धनगढी । सुदूरपश्चिम प्रदेशभित्र निर्माणाधीन दर्जनौं पूर्वाधार आयोजना अलपत्र परेका छन् । कोरोना रोकथामका लागि सरकारले लकडाउन लागू गरसँगै प्रदेशभित्र निर्माणधीन अवस्थामा रहेका जलविद्युत्, सडक, खानेपानी, सिँचाइ लगायत आयोजनाको काम ठप्प भएको हो ।
लकडाउनकै कारण भर्खर ठेक्का सम्झौता भएकादेखि निर्माणको अन्तिम चरणमा पुगेका आयोजनासमेत प्रभावित भएका छन् । केही आयोजनाको काम भने बोलपत्र आह्वानमा मात्रै सीमित बन्न पुगेको छ । नियमित काम गर्न नपाएपछि प्रदेशकै महत्वपूर्ण आयोजनाका रूपमा हेरिएका ४२५ किलोमीटर लामो महाकाली कोरिडोर, ३५९ किलोमीटर लामो सेती लोकमार्ग दक्षिणी खण्ड र उत्तरी खण्ड, ८२ किलोमीटरको खुटिया दीपायल फास्टट्र्याक तथा साढे १४ किलोमीटर लामो मोहनापुल अतरिया ६ लेन सडक निर्माण अन्योलग्रस्त बन्न पुगेको निर्माण कम्पनी तथा सम्बन्धित योजना कार्यालयले बताएका छन् । यस्तै, कैलालीमा ३८ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र १५१ किलोमीटर लामो महाकाली सिँचाइ आयोजनाको पनि काम ठप्प भएको छ । रू. २ अर्ब ३० करोडमा निर्माण सम्झौता भई फिल्डमा धमाधम काम भइरहेको बेला लकडाउनले निर्माण रोकिन पुगेको महाकाली सिँचाइ तेस्रो चरण कार्यालय कन्चनपुरका कार्यकारी निर्देशक प्रचण्डदेव विष्टले बताए । कैलालीमा निर्माणधीन २५ किलोमीटर लामो हुलाकी सडक निर्माण अन्तर्गत ४० प्रतिशत काम अझै बाँकी रहेको हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनीयर पदम मडैले बताए । त्यस्तै महाकाली नदीमा चार लेनको पक्कि पुल लकडाउनका कारण प्रभावित बन्न पुगेको छ । चालु आवका लागि ९० करोड बजेट प्राप्त भएकोमा ४० करोड मात्र खर्च भएर बाँकी काम अपेक्षित रूपमा हुन नसकेको आयोजना कार्यालयका इन्जिनीयर दुर्गा अवस्थीले बताए । २५ अर्ब दुई करोड लागत अनुमान गरिएको सेती लोकमार्ग दक्षिणी खण्ड र उत्तरी खण्डको यो बीचमा कुनै काम भएको छैन भने महाकाली कोरिडोर अन्तर्गत ३३ करोडमा १२५ किलोमीटर ट्र्याक खोलिएको छ । १५ अर्ब लागत अनुमान गरिएको सो आयोजना लकडाउनयता अपेक्षित रूपमा अघि बढाउन नसकिएको योजना प्रमुख अच्युतविलास पन्त बताउँछन् ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश गौरव सडक योजना निर्माण गर्ने बताए पनि लकडाउनका कारण ती सडकको निर्माण अघि बढाउन ढिलाइ भएको बताएको छ । एक जिल्ला एक गौरव सडक योजना यतिबेला अलपत्र अवस्थामा देखिएका छन् । बैतडीको सतबाज श्रीभावर हाट १०० किलोेमीटर सडकमध्ये १४ किलोमीटर कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको भए पनि काम हुन सकेको छैन । प्रदेश गौरव सडक योजनाको रूपमा रहेका चिसापानी, जंगलघाट, तुम्रराखात, कमल बजार, जयगढ, श्रषिदह बडिमालिका लगायत सडक आयोजनाको ठेक्का सम्झौतामा ढिलाइ हुन गएको भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले बताए ।