ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५० दिनपछि खुलेको शेयर बजारमा नकारात्मक सर्किट

२ प्रतिशतले घट्दा ३६ मिनेटअघि नै बन्द

२०७७ बैशाख, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । करीब २ महीनापछि पुनः सञ्चालनमा आएको मुलुकको शेयरबजार मंगलवार नकारात्मक सर्किट लागेर समयावधि अघि नै बन्द भयो । नेपाली शेयरबजारमा पहिलोपटक कारोबार अवधि घटाएर खुला भएको बजार २ दशमलव शून्य २ प्रतिशतले घटेपछि ३६ मिनेटअघि नकारात्मक सर्किट लागेर बन्द भएको हो । लकडाउनका बीच विशेष परिस्थितिमा २ घण्टाका लागि खोलिएको बजार मंगलवार २५ दशमलव ३० अंकले घटेर १ हजार २२६ दशमलव १५ विन्दुमा पुगेको छ । कोरोना संक्रमण र लकडाउनका कारण गत चैत १० गतेदेखि शेयर कारोबार बन्द रहेको थियो । हालको अवस्थालाई ध्यान दिएर दैनिक ५ घण्टाको कारोबार समय घटाई दैनिक २ घण्टा (बिहान ११ देखि १ बजे)सम्म खुल्ला गरिएको हो । नेप्से परिसूचक २ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार बन्द हुने नयाँ व्यवस्थाअनुसार २ दशमलव २ प्रतिशतले घटेपछि १२ बजेर २४ मिनेटमा कारोबार बन्द गरिएको हो । मंगलवार कुनै पनि कम्पनीको शेयर मूल्य बढेन जुन शेयरबजारमा बिरलै हुने गर्छ ।

एकै दिन २५ प्रतिशत नेटवर्थ गुमाएको भन्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजार खोल्नुको कुनै अर्थ नभएको बताए । अनलाइन कारोबार प्रणाली परीक्षण कालमै रहेको भन्दै यसलाई माध्यम बताएर बजार खोल्नाले लगानीकर्ताहरूले एकै दिन २५ प्रतिशत नेटवर्थ गुमाउनु परेको रौनियारको भनाइ छ । कारोबारमा २५ प्रतिशत मार्जिन अनिवार्य गरेकाले पनि समस्या भएको रौनियारको आरोप छ । यसरी बजार घट्दै जाने हो भने लगानीकर्ता मार्जिन कलको समस्यामा पर्ने हँुदा समयमै समाधानको उपाय खोज्न उनले नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन् ।

बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले १ दिनको कारोबारलाई हेरेर आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । बजार घट्यो भन्दैमा बन्द गर्न नहुने बताउँदै उनले पछिल्लो केही दिनको कारोबारलाई हेरेर आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । अनलाइन कारोबार प्रणालीमा बढीभन्दा बढी लगानीकर्ता जोड्ने मुख्य उद्देश्यका साथ बजार खोलिएको गिरीले जानकारी दिए ।

जानीजानी बजार बढाउन र घटाउन लागेको अवस्था भए निर्ममतापूर्वक कारबाही गर्ने गिरीले स्पष्ट पारे । शेयर कारोबारमै निर्भर भएका लगानीकर्तालाई समस्या नपरोस् भनी कारोबार खोलिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख चन्द्र सिंह साउदको भनाइ छ । सामान्य अवस्थामा नभई विशेष परिस्थितिमा खोलिएकाले अत्यावश्यक अवस्थाका लगानीकर्ता मात्र कारोबारमा सहभागी भएको उनको भनाइ छ । अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नभए पनि धेरैजसो लगानीकर्ता अफलाइन कारोबारमै रमाएकाले समस्या भएको उनले तर्क छ । बजार घट्दा सबैभन्दा बढी क्षति लगानीकर्तालाई हुने हुँदा अनलाइन प्रणालीसँग जोडिन साउदले अनुरोध गरेका छन् । उनका अनुसार मंगलवार कारोबार गर्ने १ हजार ६७१ जना लगानीकर्तामध्ये ८८४ जनाले अनलाइनमार्पmत कारोबार गरेका छन् । उनले हालसम्म २७ हजार १०१ जनाले अनलाइन युजरनेम र पासवर्ड लिएका छन् ।

१ घण्टा २४ मिनेट खुलेको बजारमा रू. १० करोड ४४ लाख ९९ हजार बराबरको कारोबार भएको छ । यस दिन २९२ कम्पनीको १ लाख ६ हजार ४१२ कित्ता शेयर कारोबार भएको हो । यस दिन कारोबारमा आएका ११ समूहकै परिसूचक घटेको छ । यस दिन नागरिक लगानी कोषको सबैभन्दा बढी रू. ८ करोड ८८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले उक्त रकम बराबरको नागरिक लगानी कोषको शेयर खरीद गरेको नेप्सेले जानकारी दिएको छ ।

अघिल्लो कारोबार दिन चैत ९ गते रू. १६ खर्ब १९ करोडभन्दा बढी रहेको बजार पूँजीकरण मंगलवार रू. १५ खर्ब ६७ अर्बमा झरेको छ । लगानीकर्ताहरूले एकै दिन रू. ३२ अर्ब ३४ करोडभन्दा बढी रकम गुमाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)