने अपिल गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘विगतका वर्षहरु अशान्ति र द्वन्द्वबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन ।’

शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ,’ देउवाले सन्देशमा भनेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले आयोजना गर्ने भनिएका विभिन्न कार्यक्रम कोरोनाको कारण स्थगित गर्नु परेको उल्लेख गर्दै भौतिक तथा सामाजिक दूरी कायम गर्दै बुद्ध जयन्ती मनाउन आग्रह गरेका छन् । 

सरकारले बुद्धको शिक्षालाई बुद्धकै जन्मभूमिमा सम्पूर्ण जगतको कल्याण तथा विश्वमा अहिंसा, भाइचारा र सद्भाव बढाउने उद्देश्यले सरकारले अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने तयारी गरेको थियो । 

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे बौद्ध भिक्षु, भिक्षुणी तथा लामाले विश्व शान्तिको कामना गर्दे प्रार्थना एवं पाठ पूजासहित २ हजार ५६४ ओटा दिप प्रज्वलन गर्ने भएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)