ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले पुन : रोक्यो प्रशोधित पाम आयलको आयात

बारा–पर्सा तथा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका दर्जनभन्दा बढी उद्योगको अर्बौंको लगानी जोखिममा

२०७७ बैशाख, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल author avatar वेदराज पौडेल

वीरगञ्ज / विराटनगर । भारतले नेपालबाट हुँदै आएको प्रशोधित पाम आयलको आयात पुन: रोकेको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएपछि मंगलवारदेखि नेपालबाट प्रशोधित पाम आयल निकासी रोकिएको छ । निर्देशनालयले सोमवार मातहतका क्षेत्रीय निकायलाई सूचना पठाएर पाम आयल आयातमा प्रतिबन्ध लगाइएको बताएको हो ।

यसअघि पनि भारतले गत जनवरी ८ देखि करीब डेढ महीना यस्तो प्रतिबन्ध लगाएको थियो । माघको अन्तिम सातादेखि भारतले आप्mना केही आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएपछि नेपालबाट फागुनको दोस्रो साताबाट निर्यात खुलेको थियो । भारतले अहिले साप्mटा सुविधाअन्तर्गत नेपाल र बंगलादेशबाट हुने पाम आयल निर्यातमा रोक लगाएको हो ।

निर्देशनालयले जारी गरेको परिपत्रमा नेपाल र बंगलादेशले साफ्टाअन्तर्गतको सहुलियत भन्सार दरअनुसार पाम आयल निकासी गर्दै आएको तर त्यसका लागि साफ्टाअन्तर्गतको उत्पत्तिको प्रमाण विषयक नियम पालना गर्नुपर्ने बताइएको छ । यी मुलुकबाट भएको निकासीमा उत्पत्तिको प्रमाण विषयक नियम पालना नभएको आशंका परिपत्रमा गरिएको छ ।

त्यसयता भारतीय वैदेशिक व्यापार निर्देशनालयले ३९ ओटा व्यापारिक प्रतिष्ठानलाई आयात अनुमति दिएको थियो । नेपालबाट वर्ष २०१९/२० मा अघिल्लो वर्षको तुलनामा ३०० प्रतिशत बढी पाम आयल आयात भएको महानिर्देशनालयको सूूचनामा उल्लेख छ । ‘लकडाउनमै पनि केही परिमाणमा निकासी भइरहेको थियो । भारतको प्रतिबन्धले त्यो पनि रोकियो,’ वीरगञ्जस्थित ओसीबी फूडका सञ्चालक सुरेश रूंगटाले बताए । भारतले बंगलादेश र इन्डोनेशियाबाट पनि पाम आयलको आयात रोकेको छ ।

भारतले आयात रोकेपछि भारतीय बजारलाई लक्षित गरी उत्पादन बढाएका नेपालका तेल उद्योग प्रभावित हुने भएका छन् । उद्योगी रूंगटाका अनुसार पछिल्लो समय यो क्षेत्रमा यस्ता उद्योगमा लगानी बढेको थियो । ‘केही उद्योगले नया लगानी र क्षमता विस्तार गरेकोमा भारतले लगाएको प्रतिबन्धले यस्तो लगानी जोखिममा पर्ने देखिएको छ,’ रूंगटाले आर्थिक अभियानसित भने ।

भारततर्फ प्रशोधित पाम आयल निकासी गर्ने अधिकांश उद्योग बारा–पर्सा औद्योगिक कोरिडोरमा छन् । यहाँबाट यस्ता १२ ओटा उद्योगले भारततर्पm प्रशोधित आयल निकासी गर्दै आएका छन् भने सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा पाम आयल सम्बद्ध पाँच उद्योग छन् ।

पाम आयलको कुल निकासीमध्ये अधिकांश परिमाण वीरगञ्ज नाकाबाट हुँदै आएको छ । यहाँका उद्योगले मलेशिया र इन्डोनेशियाबाट कच्चा पाम आयल ल्याएर प्रशोधन गरी साफ्टा सहुलियत (शून्य भन्सार)मा निकासी गर्दै आएका थिए ।

कोरोनाका कारण राजस्व संकलनमा ह्रास आइरहेका बेला भारतले निकासीमा रोक लगाएपछि नेपालबाट हुने वार्षिक २५ अर्बभन्दा बढीको निर्यात प्रभावित भएको उद्योग संगठन मोरङका उपाध्यक्ष तथा राम रिफाइन उद्योगका सञ्चालक प्रदीप मुरारकाले बताए । उनका अनुसार भारतका ठूला कम्पनीहरूको दबाबका कारण नेपालबाट हुने पामको निकासीमा रोक लगाइनु दुर्भाग्य हो ।

मुरारकाका अनुसार पूर्वका पाँच उद्योगले आयात गरेको कच्चा पाम आयलबाट प्रशोधित गरिएको २ अर्ब १९ करोड रुपैयाँ बराबरको ३० हजार मेट्रिक टन पाम आयल अहिले गोदाममै थन्किएको छ । भन्सार जाँचपासका लागि सोमवार पुगेका ट्रकहरू पनि भन्सार यार्डमै थन्किएका छन् ।

पाम तेलका उद्योगी विपीन कावराले एउटै पत्रले नेपालका उद्योगहरू टाट पल्टिने अवस्था आउन नदिने गरी सरकारले कूटनीतिक रूपमा पामको निकासीको समस्या समाधान गर्नुपर्ने बताए । विनाकुनै जानकारी एक्कासि निकासी बन्द भएपछि बैंकलाई बुझाउनुपर्ने साँवाब्याज कसरी बुझाउने भन्ने समस्या उत्पन्न भएको कावराले बताए ।

‘भारतलाई प्रतिवर्ष ९० लाख टन पाम आयलको आवश्यकता पर्छ । हामीले भारतलाई वार्षिक १ लाख ९० हजार टन तयारी पाम तेल दिइरहेका छौं, जुन नगण्य नै हो तर पनि पटकपटक नेपालबाट हुने निकासीमा प्रतिबन्ध लाग्नु दुई मुलुकबीचको व्यापार सन्धिको भावनाविपरीत हो,’ उनले भने ।

पछिल्लो २ वर्षयता नेपालबाट भारततर्फ पाम आयलको निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ९ महीनामा नेपालबाट १६ अर्ब ७८ करोड रुपैयाँको निर्यात बराबरको प्रशोधित पाम आयल भारत निर्यात भएको छ ।

नेपालबाट भारत पाम आयल निर्यात गर्दा भन्सार शुल्क नलाग्ने भएकाले पनि यसको निर्यातमा उल्लेख्य रूपमा वृद्धि भएको हो । नेपाली व्यवसायीले मलेशिया, इन्डोनेशियालगायत मुलुकबाट कच्चा पाम आयल आयात गरी त्यसलाई प्रशोधन गरेर पुनः निर्यात गर्ने गरेका छन् ।

विराटनगर भन्सारबाट चालू आवको पहिलो १० महीनामा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६४ हजार १ सय २१ मेट्रिक टन तयारी पाम आयल भारत निकासी भएको थियो । यो अवधिमा कच्चा पाम आयलको आयात र प्रशोधित पाम आयलको निर्यातबाट विराटनगर भन्सार कार्यालयले ६० करोड ९१ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो ।

फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुनः निकासी शुरू भएयता वैशाखसम्मको ३ महीनामा १ अर्ब ४३ करोड रुपैयाँ बराबरको तयारी पाम आयलको भारत निकासी भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 13, 2020 06:53am]

नेपाललाई अती माया गरेर सधैं ललीपपले बुच्चो लगाउने छिमेकी मित्र राष्ट्रको हालको यो कदमको कारण त जगजाहेर छ । अब हुलाक उद्योग चलाईरहेका यी नेपाली( ?) उद्योगीहरुले यही देशको हीतमा व्यवसाय गर्ने हो भने, स्वदेशी कच्चा पदार्थ खपत गर्दै देशलाई आवश्यक वस्तु उत्पादन गर्ने तर्फ लाग्नु भलो हुन्छ । देश अघाएर पनि केहि बच्छ भने छिमेकीको आंगनतिर यसो हुत्याइदिनु भए हुन्छ ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)