ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न अन्योल

१० बैंक घाटामा जाने अनुमान

२०७७ बैशाख, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । जेठदेखि कर्जाको ब्याजदर घटाउने तयारी गरिरहेका बैंकहरू नेपाल राष्ट्र बैंकले चौथो त्रैमास शुरू भएदेखि कोरोना प्रभावित व्यवसायको कर्जाको ब्याजदर २ प्रतिशत विन्दुले घटाउन निर्देशन दिएपछि कार्यान्वयनका लागि अन्योलमा परेका छन् । आफूहरूले निक्षेपको ब्याजदर वैशाखदेखि १ प्रतिशत विन्दुले घटाउन सूचना जारी गरिसकेको अवस्थामा राष्ट्र बैंकले २ प्रतिशत विन्दुले घटाउन निर्देशन दिएपछि त्यसलाई पालना गर्न समस्यामा परेको उनीको भनाइ छ ।

कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्ने आकलन गर्दै नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशत विन्दुले घटाएपछि वाणिज्य बैंकहरूले सबै प्रकारका निक्षेपको ब्याजदर यसैको हाराहारीमा घटाउने भद्र सहमति निर्णय गरेका थिए । यसैअनुसार बैंकहरूले साधारण बचत, मुद्दति र कल डिपोजिटको ब्याजदर १ देखि साढे १ प्रतिशत विन्दुले घटाएको सूचना सार्वजनिक गरे । तर, राष्ट्र बैंकले एक्कासि २ प्रतिशत विन्दुले घटाउन निर्देशन दिएपछि कार्यान्वयनमा अन्योल परेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए ।

राष्ट्र बैंकलाई आफूहरूले गरेको तयारीबारे जानकारी दिँदादिँदै पनि यस्तो निर्देशन ल्याएको उनको गुनासो छ । निर्देशन आएपछि बैंकरहरूले राष्ट्र बैंकसमक्ष आफ्नो गुनासो समेत राखेको तर प्रतिउत्तर भने नआएको उनले जानकारी दिए ।

राष्ट्र बैंकको निर्देशन लागू गर्दा अबको चौथो त्रैमासमा झन्डै १० ओटा वाणिज्य बैंक घाटामा जाने उनको अनुमान छ । ‘हामी कर्जाको ब्याजदर घटाउने योजनामा थियौं तर राष्ट्र बैंकले अचानक क्रान्तिकारी निर्णय गर्‍यो । वैशाखदेखि असारसम्म आधारदर नै खारेज गरेर व्यवस्था लागू गर्न भनेको छ,’ उनले अभियानसँग भने, ‘अहिलेसम्म केन्द्रीय बैंकले कर्जाको ब्याजदर नै तोकेर निर्देशन दिएको थाहा छैन । तर, अहिले २ प्रतिशत विन्दु घटाउन भनियो कार्यान्वयन गर्ने कि नगर्ने भन्ने बिलखबन्धनमा परेका छौं ।’

केन्द्रीय बैंकले खराब कर्जा कायम नगर्न छूट दिएको छ । खराब कर्जालाई गणना गर्नु पर्दैन भन्नु पेन किलर मात्र भएको उनले टिप्पणी गर्दै भने, ‘कर्जाको ब्याज साँवा समयमा आएन भने त्यो निष्क्रिय नै हो । तर, यसैलाई एनपीएमा देखाउनु पर्दैन भन्नु बिरामी मान्छेलाई बिरामी छैन भन्नु मात्र हो ।’

नेपाल राष्ट्र बैंकले वैशाख १६ गते आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा कोरोना तथा लकडाउनबाट बढी प्रभावित पर्यटन, होटल, रेस्टुराँलगायत व्यवसायीलाई २ प्रतिशत विन्दु छूट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट यति बेला नाफाभन्दा पनि अर्थतन्त्रमा परेको सामाजिक लागत सबैले बेहोर्नुपर्ने तर्क गर्छन् । ‘बैंकहरूले प्रभावित व्यवसायीलाई ढाडस दिनुपर्र्छ,’ उनले भने, ‘प्रभावित क्षेत्रलाई सहुलियत दिएर बैंकलाई मर्का पर्दैन ।’ अनिवार्य नगद मौज्दात ६ बाट ५ प्रतिशतमा झार्नेलगायत सुविधा दिएकाले बैंकहरूसँग करीब ३५ अर्ब रुपैयाँ तरलता हुन्छ । यसलाई उनीहरूले सरकारी सुरक्षणपत्रमा लगानी गर्नसमेत पाउने भएकाले बैंकलाई असारसम्म सहुलयित दिन सहज हुने डा. भट्टको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)