ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट उद्योगलाई क्लिंकरको अभाव : केही सिमेन्ट उद्योग बन्द

सरकारले बजेटमा सम्बोधन नगरे सिमेन्टको मूल्य बढ्ने

२०७७ जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । लकडाउनका कारण भारतबाट क्लिंकर आयात अवरूद्ध भएपछि प्रदेश १ मा सञ्चालित सिमेन्ट उद्योग बन्द हुन थालेका छन् । सञ्चालनमा रहेका उद्योगहरूले पनि आफ्नो उत्पादन ३० प्रतिशतमा झारेका छन् । प्रदेश १ का झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १, र उदयपुरमा सरकारी स्वामित्वको सिमेन्ट उद्योग गरी १४ सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

क्लिंकरको अभाव भएपछि बूढीगंगा गाउ“पालिकामा सञ्चालित नेपाल अल्ट्राटेक सिमेन्ट उद्योगबाट उत्पादन हुँदै आएको बन्धन सिमेन्टको उत्पादन बन्द गरिएको छ । उद्योगले दैनिक १ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगमा प्रत्यक्ष रूपमा सय जनाले रोजगारी पाएका थिए । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनीष मारूले क्लिंकर अभाव भएका कारण बन्धन ब्रान्डको सिमेन्टको उत्पादन बन्द गर्नु परेको बताए ।

नेपालका क्लिंकर उद्योगका खानी बन्द हुनु र लकडाउनका कारण भारतबाट क्लिंकरको आयात न्यून हुँदा उद्योगमा कच्चापदार्थ कमी भएकाले उद्योग बन्द गर्नु परेको उनले बताए । नेपालका क्लिंकर उद्योगबाट ढुवानी गर्दा भन्दा भारतबाट क्लिंकर मगाउदा पूर्वका उद्योगलाई सस्तो पर्ने भएकाले आपूmहरूले भारतीय क्लिंकर नै प्रयोग गरिरहेको सिमेन्ट उद्योगीहरूको भनाइ छ ।

होङ्सी सिमेन्ट उद्योग हेटौंडाबाट क्लिंकर लिएर आउँदै गरेको ट्रकलाई स्थानीयले तोडफोड गरेपछि कच्चा पदार्थको अभावमा आपूmले उद्योगको उत्पादन नै बन्द गर्नु परेको मारूले बताए । उनले भने, ‘सरकारले उद्योग सञ्चालन गर्ने वातावरण नबनाएसम्म उद्योग खोल्न सकिँदैन ।’ भारतबाट आउने क्लिंकरको मूल्य बढेको र नेपालका उद्योगबाट मगाउँदा ढुवानी भाडा बढी पर्न थालेकाले सरकारले बजेटमा सिमेन्ट उद्योगका लागि राहत हुने कार्यक्रम नल्याए असारपछि सिमेन्टको मूल्य बढ्ने उनले बताए ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा अन्नपूर्ण सिमेन्टका सञ्चालक राजेन्द्र राउतले भारतको आसाम र मेघालयबाट आउने कोइराला र जिप्सम पानीटंकी नाका भारतले बन्द गरिदिएपछि आउन छाडेको र पश्चिम नेपालमा रहेका क्लिंकर उद्योगबाट क्लिंकर मगाउँदा अहिले लकडाउनका कारण समयमा उद्योगमा आई नपुग्ने र ढुवानी भाडा पनि महँगो पर्ने भएकाले सिमेन्टको उत्पादन ३० देखि ४० प्रतिशतमा झारिएको बताए । भारतको मध्यप्रदेशबाट आउने क्लिंकर पनि भारतमा लकडाउनका कारण थोरै मात्रामा मात्रै आइरहेको छ । उनको उद्योगले दैनिक १० हजार बोरा उत्पादन गर्दै आएकोमा अहिले ३० प्रतिशत मात्र उत्पादन गरिरहेको छ ।

करीब २ महीनादेखिको लगातारको लकडाउनका कारण नेपालमा क्लिंकरको उत्पादन नहुनु र भारतबाट आयात पनि प्रभावित हुनुले आगामी वर्ष नेपालमा सिमेन्टको अभाव हुने अवस्था आउने जानकारी दिए ।

मारूले भने, ‘नेपालका खानीसहितका २१ ओटा मात्र सिमेन्ट उद्योगको उत्पादनले पूरै देशको माग धान्न सक्ने अवस्था छैन । तत्कालै सिमेन्ट उद्योगले क्लिंकर नपाए सिमेन्ट हाहाकार हुने र मूल्य पनि अत्याधिक बढ्छ ।’

भारतमै लकडाउन भएको अवस्थामा त्यहाँबाट आउने क्लिंकरमा कमी आएको र नेपालका उद्योगको खानी सञ्चालन हुन नसकेकाले अहिले सिमेन्ट उद्योगहरूलाई कच्चा पदार्थको कमी भएको हो । नेपालभरि ६३ सिमेन्ट उद्योग छन् । यसमा करीब ४ खर्बको लगानी रहेको छ । राउतका अनुसार २१ ओटा सिमेन्ट उद्योगका आफ्नै चुनढुंगाको खानी छ भने बाँकी ४२ ओटा सिमेन्ट उद्योगले नेपाल र भारतबाट क्लिंकर ल्याएर उद्योग सञ्चालन गरेका छन् । भारतबाट यसअघि प्रतिटन ९ हजार रुपैयाँमा आइरहेको क्लिंकर अहिले लकडाउनको कारण १० हजार रुपैयाँ पुगेको छ ।

सरकारले बजेटमार्फत सिमेन्ट उद्योगहरूका समस्यालाई सम्बोधन नगरे उद्योगको लगानी बढ्ने र सिमेन्टको मूल्यमा त्यसले असर गर्ने राउतले बताए । सरकारले उद्योग सञ्चालनका लागि ढुवानीलाई सहज र व्यवस्थित नबनाए सिमेन्ट उद्योगहरू चल्न निकै कठिन हुनेछ ।

झापाको चारआलीमा रहेको मनसा सिमेन्टका सञ्चालक अरुण अग्रवालले भारतबाट आउने क्लिंकर नै आउन बन्द भएको र नेपालको उत्पादनसमेत नयाँ मूल्यनिर्धारण नभएकाले उद्योगमा क्लिंकरको अभाव रहेको बताए । उनका अनुसार ढुवानीको भाडा बढेकाले नेपालको क्लिंकर ल्याएर उत्पादन गर्दा उत्पादन लागत बढ्न जाने र त्यसले सिमेन्टको मूल्य पनि बढाउनुपर्ने भएकाले स्टकमा रहेको क्लिंकरले नै दैनिक ५ सय बोरा सिमेन्ट उत्पादन गरिरहेको बताए । सरकारले कोइला र खानीको उत्खनन र सिमेन्टको उत्पादनमा लिँदै आएको कर छूट नगरे सिमेन्टको मूल्य बढ्ने बताए ।

अर्घाखाँची सिमेन्टका सञ्चालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले नेपालमा आवश्यकताभन्दा क्लिंकर उत्पादन भइरहेको बताए । उनले भारतबाट क्लिंकर किन्नेभन्दा पनि हामीले भारतलाई क्लिंकर र सिमेन्ट विक्री गर्न सक्ने गरी नेपालमै उत्पादन भइरहेको उनले बताए । कोरोनाको महामारीका बेला रेमिन्ट्यान्स घटिरहेका बेला सरकारले निर्यातका लागि सुविधा दिएर सिमेन्ट भारतलगायत दक्षिण एशियाका अन्य मुलुकमा पठाउने व्यवस्था मिलाउनुपर्ने मुरारकाले सुझाए । उनले भने, ‘नेपाली उत्पादन निर्यात गर्न भारतबाट आउने सिमेन्ट र क्लिंकरमा थप कर लगाउनुपर्छ ।’ उनका अनुसार नेपालका सिमेन्ट उद्योगहरूले खपतको डेढ गुणा बढी सिमेन्ट उत्पादन गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)