ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लिपुलेकमा भारतीय सडक निर्माण : वार्षिक ३० हजार धार्मिक पर्यटक गुम्ने जोखिम

२०७७ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपाली भूमिभित्र रहेको लिपुलेकमा भारतले सडक निर्माण गर्दाको असर कूटनीतिक क्षेत्रमा मात्र होइन, मुलुकको पर्यटन क्षेत्रमा समेत पर्ने देखिएको छ । चीनको कैलाश मानसरोवर यात्राका लागि जाने भारतीय पर्यटकले अहिले नेपाली भूमि प्रयोग गर्दै आएका छन् । भारतको सिक्किमस्थित नाथुला नाकाबाट मानसरोवर जान मिल्ने भए पनि सहजताका कारण भारतीय पर्यटकको रोजाइ नेपालकै रूट हुने गरेको छ ।

सामान्यतया मानसरोवर यात्राको सिजन मेदेखि सेप्टेम्बर हो । कोरोना भाइरसका कारण यस वर्ष मानसरोवर यात्रामा चीनले रोक लगाएको छ । अर्र्को वर्षको सिजनमा भारतले निर्माण गरेको सडकमार्ग प्रयोग गर्ने सम्भावना उच्च देखिँदा नेपाली पर्यटन क्षेत्रले पर्यटक मात्रै नभई अर्बाैं आम्दानीका साथसाथै रोजगारी पनि गुमाउने जोखिम बढेको छ । साथै भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज तथा हुम्लामा होटल व्यवसायमा लगानी गरिएको करोडौं रकम पनि जोखिममा पर्ने भएको छ ।

भारतले उक्त सडक बनाएपछि मानसरोवरका लागि हालसम्म सञ्चालित रूटमध्ये सबैभन्दा छोटो पर्छ । लिपुलेकबाट मानसरोवर १०० किलोमीटर (किमी) दूरीमा पर्छ जब कि नेपालको बाटो हुँदै पहिला हिल्सा पुग्नुपर्ने र हिल्साबाट मानसरोवरसम्म ११० किमी दूरीको यात्रा तय गर्नुपर्छ । यसले गर्दा पनि उनीहरूको रोजाइमा आप्mनै भूमि हुँदै मानसरोवर पुग्ने सडक पर्ने नेपाली टूर अपरेटहरू बताउँछन् । उनीहरूका अनुसार वार्षिक करीब ३० हजार भारतीय पर्यटक नेपालले गुमाउने सम्भावना छ ।

कैलास मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर सञ्चालन भएका टूर अपरेटरहरूको संस्था एशोसिएशन अफ कैलास टूरअपरेटर्स नेपाल (एकेटीओएन)का अध्यक्ष नारायण पोखरेलले भारतले सडक बनाइसकेपछि नेपालको व्यवसाय गुम्ने जोखिम भएको बताए । पछिल्लो समय मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या वार्षिक १५ देखि २० प्रतिशतले बढ्दै जाँदा सोहीअनुसार लगानी थपिरहेका नेपाली पर्यटन व्यवसायीहरूलाई पछिल्लो घटनाक्रमले निराश बनाएको छ

‘यही अनुपातमा पर्यटक वृद्धि हुँदै जाँदा केही वर्षमै यस्तो संख्या ५० हजारसम्म पुग्ने आकलन गरिएको थियो,’ पोखरेलले भने, ‘नेपालगञ्ज–हिल्सा (हुम्ला) र सुर्खेत–हिल्सा जोड्ने सडक बनेको भए पनि केही राहत हुने थियो । तर, सरकारले चासो नदिँदा यो विकल्प पनि गुम्ने देखिन्छ ।’

अहिले यस क्षेत्रबाट २० देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ । भारतीय धार्मिक पर्यटकलाई लक्षित गर्दै नेपालगञ्जमा पाँचतारेदेखि दुईतारे होटेल खुलेका छन् भने सिमिकोट र हिल्सामा होटेलहरूको संख्या बढेको छ ।

एशोसिएशनका महासचिव कृष्णप्रसाद ढकालले हुम्लाको सदरमुकाम सिमिकोटमा पहिला १०० जना बस्न मिल्ने होटेल तथा लजहरू रहेकोमा ३÷४ वर्षकै अवधिमा ५०० जना अट्ने क्षमताका होटेलहरू बनिसकेको बताए । उनले १ जना भारतीय पर्यटकले न्यूनतम रू. २ लाख ५० हजारदेखि अधिकतम रू. ३ लाख ५० हजारसम्म खर्च गर्ने गरेको जानकारी दिए ।

नेपालको पर्यटन क्षेत्रमा मेदेखि सेप्टेम्बर (वैशाख–असोज) अफ सिजन मानिन्छ । यो सिजनमा भारतीय धार्मिक पर्यटकका भरमा होटेल, हेलिकोप्टरका साथै अन्य सम्बद्ध व्यवसायहरू सञ्चालन हुन्छन् । ‘काठमाडौं–नेपालगञ्ज–सिमिकोट–हिल्सा हुँदै जाने रूटबाट १२ देखि १५ हजार भारतीय पर्यटक मानसरोवर पुग्छन् भने सोही संख्यामा काठमाडौ–रसुवागढी–केरुङ हुँदै उक्त स्थलमा पुग्नेको संख्या पनि उत्तिनै हुन्छ,’ ढकालले भने, ‘नेपालगञ्ज रूट प्रयोग गर्नेले कुल खर्चको ५५ प्रतिशत नेपालमा खर्च गर्छन् भने काठमाडौं–रसुवागढीबाट जानेले नेपालमा ३५ प्रतिशत खर्च गर्छन् ।’

मानसरोवर जाने भारतीय धार्मिक पर्यटक नेपालका धार्मिक स्थल मुक्तिनाथ, पशुपतिनाथ, दामोदर कुण्ड, जनकपुरधामका साथै चितवनको सौराहासम्म घुम्ने गर्छन् । यो क्षेत्रमा सक्रिय रहेका टूर अपरेटरहरू तथा पर्यटन व्यवसायीहरूले भारतले बनाएको उक्त सडकमार्गका कारण नेपालले अफ सिजनको पर्यटन व्यवसाय नै गुमाउने सम्भावना रहेको बताउँछन् ।

मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर लगानी गरिएका होटेल, हेलिकोप्टर, क्याटरिङ सर्भिस, पथप्रदर्शक तथा भरियाहरूले रोजगारी गुमाउने देखिएको छ । यसैगरी उक्त यात्रामा जाने यात्रु ५० वर्षभन्दा माथिका हुने भएकाले अधिकांशले हेलिकोप्टर प्रयोग गर्ने भएकाले नेपालको रूट रोकिँदा हेलिकोप्टर व्यवसाय पनि संकटमा पर्ने देखिन्छ । उनीहरूले सडकको स्तरोन्नति गर्नुका साथसाथै सो समस्यालाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट छिटो समाधान गर्न पनि सुझाव दिए । नेपालमा वार्षिक धार्मिक पर्यटक मात्रै २ लाखको हाराहारीमा आउने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 12, 2020 04:20am]

कसैलाई के को चिन्ता, कसैलाई के को चिन्ता; घरज्वाईँलाई खानकै चिन्ता । झाण्डाको रुपरङ्गको NO चिन्ता ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)