ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसरी–मोरङ औद्योगिक कोरिडोर : सरकारले बनाएको कार्यविधिप्रति उद्योगी व्यवसायी असन्तुष्ट

२०७७ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सुनसरी जिल्लाको रिलाइन्स स्पिनिङ मिल्समा काम गर्दै गरेकी महिलाको फाइल फोटो ।
author avatar वेदराज पौडेल

विराटनगर । संघीय सरकारले कार्यविधि बनाएर ४४ प्रकारका उद्योग सञ्चालन गर्न भने पनि तीन तहको सरकार र स्थानीय प्रशासनबीच समन्वय नहुँदा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरू रुष्ट बनेका छन् । उनीहरूले उद्योगमैत्री कार्यविधि नभए खुलेका उद्योगसमेत बन्द गर्ने चेतावनी दिएका छन् ।

सरकारको निर्णयपछि जिल्ला प्रशासन कार्यालय मोरङले बजार, सवारी र उद्योगहरू सञ्चालनको समयसीमा सार्वजनिक गरेको छ । जुन समयसीमा परिमार्जन हुनुपर्ने र उद्योग सञ्चालनका लागि स्पष्ट नीतिसहितको कार्यविधि बन्नुपर्ने धारणा उद्योगीहरूले राखेका छन् । कार्यविधि एकातिर र कार्यान्वयन अर्काेतिर भएकाले उद्योग सञ्चालन गर्नसक्ने वातावरण नभएको उद्यमीहरूको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले वडाध्यक्ष देखि प्रदेशसभा सदस्यसमेत राजा भएकाले उद्योगीहरूलाई हेर्ने उनीहरूको दृष्टिकोण रैतीको भन्दा माथि नभएकाले उद्योगीहरूले दुःख पाइरहेको गुनासोे गरे ।

सरकारमा बस्नेहरू उद्योग व्यवसायका विज्ञ नभएकाले विज्ञ राखेर कार्यविधि बनाउनुपर्नेमा त्यसो नगरिएकाले कार्यान्वयन जटिल आएको उनले बताए । सरकारले बनाएको कार्यविधिमा १० जनाभन्दा बढी कामदारलाई उद्योगमा काम गराउन नपाइने, उद्योगबाट बैंक र भन्सार जाने कर्मचारीलाई पासका व्यवस्था गरेको छैन । उद्योगबाट निस्कने तयारी वस्तुका लागि बिहानदेखि बेलुकासम्मको ढुवानी समय दिनुपर्नेमा सरकारले दिएको बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्मको समय उपयुक्त नरहेको व्यवसायीहरूको
भनाइ छ ।

उद्योग सञ्चालन गर्न कम्तीमा ५० जना कामदार चाहिने तर त्यसका लागि कार्यविधि मौन रहेको घिमिरे बताउँछन् । कार्यविधि उद्योग व्यवसायी मैत्री नभएकाले तत्काल अर्काे कार्यविधि नआए उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उनले बताए ।

उद्योग सञ्चालन भए पनि बजार बन्द नै रहेकाले उत्पादित वस्तुका लागि बजारको अभाव कायमै रहेको व्यवसायीहरूको भनाइ छ । सातामा दिन तोकेर सम्बद्ध वस्तुको पसल खुलाएमा मात्र उद्योगका उत्पादनहरूले बजार पाउनुका साथै बजारमा भीड पनि कम हुने सुझाव उनीहरूको छ ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा छन् । सञ्चालित उद्योगहरूले २० देखि ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

रहेका उद्योगहरूले विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुरूप हात धुने, स्यानिटाइजर र मास्क प्रयोग गर्नेलगायत व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरी कामदारले उत्पादनको काम गरिरहेका छन् ।

सरकारले खाद्यान्न उद्योगका गाडी नरोक्ने भने पनि प्रहरीले बाटोबाटोमै गाडीहरू रोक्ने र प्रमुख जिल्ला अधिकारीको पास माग्ने गरेकाले प्रत्येक गाडीलाई भनसुनको भरमा छुटाउनुपर्ने बाध्यता रहेको गुनासो उद्योगीहरूको छ । ‘सरकारको कार्यविधि नै कानूनसरह लागू हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन,’ घिमिरे भन्छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रशासनले जारी गरेको कार्यविधिप्रति असहमति प्रकट गरे । उनले कुनै पनि ग्यारेज पेट्रोल पम्प एकजनाले सञ्चालन गर्न नसक्ने तर कार्यविधिमा भने एकजनालाई मात्र अनुमति दिने नियम अव्यावहारिक रहेको उनले बताए ।

‘उद्योग सञ्चालन गर’ भनेर मात्र नहुने उद्योग सञ्चालनका लागि मजदूरलाई पास दिनुपर्ने, उद्योगका लागि चाहिने सहायक वस्तुका अन्य उद्योग पनि सञ्चालन हुनुपर्ने उनले बताए ।

अर्का उद्योगी प्रदीप मुरारकाले उद्योग सञ्चालनका लागि अनुमति दिएर मात्र नहुने उद्योगलाई चाहिने कच्चा पदार्थबाहेकका सहायक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन अनुमति दिनुपर्ने धारणा राखे । उनले तेल उद्योग सञ्चालन गर्ने अनुमति दिएर प्याकिङ गर्ने टिन उद्योग, कार्टुन उद्योग चल्न नदिए उद्योग सञ्चालन गर्नुको अर्थ नहुने बताए ।

केही उद्योग चल्दै, केही तयारीमा
सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सका सहायक व्यवस्थापक महेशप्रसाद पोखरेलले उद्योगमा सञ्चित कच्चापदार्थ प्रयोग गरी उद्योगले उत्पादन थालेको जानकारी दिए । १ सातादेखि सञ्चालनमा रहेको उद्योगमा कार्यरत कर्मचारीलाई उद्योग परिसरमा राख्ने व्यवस्था मिलाएको सहायक व्यवस्थापक पोखरेलले जानकारी दिए । उद्योगमा अहिले १ सयभन्दा बढी मजदूर कार्यरत छन् । जो उद्योगकै आवास क्षेत्रमा बस्छन् । सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रका उद्योगहरूमा ५० हजार मजदूर कर्मचारी कार्यरत छन् ।

उद्योगी पवन शारडाले बाहिरी जिल्ला र कतिपय भारतीय मजदूरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उपलब्ध जनशक्तिलाई परिचालन गरी उद्योग सञ्चालनमा ल्याएको बताए । उनले उद्योगमा कार्यरत मजदूरको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपिनको व्यवस्थापन गर्न समस्यासँगै उनीहरूको व्यवस्थापनमा चुनैती पनि उत्तिकै रहेको बताए ।

लामो लकडाउनका कारण उद्योगधन्दा थलिएको बताउँदै उद्योगी शारडाले भने, ‘अझै अत्यावश्यक बाहेकका उद्योग सञ्चालनको वातावरण बनिसकेको छैन । आवश्यक पर्ने र चल्नसक्ने उद्योग चल्लान् तर सबै उद्योग चलाउनसक्ने अवस्था छैन ।’

सरकारको निर्णयलगत्तै कोरिडोरका जुट प्याकेजिङ, चाउचाउ, पेय पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । त्यसबाहेक सिमेन्ट, स्टील र वायर्स उद्योगले मेशिन परीक्षणको प्रक्रिया शुरू गरेका छन् । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मात्रै झन्डै ६ सय उद्योग छन् । औद्योगिक कोरिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या ६० भन्दा बढी रहेको छ ।

उद्योग विभागकोे तथ्यांकअनुसार सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा अहिले ६ सय ६५ उद्योग सञ्चालनमा छन् । यसमध्ये ठूला र मझौला गरी १५० र बाँकी साना उद्योग मात्र सञ्चालनमा छन् । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कटपाता, प्लास्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)