ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय आर्थिक गणना २०१८ : सबैभन्दा नाफामूलक व्यवसाय कृषि

२०७७ बैशाख, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा कृषि व्यावसायिक बन्न नसकेको तर पर्याप्त नाफामूलक नभएकाले यसमा लाग्ने जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको विश्लेषण भइरहँदा राष्ट्रिय आर्थिक गणना २०१८ ले भने सबैभन्दा नाफा हुने क्षेत्रका रूपमा कृषि भएको देखाएको छ ।

तथ्यांक विभागको प्रथम राष्ट्रिय आर्थिक गणना–२०१८’ को हालै अद्यावधिक गरिएको तथ्यांकले १८ क्षेत्रसँग सम्बद्ध व्यवसायमध्ये नेपालमा सबैभन्दा बढी नाफा हुने क्षेत्र कृषिलाई देखाएको छ । विभागका अनुसार कृषिको नाफाको अनुपात ५५ दशमलव ७ प्रतिशत रहेको छ भने यी सबै क्षेत्रको औसत नाफाको अनुपात २९ दशमलव ३ प्रतिशत रहेको छ ।

नेपालमा सबैभन्दा बढी लगानी भएको उत्पादनमूलक क्षेत्रभन्दा कृषि, वन तथा मत्स्यपालन क्षेत्र नाफा बढी कमाउने व्यवसायको उच्च स्थानमा रहेका छन् । बैंक तथा वित्तीय क्षेत्रले अत्यधिक नाफा कमाएको भनेर आलोचना भइरहँदा कृषिपछि बढी नाफा कमाउने क्षेत्र शिक्षासँग सम्बद्ध व्यवसायमा रहेको विभागको तथ्यांकले देखाउँछ । यो क्षेत्रमा वार्षिक नाफाको अनुपात ४६ दशमलव १ प्रतिशत रहेको छ । थोक तथा खुद्रा सवारी मर्मतसम्भारमा वार्षिक नाफाको अनुपात ४३ प्रतिशत, खानी तथा उत्खननमा ४२ दशमलव २ प्रतिशत, घरजग्गाको कारोबारमा ४० प्रतिशत र वित्तीय तथा बीमामा नाफाको अनुपात ४० दशमलव ५ छ । त्यस्तै शिक्षाक्षेत्रसँग सम्बद्ध व्यवसायले ४६ प्रतिशत नाफा कमाउने देखिन्छ । सबैभन्दा बढी नाफा भएको क्षेत्रमा कृषि, वन तथा मत्स्यपालन व्यवसायमा वार्षिक ५५ दशमलव ७ प्रतिशत नाफाको अनुपात रहेको तथ्यांक छ । सबैभन्दा कम नाफा आर्जन गर्ने व्यवसायमा भने उत्पादनमूलक व्यवसाय परेको छ, जसको नाफा अनुपात १४ दशमलव ५ प्रतिशत रहेको छ । २०१५ देखि १८ ३ वर्षको अवधिमा ९ लाख ९४ हजार २१९ व्यावसायिक संस्था सञ्चालन भएको देखिन्छ । यो कुल उद्योग सञ्चालन अंशको ४२ दशमलव ७ प्रतिशत हो । विभागको तथ्यांकअनुसार वार्षिक व्यावसायिक संस्थाले रू. ३२ लाख ३६ हजारको सामग्री विक्री गर्छन् भने प्रतिव्यावसायिक संस्थाको वार्षिक नाफा रू. ९ लाख ३६ हजार हुने गर्छ ।

आधाभन्दा बढी व्यवसाय भाडाका भवनमा सञ्चालित छन् । त्यस्ता व्यवसायको संख्या ४ लाख २६ हजार ३८० अर्थात् ४९ दशमलव ७ प्रतिशत छ । आप्mनै भवनमा सञ्चालन हुने व्यावसायिक संस्थाहरू ४ लाख ८४८ अर्थात् ४६ दशमलव ७ रहेको छ । फुटपाथमा सञ्चालन हुने व्यवसायको अंश ३ दशमलव ७ प्रतिशत अर्थात् ३४ हजार १०१ रहेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा ९ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठान तथा संस्थाले वार्षिक रू. २९ खर्ब १५ अर्बको कारोबार (विक्री) गर्छन् र त्यसबाट रू. ८ खर्ब ५३ अर्ब आम्दानी गरेको देखिन्छ । वार्षिक आम्दानीको दर २९ दशमलव ३ प्रतिशत छ ।

अर्थतन्त्र मापनका लागि विभागले आर्थिक गणनामा १८ क्षेत्र समावेश गरे पनि अन्य मुलुकमा भने २१ ओटा क्षेत्र गणनामा समावेश गर्ने प्रचलन छ । यसअघि विभागले नेपालमा कति औद्योगिक प्रतिष्ठान छन् र त्यहाँ कतिले रोजगारी पाएका छन् भन्ने तथ्यांक २०७५ भदौमा सार्वजनिक गरिसकेको छ । सोही तथ्यांकमा केन्द्रित रहेर व्यावसायिक संस्थाहरूको आम्दानी÷विक्री, खर्च र नाफा÷घाटाको विवरण सार्वजनिक गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए । २०१८ मा गरिएको उक्त गणनाबाट उपलब्ध विवरणहरू सार्वजनिक गर्ने म्याद अझै १ वर्ष रहेको र अब होटेल व्यवसाय, वर्कशपलगायत क्षेत्रको विस्तृत विवरण पनि क्रमैसँग सार्वजनिक गरिने उनको भनाइ छ ।

दर्ता नभई सञ्चालन भइरहेका व्यावसायिक संस्थाको अंश लगभग आधा छ । नेपालमा कुल व्यावसायिक संस्थाको संख्या ९ लाख २३ हजार ३५६ रहेको छ, यीमध्ये ४ लाख ६२ हजार ६०५ अर्थात् ५० दशमलव १ प्रतिशत दर्ता भएर सञ्चालनमा छन् । ४ लाख ६० हजार ४२२ अर्थात् ४९ दशमलव ९ प्रतिशत व्यावसायिक संस्था विनादर्ता सञ्चालन भइरहेका छन् । विभागका उपमहानिर्देशक रेग्मीले त्यस्ता व्यावसायिक संस्थामा घरेलु इलम, टेलरमास्टर, घरेलु किरानापसल, तरकारी पसलहरू रहेको बताए ।

क्षेत्रबाहेक गणनामा बिजुली, ग्यास, स्टीम तथा एयर कन्डिसनिङ, पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन, थोक तथा खुद्राव्यापार, सवारीसाधन मर्मत सम्भार, निर्माण, यातायात तथा भण्डारण, होटेल तथा रेस्टुराँ, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक गतिविधि, प्रशासनिक तथा सम्बद्ध क्रियाकलाप, शिक्षा, मानव सेवा र सामाजिक कार्य, कला तथा मनोरञ्जन क्षेत्र र अन्य सेवामूलक व्यवसाय समावेश छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 11, 2020 05:57am]

विभागले प्रस्तुत गरेको तथ्यांङ्क कती भरोसायोग्य होला त्यो आफ्नै ठाउँमा छ । तर यो समाचारले देशका उर्जावान युवावर्गलाई आकर्षित गर्नमा सहयोग गर्न सकेको होस् । कृषी व्यवसायबाट हुने उपलब्धीको मुख्य हिस्सा मेहनत गर्ने कृषकको हातमा पुग्ने बन्दोबस्त गरिदिने काम चाहिं सरकारको हो । निर्माण क्षेत्रको नफा ३.६% मात्रै भनेको चाहिं केहि अपाच्य लाग्यो ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)