ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानको तरकारी बारीमै कुहियो

२०७७ बैशाख, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको तरकारी पकेट क्षेत्र जलजला गाउँपालिकामा किसानले लगाएको तरकारी बारीमै कुहिएको छ । जलजला गाउँपालिका–७ सल्यान र बाँस्कोटमा व्यावसायिक तरकारीखेती गर्दै आएका किसान लकडाउनका कारण तरकारी बेच्न नपाउँदा बारीमा कुहाउन बाध्य भएका हुन् ।

बजार लैजाने तयारीमा रहेको तरकारी लकडाउनले गर्दा बारीमै कुहिएको स्थानीय एकनारायण पौडेलले जानकारी दिए । ‘गाडी नपाउँदा बजार लैजान सकिएन,’ पौडेलले भने, ‘केही गाईवस्तुलाई खुवाइयो । केही बारीमै कुहिएर खेर गयो ।’ अहिले यी दुई गाउँका व्यावसायिक तरकारीखेती गर्दै आएका ५० भन्दा बढी कृषकले लाखौं नोक्सानी बेहोर्नु परेको छ ।  लकडाउनका कारण वर्षभरिको मेहनत खेर गएको र ऋण समेत तिर्न नसक्ने अवस्थामा पुगेको उनीहरूले दुःखेसो पोखेका छन् । सरकारले लकडाउनको अवधिमा पनि कृषिजन्य उपज ढुवानी गर्न  पाउने भने पनि उत्पादित तरकारी बजार लैजान कुनै निकायले सहयोग नगरेको किसानको गुनासो छ ।

यसैबीच, कृषि ज्ञान केन्द्र पर्वतले किसानको बारीमा पुगेर क्षतिको मूल्यांकन गरेको जानकारी दिएको छ । कार्यालय प्रमुख वासुदेव रेग्मीले क्षतिको विवरण संघ र प्रदेश सरकारलाई पठाइएको बताए । किसानलाई क्षतिपूर्ति दिलाउन पहल गरिरहेको रेग्मीको भनाइ छ । जलजला–७ का अधिकांश परिवार तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । जिल्लाको कुश्मा नगरपालिका ११ पकुवा, फलेवास ११ पाङराङ, मोदी गाउँपालिका २ देउपुर, विहादी गाउँपालिका ३ रानीपानी लगायत स्थानमा पनि किसानको उत्पादन बजार पुग्न सकेको छैन । बजारमा भने तरकारीको हाहाकार छ । व्यवसायीले माग धान्न नसकेको बताएका छन् । उपभोक्ताले बढी मूल्य तिरेर खानुपरेको छ । किसानलाई उत्पादन बजार ल्याउन पछिल्लो सातादेखि पासको व्यवस्था गर्न थालेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले किसानको उत्पादन गाउँमा खेर गएको गुनासो आएपछि पासको व्यवस्था गरिएको जानकारी दिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)