ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टुटा कीराले बालीनाली नष्ट

२०७७ बैशाख, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

वैशाख २९, पर्वत । पर्वतका किसानहरूको बालीनालीमा टुटा कीराको आक्रमण बढ्न थालेको छ । जिल्लाका प्रायःजसो ठाउँका किसानहरूले यो कीराले बालीनालीमा क्षति गरेको गुनासो गर्न थालेको कृषि ज्ञान केन्द्र पर्वतले बताएको छ ।

मौसममा आएको परिवर्तनका कारण यो कीरा बढी सक्रिय हुने कृषि प्राविधिकहरू बताउँछन् । खुला रूपमा गरिएको खेतीमा मात्रै होइन, टनेलमा गरिएको खेतीमा पनि यो कीराको प्रकोप बढेको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए । 

बढी मात्रामा गोलभेँडामा यो कीराले आक्रमण गरेको छ ।‘ पुतली जातको यो कीराले एकै हप्तामा टनेलभरिको तरकारीमा असर गर्न सक्छ,’ रेग्मीले भने, ‘उडेर एउटा ठाउँबाट अर्को ठाउँमा जान सक्ने भएकाले प्रकोप नियन्त्रण गर्न पनि गाह्रो पर्छ ।’

जिल्लाको जलजला गाउँपालिका ७ धाइरिङ, कुश्मा नगरपालिका ११ पकुवा, मोदी २ देउपुरमा यो कीराले बढी क्षति गराएको रेग्मीले जानकारी दिए । पकुवाका सूर्यबहादुर केसी, गणेश पौडेल र दीपेन्द्र क्षेत्रीको व्यावसायिक कृषिफार्ममा अत्यधिक रूपमा टुटाले आक्रमण गरेको छ । रोग नियन्त्रण गर्न कीटनाशक विषादीको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख रेग्मीले बताए ।

धेरै मात्रामा आक्रमण गरेको भए विषादी प्रयोग गर्ने र थोरै मात्रामा भए बजारमा पाइने कीरा आकर्षण गर्ने एक प्रकारको पासो थापेर कीरा मार्न सकिने उनले बताए । प्रायःजसो धेरै पानी परेको समयमा यो कीराको आक्रमण बढ्ने कृषि प्राविधिकहरू बताउँछन् । 

लकडाउनका कारण तरकारी बजार पठाउन नपाएर घाटा बेहोरेका किसानलाई टुटाको आक्रमणले थप नोक्सान पारेको छ । यो कीराले आक्रमण गर्न थालेपछि नियन्त्रण गर्नै नसकिएको जलजला ७ का नवराज आचार्यले बताए ।

‘विषादी पनि छर्किएँ, मोहनी पासो थापेर पनि पार लागेन,’ आचार्यले भने, ‘केही उपाय नलागेपछि उपचार गर्नै छोडिदिएको छु ।’ चारओटा टनेलको गोलभेँडामा रोग लागेको उनले बताए ।

जलजलाका यादवनाथ आचार्य, विजय गिरी, सागर गिरी, मीन केसी, एकनारायण पौडेल, देवी आचार्य लगायत एक दर्जन व्यावसायिक किसानको बालीनालीमा यो कीराले आक्रमण गरेको छ । एउटा टनेलबाट एक सिजनमा ७ देखि १० क्वीण्टल गोलभेँडा फलाउने गरेका किसानहरू अहिले टुटाको आक्रमणले आधा घाटा खाइरहेको सुनाउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)