ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले मर्कामा कृषक :  तरकारी बारीमै कुहियो

२०७७ बैशाख, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

वैशाख २७, पर्वत । यस जिल्लाको तरकारी पकेट क्षेत्रको रुपमा  रहेको जलजला गाउँपालिकामा किसानले लगाएको तरकारी बारीमै कुहिएको छ । जलजला गाउँपालिका – ७ सल्यान र बाँस्कोटमा व्यवसायिक तरकारी खेती गर्दै आएका किसान लकडाउनका कारण तरकारी बेच्न नपाउँदा बारीमा कुहाउन बाध्य भएका हुन् । 

बजार लैजाने तयारी हुँदै गर्दा भएको लकडाउनले तरकारी बारीमै कुहिएको स्थानीय एकनारायण पौडेलले जानकारी दिए । ‘गाडी नपाउँदा बजार लैजान सकिएन,’ उनले भने,‘ केहि गाईबस्तुलाई काटेर ख्वाईयो, केहि बारीमै कुहिएर खेर गयो ।’ 

दुई ओटा गाउँमा गरि ५० जना किसानहरुको समस्या एउटै छ । कसैले पनि तरकारी बजार लैजान सकेनन् । वर्षभरिको मिहेनत लकडाउनका कारण खेर गएको किसानहरुले दुखेसो पोखेका छन् । 

अगुवा किसान हरिप्रसाद आचार्यले काउली, ब्रो काउली र बन्दा बारीमा कुहिन थालेपछि ट्रयाक्टर लगाएर पुरेको बताए ।‘बजार लैजान सकेको भए रू.२ लाख बराबरको आम्दानी हुन्थ्यो होला,’ उनले भने, ‘वर्षभरिको मिहेनत माटोमा खेर फाल्नुपर्‍यो ।’ 

लकडाउनको बेला किसानका उत्पादन बजार लैजान कुनै निकायले सहयोग नगरेको आचार्यले गुनासो गरे । बाली लगाउनेदेखि बजार लैजाने समयसम्म रू.५० हजार खर्च गरेका राम सुबेदी बारीमा तरकारी कुहिंदा वर्षभरिको आम्दानी खेर गएको बताउँछन् । 

उनले डोकोमा बोकेर बजार जान नसक्दा पनि घाटा खानुपरेको सुनाए । एकनारायण पौडेल, नरवहादुर केसी, हरिप्रसाद आचार्य, देबी आचार्य, काशीराम आचार्य, राम सुबेदी, यादवनाथ आचार्य, विजय गिरी, सागर गिरी, दयालु गिरी लगायतका किसानहरुले बारीमै तरकारी कुहिएपछि फाल्नु परेको गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्र पर्वतले किसानहरुको बारीमा पुगेर क्षतिको मुल्यांकन गरिएको बताएको छ । कार्यालय प्रमुख बासुदेव रेग्मीले क्षतिको विवरण संघ र प्रदेश सरकारलाई पठाएको बताए  ।

किसानलाई क्षतिपूर्ती दिलाउन पहल गरिरहेको उनको भनाइ छ ।जलजला ७ का अधिकाँश परिवार तरकारी खेती गरेर जिबिकोपार्जन गर्दै आएका छन् । जिल्लाको कुश्मा नगरपालिका ११ पकुवा, फलेवास ११ पाङराङ, मोदी गाउँपालिका २ देउपुर, विहादी गाउँपालिका ३ रानीपानी लगायतका स्थानमा पनि किसानहरुको उत्पादन बजार पुग्न सकेको छैन । 

बजारमा भने तरकारीको हाहाकार छ । व्यवसायीहरुले माग धान्न नसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले किसानको उत्पादन गाउँमा खेर गएको गुनासो आएपछि पासको व्यवस्था गरिएको बताइन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)