ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजार जेठ ५ सम्मका लागि बन्द

२०७७ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । लकडाउनका बीच वैशाख ३० देखि खुलेको नेपालको शेयरबजार जेठ ५ गतेसम्मका लागि पुनः बन्द भएको छ । कोरोना सन्त्रासका कारण गत चैत १० देखि बन्द बजार सावधानी अपनाउँदै मंगलवारबाट सुचारु गरिएको थियो । लामो समय बजार बन्द हुँदा यस क्षेत्रमा निर्भर लगानीकर्ता समस्यामा परेको भन्दै विद्युतीय माध्यमलाई प्रोत्साहन गर्नेगरी बजार सुचारु भएको थियो । यद्यपि २ दिन नै निर्धारित अवधिअघि नकारात्मक सर्किटसहित कारोबार बन्द भयो । २ दिनमा लगानीकर्ताको रू. ६३ अर्ब ७७ करोडभन्दा बढी सम्पत्ति गुमेको छ । लकडाउनपूर्व अन्तिम कारोबार दिन गत चैत ९ गते रू. १६ खर्ब १ करोड ९७ लाख रहेको बजार पूँजीकरण रकम २ दिनको नकारात्मक सर्किटको सामनापछि रू. १५ खर्ब ३६ अर्ब ४२ करोड १० लाखमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले विषम परिस्थितिमा बजार खोल्नुको नतीजा २ दिनको कारोबारले प्रमाणित गरेकाले बन्द गर्नुको विकल्प नभएको बताए । यो अवस्थामा लगानीकर्ताका लागि पासको व्यवस्था गर्न पनि असम्भव भएकाले अवस्था सहज नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी उनले दिए ।

नेप्सेका प्रमुख चन्द्रसिंह साउदले नेपाल धितोपत्र बोर्डको निर्देशनमा बिहीवारदेखि नै लागू हुनेगरी जेठ ५ गतेसम्म बजार बन्द गर्ने निर्णय गरिएको बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र काठमाडौंमा पनि यसको प्रभाव देखिएकाले दोस्रो बजारको पहुँचमा असहजता हुने देखिएकाले बजार बन्द गरिएको उनको भनाइ छ ।

आम लगानीकर्ताले २ दिनको कारोबार बन्दको माग गरिरहँदा नेप्से प्रमुख साउदले कारोबार बन्दको विषयमा बोर्डले नै निर्णय गर्ने हँुदा यस विषयमा पनि आम लगानीकर्ताको हित हुनेगरी छलफल गर्ने विश्वास दिलाए ।

लकडाउनका बीच ९९ प्रतिशत लगानीकर्तालाई ओझेलमा पारेर खोलिएको बजारमा भएको २ दिनको कारोबार रद्द गरी गुमेको सम्पत्ति फिर्ता गर्न लगानीकर्ताले माग गरेका छन् । नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सृजना सुवेदीले २ दिनको कारोबारमा गुमेको ३२ अर्बको सम्पत्ति फिर्ता हुनेगरी ती दिनका कारोबार रद्द गर्न माग गरेकी हुन् ।

गत चैत १० देखि बन्द नेपालको शेयरबजार दैनिक २ घण्टा खुल्नेगरी सुचारु गरिएको थियो । कोरोना संक्रमण पैmलिरहेको अवस्थामा यस क्षेत्रमा निर्भर लगानीकर्ताको अवस्थालाई ध्यानमा राखी विशेष सावधानीका साथ अनलाइनमार्पmत कारोबार गर्नेगरी बजार सुचारु गरिएको हो । तर, अनलाइन प्रणालीमा थोरै मात्र लगानीकर्ता जोडिनु साथै कारोबारका लागि २५ प्रतिशतको लिमिट राखिनुले पनि आम लगानीकर्ता उक्त व्यवस्थाबमोजिम कारोबारमा सहभागी हुन नसकेको बताउँछन् । हाल १६ लाखभन्दा बढी लगानीकर्ता रहेकोमा अनलाइन कारोबार प्रणालीसँग आबद्ध हुने लगानीकर्ताको संख्या २७ हजार १०१ मात्र छ ।

लकडाउनका बीच खुलेको बजार पहिलो दिन २ दशमलव शून्य २ प्रतिशत र दोस्रो दिन २ प्रतिशतको नकारात्मक सर्किटपछि निर्धारित अवधिभन्दा अघि नै कारोबार बन्द भएको थियो । पहिलो दिन १२ बजेर २४ मिनेटमा बजार बन्द हुँदा रू. १० करोड ४४ लाख बराबरको कारोबार भएको थियो भने दोस्रो दिन ११ बजेर ३९ मिनेटमा बजार बन्द हुँदा रू. ३६ लाख १३ हजार बराबरको कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)