ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन प्रभाव : तेस्रो त्रैमासमै खुम्चियो बैंकहरूको नाफा वृद्धिदर

२०७७ जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि जारी लडकाउनको असर वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमासिक वित्तीय विवरणमा नै देखिएको छ । तेस्रो त्रैमाससम्ममा २० दिन मात्र लकडाउन भएको छ । तर, यति छोटो अवधिमा पनि बैंकिङ कारोबार राम्रो नहुँदा अधिकांश वाणिज्य बैंकहरूको समग्र ९ महीनाको वित्तीय परिसूचक नै प्रभावित भएको देखिन्छ ।

हालसम्म २७ ओटा वाणिज्य बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको छ ।

गत आव २०७५/७६ को सोही अवधिमा वाणिज्य बैंकहरूले रू. ४४ अर्ब ६४ करोड खुद नाफा कमाएका थिए । तर, चालू आवको तेस्रो त्रैमासमा भने वाणिज्य बैंकहरूले त्योभन्दा मात्र रू. १ अर्ब ५ करोड बढी अर्थात् रू. ४५ अर्ब ६९ करोड नाफा गरेका छन् । गत आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २१ दशमलव ६५ प्रतिशतले बढेको थियो ।

बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज हो । तर, अहिले ब्याज संकलन हुनसकेको छैन ।

त्रैमासको अन्त्यको अवधि भएकाले यो समयमा अघिपछिभन्दा बढी ब्याज भुक्तानी हुन्छ । तर, नेपाल राष्ट्र बैंकले नै कर्जाको ब्याज र किस्ता भुक्तानी गर्ने म्याद थप गरेपछि नगण्य ऋणीले मात्र ब्याज भुक्तानी गरेका छन् । त्यसमाथि प्रतीतपत्र (एलसी) कारोबार, वैदेशिक मुद्रा सटहीबाट हुने आय पनि ठप्प छ । यी सबै कारणले गर्दा बैंकको आम्दानी घटेको तर सञ्चालन खर्च भने यथावत् रहँदा नाफा प्रभावित भएको बैंकरहरू बताउँँछन् ।

त्यसो त चालू आर्थिक वर्षको शुरूदेखि नै बैंकहरूको नाफा वृद्धिदर त्यति सन्तोषजनक छैन । गत आवहरूमा दोहोरो अंकमा हुने बैंकहरूको नाफा वृद्धिदर चालू आवको शुरूदेखि नै एक अंकमा खुम्चिएको छ । बैंकको नाफा वृद्धिदर चालू आवको पहिलो त्रैमासमा ६ दशमलव २५ प्रतिशत र दोस्रो त्रैमासमा ७ प्रतिशत रहेको थियो । अघिल्ला वित्तीय विवरणअनुसार बैंकहरूले पहिलो त्रैमासमा रू. १६ अर्ब १७ करोड र दोस्रो त्रैमासमा रू. ३२ अर्ब ७५ करोड खुद नाफा कमाएका थिए ।

तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा कमाउने मामलामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । नबिल बैंकले ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, जनता बैंकलाई प्राप्ति गरेको ग्लोबल आईएमई बैंकले ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा आएको छ ।

दर्जन बैंकको नाफा घट्यो
प्रकाशित वित्तीय विवरणअनुसार एक दर्जन वाणिज्य बैंकको खुद नाफा घटेको छ । नाफा कमाउने मामला पहिलो स्थानमा रहे पनि नबिल बैंकको नाफा १ प्रतिशतले घटेको छ । वित्तीय विवरणअनुसार बैंक अफ काठमाडौंको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा २७ दशमलव ४९ प्रतिशतले घटेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको १३ दशमलव २३ प्रतिशत, नेपाल इन्भेस्टमेन्टको २ दशमलव ७३ प्रतिशत, कृषि विकास बैंकको ७ दशलमव ७७ प्रतिशत, नेपाल बैंकको ११ दशलमव ०८ प्रतिशत र नेपाल बंगलादेश बैंकको ११ दशमलव ९५ प्रतिशतले नाफा घटेको छ । यसैगरी नेपाल एसबीआईको १० दशमलव १ प्रतिशत, सिदार्थको १५ दशमलव ८८ प्रतिशत, माछापुच्छ्रेको ६ प्रतिशत, सनराइजको २३ दशमलव ७१ प्रतिशत र सिभिलको २७ प्रतिशतले नाफा घटेको छ ।

आधा दर्जनको वितरणयोग्य नाफा ऋणात्मक
वित्तीय विवरणअनुसार यस अवधिमा दर्जन बैंकको वितरणयोग्य नाफा भने घाटामा नै रहेको छ । वितरणयोग्य नाफा ऋणात्मक भएका बैंकहरूमा लक्ष्मी बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, बैंक अफ काठमाडौं र सिभिल बैंक रहेका छन् ।

बैंक अफ काठमाडौंका सीईओ शोभनदेव पन्तले ब्याज आम्दानी हुन नसकेपछि नाफा प्रभावित भएको बताए । ‘उठ्न बाँकी आम्दानीलाई पनि एनएफआरएस प्रणालीमार्फत देखाउनुपर्ने भएकाले नाफा बढेको देखिएको मात्र हो । तर, यसलाई लेखापद्धतिअनुसार वितरणयोग्य नाफामा देखाउन मिल्दैन । त्यसैले यस्तो अवस्था आएको हो,’ उनले भने ।

बैंकरहरू चौथो त्रैमासमा पनि बैंकहरूले नाफा गर्ने स्थिति नभएको बताउँछन् । ‘चैत मसान्तसम्मको परिस्थितिभन्दा अहिले झन् भयावह बन्दै गएको छ । अहिले बढी मात्रामा बैंक शाखा बढी खुलिए पनि कारोबार ठप्प जस्तै छ,’ कुमारी बैंकका सीईओ सुरेन्द्र भण्डारीले भने,, ‘त्यसैले चालू आवको चौथो त्रैमासमा नाफा कमाउने आश गरेका छैनौं ।’

प्रभु बैंकका सीईओ अशोक शेरचन भने आगामी आवको दोस्रो त्रैमासदेखि मात्र बैंकहरूको वित्तीय विवरणमा सुधार आउन सक्ने बताउँछन् । ‘कोरोनाको त्रास झन् बढ्दै गएको हुँदा लकडाउन पनि बढ्दै जान सक्ने देखिन्छ । यस अवस्थामा सरकार वा राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने अवधि थप गरिहाल्छ नै । तसर्थ, हामीलाई आगामी आवको पहिलो त्रैमासमा पनि वित्तीय परिसूचक सुधार गर्न चुनौती देखिन्छ,’ उनले भने, ‘अवस्था समान्य हुँदै गयो र ब्याजलाई पूँजीकरण गरियो भने बैंकहरूलाई केही राहत हुन सक्छ ।’

त्यसैगरी सिटिजन बैंकका सीईओ गणेशराज पोखरेल उठ्नुपर्ने ब्याजमा आधाभन्दा बढी ब्याज नउठेको बताए । ‘लकडाउनका कारण विनिमयको आम्दानी पनि छैन । त्यसमाथि ऋणीको किस्ता तिर्ने अवधिसमेत असारमसान्तसम्म पुर्‍याइएको छ,’ उनले भने, ‘साथै, ब्याज तिर्नेलाई १० प्रतिशत छूट दिँदा पनि बैंकको आम्दानी घट्न गएको छ । यसले बैंकको नाफालाई प्रत्यक्ष रूपमा प्रभाव पारेका हो ।’

तर, बैंक विज्ञ अनलराज भट्टराई भने मुलुक नै संकटमा परेका बेला बैंकहरूको वित्तीय प्रतिवेदनमा नाफा र वितरण्योग्य नाफालाई सार्वजनिक गर्न नहुने तर्क गर्छन् । यस्तो अवस्थामा कर्जाको किस्ता तथा ब्याज उठ्न नसक्दा भएको वित्तीय विवरणको नाफाले उल्टै आम सर्वसाधारणलाई अन्योलको अवस्था सृजना गरेको टिप्पणी गरे ।

‘राष्ट्र बैंकको नीतिगत व्यवस्थापछि भएको नाफालाई आर्जित आम्दानीलाई रिजर्भमा राखिएको छ,’ उनले अभियानसँग भने, ‘यो पछि उठ्ने र पछि नै बाँड्ने रकम हो । यसैले यो विवरण अहिलेको विवरण आधिकारिक र तथ्यपरक छैन । यसले अन्योल ल्याउन सक्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)